अपोलोसँग उपचारमा विज्ञता लिंदै नेपालगन्ज मेडिकल कलेज

स्वास्थ्य उपचारका दृष्टिले नेपालगन्ज पश्चिम नेपालकै हब हो । गुणस्तरीय स्वास्थ्य सेवाले नै नेपालगन्जलाई स्वास्थ्यको हबका रुपमा परिचित गरेको छ । तर, पछिल्लो समय स्वास्थ्यमा हुँदै गएको प्रविधि विकासलाई भने नेपालगन्जले सक्दो पछ्याउन नसक्दा बिरामी अहिले पनि भारतीय सहर लखनउसम्म पुग्नु परिरहेको छ ।

यसले यहाँका बिरामी नेपालगन्जबाट तीन घण्टा यात्रा गरेर महँगोमा उपचार लिन बाध्य छन् । महँगो शुल्कमा लखनउ गएर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्न नेपालगन्जमा सकारात्मक पहल सुरु भएको छ । त्यसका लागि अपोलो मेडिक्स अस्पताल, लखनउसँग सहकार्य गरिएको नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले बताए ।

यससँगै बिरामीलाई सुपरस्पेशालिटी सेवाहरु क्यान्सर रोग, आई.भि.एफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गरिने कलेजको भनाइ छ । बिरामीलाई आवश्यक पर्ने सेवा प्रभावकारी बनाउन बिरामीको जाँचलगायत सेवा विस्तारलाई प्राथमिकता दिइएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

आइतवार नेपालगन्ज मेडिकल कलेज र भारतस्थित लखनउको अपोलो मेडिक्स अस्पतालबीच भएको सहकार्यले नेपालगन्जको स्वास्थ्य सेवामा थप प्रभावकारिता प्रवाह हुने विश्वास गरिएको यसका पहलकर्ता डा. नितेश कनोडियाको भनाइ छ । ‘हामीले अपोलोको स्तरीय प्रविधि र विज्ञताको सेवा प्रवाह नेपालगन्जमा लिन सो समझदारी गरिएको हो,’ डा. कनोडियाले भने ।

डा. कनोडियाका अनुसार, निःशुल्क ओपिडी सेवा, अन्य सेवामा सामान्य शुल्क लाग्ने र ओपिडी सेवा प्रत्येक शनिबार हुनेछ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा हुन नसक्ने सेवा मात्र अपोलो अस्पताल लखनऊ बिरामीको आवश्कताअनुसार रेफर गरिने प्रवन्ध निर्देशक कनोडियाले बताए । ‘यहाँ नभएका चिकित्सक वा प्रविधिका लागि मात्रै रेफरको कुरा हुन्छ,’ डा. कनोडियाले भने, ‘त्यसमा पनि एक्लै जाँदा भन्दा संस्थागत सहमतिका आधारमा यहाँबाट जाँदा सहुलियत हुनेछ ।’

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले अपोलोसँग नेपालगन्ज मेडिकल कलेजसँगको सहकार्य पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धी भएको बताए । उनले यहाँका विपन्न वर्गका बिरामीलाई सहकार्यमा उल्लेख भएअनुसारको भन्दा पनि अझ बढी छुटको व्यवस्था मिलाउन पनि आग्रह गरे । दलालका चपेटोमा परेका नेपालीलाई उपचारमा समन्वय र सहुलियतको विश्वास नगर प्रमुख विष्टको छ ।

अपोलो मेडिक्स अस्पतालका प्रबन्ध निर्देशक डा. मयंक सोमानीले सहकार्यले पश्चिम नेपालका बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । उनले अपोलोको स्वास्थ्य उपचार सेवा विश्वस्नीय रहेको दोहोर्याए ।

सम्झौतापछि दुबैपक्षको एउटै भनाइ छ, बिरामीलाई थप प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्ज र भारतस्थित लखनउको अपोलो मेडिक्स अस्पतालबीच सहकार्य भएको हो । ‘यसबाट धेरै नेपाली लाभान्वित हुनेछन्,’ शिक्षण अस्पताल नेपालगन्जका निर्देशक डा. एम किदवाईले भने ।

प्रतिक्रिया

प्रतिक्रिया