नेपालगन्ज विमानस्थल गुरुयोजना स्वीकृत

सरकारको उच्च प्राथमिकतामा विमानस्थल स्तरोन्नतीका लागि ४ अर्ब खर्चिंदै


नेपाल सरकारले नेपालगन्ज विमानस्थलको गुरुयोजना स्वीकृत गरेको छ । सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक वर्षदेखि विभिन्न चरणमा तयार गरिएको गुरुयोजना मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गरेको जानकारी दिएका हुन् ।
‘नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य हो,’ नेपालगन्ज विमानस्थलमा पार्किङ क्षेत्र शुभारम्भ गर्दै मन्त्री भट्टराईले टर्मिनल भवन, रनवे विस्तारदेखि भौतिक पूर्वाधारमा ४ अर्ब खर्च गर्न थालेको जानकारी दिए । त्यसका लागि विमानस्थल विस्तारमा आसपासका जग्गा अधिग्रहण गर्दा लाग्ने खर्चको योजना नबनेपनि त्यसबारे निर्णय भइसकेको मन्त्री भट्टराईले प्रष्ट पारे ।
२८ करोड ५३ लाखको लागतमा निर्धारित समयमैं पार्किङ क्षेत्र निर्माण पुरा भएको हो । ‘नेपालगन्ज विमानस्थलमा विस्तारित पार्किङ क्षेत्रले गौरव बढाएको छ,’ २५ महिनाअघि तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले शिलान्यास गरेको पार्किङ क्षेत्र उद्घाटन गर्दै मन्त्री भट्टराईले भने, ‘यो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पूर्वाधार हो ।’ विस्तारित पार्किङ क्षेत्रमा एटिआर ७२ साइजका कम्तिमा पनि छ वटा जहाज एकसाथ पार्किङ गर्नसक्ने छन् । अब एयरबस ३२० सम्मका जहाज पनि पार्किङ हुनसक्ने अवस्थामा नेपालगन्ज विमानस्थल पुगेको भट्टराईको भनाइ थियो ।
नेपालगन्जले प्रदेशको राजधानीको रुपमा परिचय नपाए पनि प्रदेशको राजधानी भन्दा कम चर्चामा नरहेको धारणा राख्दै मन्त्री भट्टराईले नेपालगन्ज दुईदेशीय व्यापार, पर्यटन आवागमन, उद्योगधन्दा, शैक्षिक क्षेत्रलगायतका कारण महत्वको केन्द्रमा रहिरहने बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थलको विकास क्रमका लागि समय लाग्ने बताए । ‘यसरीनै क्रमशः काम अगाडी बढ्ने हो,’ सरकारको उच्च प्राथमिकतामा रहेको नेपालगन्ज विमानस्थल स्तरोन्नती गुरुयोजना अनुसार अगाडी बढेको जानकारी दिंदै महानिर्देशक पोखरेलले भने ।
प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज, प्रदेश सभा सदस्य एवं नेकपा बाँकेका अध्यक्ष आइपी खरेल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणा, नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरलगायतले कार्यक्रममा बोलेका थिए । नगरप्रमुख डा. राणाले सरकारले नेपालगन्जलाई विशेष प्राथमिकतामा राखेर सहयोग दिन मन्त्रीको ध्यानाकर्षण गराए । सांसद गहतराज र खरेलले सरकारबाट स्वीकृत गुरुयोजना कार्यान्वयनमा विश्वास व्यक्त गरेका थिए ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मंगलवारनै नेपालगन्जमा सन्चालित मेरो प्लानेट फनपार्कमा पुगे । नेपालगन्जमैं ठूलो लगानीमा सन्चालन भइरहेको फनपार्कमा पुगेर उनले स्काई साईक्लिंग गरे । फनपार्कले पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने भन्दै प्रशंसा गरेका उनले त्यसअघि नेपालगन्ज–१ र १८ स्थित मनमोहन ताल (वाटर पार्क)को निरीक्षण गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल

प्रतिक्रिया

प्रतिक्रिया