बाँकेका स्थानीय तहहरुले विपद् व्यवस्थापनका सहकार्य गर्ने

बाँकेका स्थानीय तहहरुले विपद् व्यवस्थापनका सहकार्य गर्ने भएका छन्।सवै स्थानीय तहहरुबीच विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागि समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रबद्र्धन गर्ने समझदारी भएको छ ।

आज शुक्रवार कोहलपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सवै पालिकाहरुले विपद् व्यवस्थापनमा भए गरेका गतिविधिको जानकारी गराउदै आपतकालिक अवस्थामा साझेदारीमा काम गर्न जोड गरेका थिए। शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समन्वय तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट,राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष तप्त पौडेल, खजुरा गाँउपालिकाका अध्यक्ष डम्मर विकलगायतले पूर्वसूचना प्रणाली, दमकल सेवा, छाडा चौपाया व्यवस्थापन, राहत व्यवस्थापनलगायतका कार्यहरुमासाझेदारीमा काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले समग्र जिल्लामा अन्तरपालिका समन्वयले प्रतिकार्य प्रभावकारी हुने बताउनु भयो ।

बैठकले मनसूनको बेला समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने, राप्तीसोनारी गाँउपालिकामा छाडा चौपाया व्यवस्थापनकालागि अन्य पालिकासंग साझेदारीकालागि समझदारी तयार गरि अर्को बैठकवाट निर्णय गर्ने लगायतका निर्णय गरेको सूपर कार्यक्रमका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनु भयो। बैठकले आगामी अन्तरपालिका बैठक खजुरा गाँउपालिकाको आयोजनामा हुने समेत निर्णय गरेको छ । कार्यक्रममा बाँकेका पालिका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, विपद् फोकल, जिल्लास्थित सूरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो। युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया