लुम्बिनीमा सरकारले स्थापना दिवसको मिति फेरेपछि विपक्षी दल असन्तुष्ट

लुम्बिनी प्रदेश सरकारले ६ वर्षदेखि फागुन ३ गते मनाउँदै आएको सरकारको स्थापना दिवस यो पटक सारेर माघ २१ गते बनाइएपछि यसबारे विवाद सुरु भएको छ । प्रदेश सरकार निर्माण भएको ६ वर्षदेखि पहिले बुटवल र पछि दाङमा समेत फागुन ३ गते नै मनाइदै आएको थियो ।

सरकारले आफ्नो ढंगले स्थापनाको मिति सारेर इतिहास मेट्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ भने सत्तारुढ दलकै सांसदहरुले पनि स्थापनाको मिति फेरिएको विषयमा आफू जानकार नभएको जनाएका छन् ।

सांसदहरुले अघिल्लो संसदमा सपथ लिएको ०७४ को माघ ७ गते, सरकार स्थापना भएको फागुन ३ को इतिहास मेटाउन नहुने तर अहिले के आधारमा माघ २१ लाई सरकारले स्थापना दिवसको मिति ताकियो भन्नेबारेमा जानकारी नै नभएको जनाएका छन् । पछिल्लो संसदको पनि सपथ ०७९ पुस १७ मा भएको थियो तर त्यो पनि समय मिलेको छैन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेश सरकारले मनमौजी तरिकाले इतिहास मेट्ने काम गरेको र ससदहरुलाई पनि बिनाजानकारी मिति तय गरेको बताए ।

मेरो मोबाइलमा माघ २१ गते स्थापना दिवस भनेर म्यासेज आएपछि म त अचम्मै परेँ, यसको कुनै तालमेल छैन, तत्काल सभामुखलाई सोधे यस्तो राम्रो भएन भने तर सरकारले निर्णय गरेर एकैपटक गर्ने भनेर सभामुखले भन्नुभयो’, चौधरीले भने ।

पहिलो सपथ ०७४ माघ ७ थियो, फागुन ३ मा सरकार बनेको हो ६ वर्षदेखि मनाएका थियौं, ०७९ पुस १७ गते नयाँ सपथको मिति थियो तर कसरी माघ २१ आयो म जवाफविहीन भएको छु, मनमौजी निर्णय भयो, कुनै सल्लाह भएन । तथ्यबिना समय सारेर राम्रो भएन । सरकार प्रमुखकोे मनमौजीले मिति छानेर इतिहास तोडमोड गर्नुहुन्न’, उनले भने ।

सत्तारुढ नेपाली कांग्रेस सांसद बीरबहादुर रानाले पनि स्थापना दिवसको मिति सारिएको बारेमा आफूले कुनै जानकारी नपाएको बताए ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयले भने प्रदेश स्थापना दिवस र सरकारको स्थापना दिवस एकै दिन मनाउनका लागि २१ गते बनाइएको बताए । ‘धेरै दिवस मनाउँदा पनि समस्या भयो, समय मिलाउन पनि समस्या भयो, खर्च पनि बढी भयो त्यसैले एकैदिन बनाइएको हो । फागुनमा संसद चल्ने मिति भएकाले सारिएको हो’ उनले भने ।

प्रदेश सरकारले माघ २१ सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवस मनाउने निर्णय गर्दै सरकारले सो दिन विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेशसभाको निर्वाचन भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने फागुन ३ लाई सरकार स्थापना दिवस मनाउँदै आएको थियो ।

यसवर्ष पनि दिवसका सन्दर्भमा विभिन्न कार्यक्रमहरू हुँदैछन् । प्रदेश गृह मन्त्रालयका सचिव लालबावु कवारीले स्थापना दिवसको अवसरमा शुक्रवार प्रदेशसभा र प्रदेशसरकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने बताए ।-nepalpress

प्रतिक्रिया

प्रतिक्रिया