रुपनी जि एम
बाँकेको राप्तीसोनारी –१ कुसुम स्थीत राप्ती नदिमा शुक्रबार घडीयाल गोही छोडीएको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार एक कार्यक्रमका बीच राप्ती सोनारी गाउँपालिका १ स्थित कुसुम बैरिया–भम्का जोड्ने घाटको राप्ति नदीमा एउटा भालेसहित १० वटा गोही छाडिएको हो ।
लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले नदीमा गोही छोड्दै वातावरणीय सन्तुलन र जलवायु स्थिरता कायम राख्न घडियाल गोहीको भूमिका अतिनै महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नदीमा छोडिएका गोहीको संरक्षणका उपाय खोजिनुपर्नेमा जोड दिनुभयो । राप्ती नदी आसपासको बस्ती त्यहँको संस्कृति र त्यसको वरिपरिको धार्मिक र पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटकीय सर्किट बनाउन सबैको पहल आवश्यक रहेको मन्त्री केसीको भनाई थियो ।
सोही अवसरमा बोल्दै तराइ भूपरिधी कार्यक्रम प्रबन्धक लक्ष्मण प्रसाद पौडेलले आहारा बिना बन्यजन्तुको संरक्षण सम्भव नहुने बताउनुभयो । घडियाल गोहीका कारण स्थानीयलाई कुनै जोखिम छैन् । गोही र घडियाल घट्दै गएकोले वातावरणमा समस्या पर्ने हुँदा समस्या नहोस् भन्नका लागि नै घडियाल नदीमा छोडिएको हो । उहाँले भन्नुभयो,‘उसको आहारा ठुलो बन्यजन्तु होइन । फ्रेस माछाहरु नै हुन् र पानी भित्र पाइने खानेकुरा मात्र हुन् । घाम लागेको बेला बालुवामा फुल पार्छन् । त्यो बेला अलि सजगता अपनाउन जरुरी छ ।’
होमस्टे महासंघका महासचिव कृष्ण चौधरीले समुदायलाई संरक्ष्णमा जागरुक बनाएर संरक्षणमा सहभागि बनाउन आवश्यक भएको बताउनुभयो । मानवबस्तीका बीचको नदीमा घडीयाल छाडीदा हुन सक्ने जोखिमलाई ख्याल गरीनुपर्ने उहाँको भनाई थियो । ‘नदीमा आस्रित समुदायको रोजीरोटीको पनि ख्याल गर्न जरुरी छ ।’ उहाँले भन्नुभयो,‘संरक्षण संगै नदीमा निर्भर समुदायको बाच्ने अधिकार खोसीनु हुदैन् ।
यस क्षेत्रमा बालुवा छानेर सुन खोज्ने तथा माछा मारेर जिविका चलाउनेको बसोबास धेरै रहेकोले सो क्षेत्रलाई होमस्टेसहितको पर्यटकीय क्षेत्र बनाउन पहल थालीनुपर्ने महासचिव कृष्ण चौधरीले बताउनुभयो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले संरक्षण संगै नदीमा निर्भर समुदायलाई बाच्ने आधारको बिकल्प दिनमा जोड दिनुभयो । मानवबस्तीका बिचमा घडियाललाई सुरक्षीत राख्न चुनौती रहेको उहाँको भनाई थियो । ‘मानवबस्तीका बिचमा घडियाललाई सुरक्षीत राख्न सबैको नियमन आवश्यक छ ।’ उनले भने,‘समुदायलाई नदी माथिको निर्भरताको बिकल्प दिन आवश्यक छ र त्यसो गर्न सकेमात्र त्यो संभव छ ।’
घडियाल गोही गोहीहरुमा सबैभन्दा ठूलो प्रजातिको गाही हो । जस्को भालेको लम्बाइ चार देखि ६ मिटरसम्मको हुने गर्दछ । सन् १९७० भन्दा पहिले नेपाल, पाकिस्तान, म्यानमार, भारत र भुटानका नदीहरुमा पाईने उक्त गोही हाल नेपाल र भारतमा मात्र पाईन्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक अनुसार हाल नेपालको नारयाणी नदीमा ८४, राप्ति नदीमा ८२, बबई नदीमा ३१ र कर्णाली नदीमा १ गरी जम्मा १ सय ९८ घडियाल गोही रहेका छन् ।