
कोरोना कहरले सरकारले आव्हान गरेको लकडाउनबीच पनि नेपाल कम्युनिष्ट पाटी (नेकपा) क्षेत्रीय कमिटीले पदाधिकारीको पूर्ण बैठक आयोजना गरेको जनाएको छ । नेकपा बाँके क्षेत्र नम्बर १ का संयोजक सुर्य ढकालका अनुसार, प्रविधिको उच्चत्तम प्रयोग गर्दै भिडियो कन्फ्रेन्स मार्फत पदाधिकारीबीचको पूर्ण बैठक मंगलवार गरिएको हो ।
विभिन्न ७ बूँदे निर्णय गरेको बैठकले कोरोना भाइरस जाँचका लागि भेरी अस्पतालमा पिसिआर मेसिन पठाएकोमा संघ र प्रदेश सरकारलाई धन्यवाद दिंदै बैशाख तिन गते राती १२ बजे सम्म गरेको लक डाउनलाई सफल बनाउन र सेल्फ क्वारेन्टाइनमा बस्न सबैलाई अनुरोध गर्ने कुरामा जोड दिएको छ ।
स्थानीय तहलाई उचित मापदण्डका आधारमा अति विपन्न परिवार तथा व्यक्तिलाई राहत दिन आग्रह गरेको नेकपाले वितरण गर्दा भिड कम हुने गरि व्यवस्था मिलाउन भनेको छ । सामाजिक संजालहरुमा आपसमैं पार्टी एकताका मुल स्पीड र भावनात्मक एकतालाई थप कायम हुने गरि संवाद गर्ने, अन्य कुराहरुलाई निरुत्साहित गर्ने निर्णय गरिएको संयोजक ढकालले जानकारी दिए । उनका अनुसार, प्रदेश सरकारका भूमि तथा सहकारी मन्त्री आरती पौडेल र पार्टी क्षेत्रीय इन्चार्ज प्रकाश सुवेदी, प्रदेश सदस्य नरेन्द्र्र न्योपाने र पुजन विकको आथित्यमा पदाधिकारी बैठक गरिएको हो ।







