गत चैत्र ११ गते कोरोना संक्रमणको जोखिमका कारण लकडाउन हुँदा स्थानीय तहले विकासका निर्माणका कामहरु टुङ्ग्याउन सकेनन् । उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका कार्यहरु सन्तोषजनक रुपमा सकिएपनि टेण्डरका कामहरु अपेक्षा गरे अनुसार अघि बढ्न सकेनन् । चालु आ.व.को अन्त्य हुने बेला विकासका निर्माणका काम हतारमा गरिन्छन् । लकडाउनका कारण गत आ.व.मा ती सबै योजना प्रभावित हुँदा कतिपय स्थानीय तहले चालु आ.व.मा पनि तीनै योजनालाई निरन्तरता दिने भएका छन् ।
बाँकेका स्थानीय तहका प्रमुखहरु कोभिडको अन्त्य तत्कालै सम्भव नरहेकाले कोभिडसँग जुघ्दै विकास निर्माणका कामहरु चालु आ.व.को अन्त्यसम्म सक्ने योजना बनाएको बताएका छन् । चालु आ.व.मा स्थानीय तहका कर्मचारी नै कोभिड पोजेटिभ हुँदा कार्यसम्पादनमा बाधा पुग्ने गरेको छ ।
बाँकेका स्थानीय तहका प्रमुखहरुले कोभिड चालु आ.व.मा योजनाबद्ध तरिकाले विकासका कामहरु गरेर सम्पन्न गर्ने दाबी गर्छन् । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले कोभिड बीच नै गत आ.व.मा पनि उपभोक्ता समितिमा मार्फत हुने कार्यहरु सकेको बताए । ‘गत आ.व.मा टेण्डर गरिएका केही काम भने पूरा गर्न सकेनौं’, उनले भने, ‘चालु आ.व.मा कोभिड रहेपनि विकासका कामलाई अगाडि बढाउँछौं ।’
खजुराले पहिलो चरणको विकास निर्माणका लागि टेण्डर आव्हान गरिसकेको छ । दोस्रो चरणको टेण्डर, उपभोक्ता समिति मार्फत हुने कामहरुको कार्य पनि अगाडि बढिरहेको छ । ‘दशैं तिहार लगत्तै फिल्डमा काम अघि बढ्छ’, अध्यक्ष कक्षपतिले भने ।
नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले कोरोनाका कारण नेपालगन्जको विकास निर्माण नरोकिने बताएका छन् । ‘विकास कोभिड बीचमै पनि अगाडि बढाउँछौं’, नगर प्रमुख डा. राणाले भने । उपभोक्ता समिति तथा टेण्डरका काम पनि उपमहानगरपालिकाले अगाडि बढाइरहेको नगर प्रमुख डा. राणाले जानकारी दिए ।
कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले कतिपय पूर्वाधार विकासको कार्यको ठेक्का गरिसकेको जानकारी दिएका छन् । ‘कोरोना कारण विकासका काम रोकिंदैन’, उनले भने, ‘कोरोनासँग जुघ्ने काम सँगै विकासका काम पनि अगाडि बढ्छन् ।’ नगर प्रमुख रावत संघीयता बुझ्ना पहिलो बर्ष गएको, दोस्रो बर्ष कोरोनाका कारण बाधा पुगेकाले अब जसरी पनि जनअपेक्षा बमोजिम बजेट फ्रिज नहुने गरी काम गर्ने योजना बनाइरहेको बताए ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले योजनाहरु त्रैमासिक रुपमा योजना बनाएर अगाडि बढाइरहेको जानकारी दिए । ‘दशैं अघि नै टेण्डर गर्ने गरी योजनाहरु अगाडि बढाइएको छ’, उनले भने, ‘उपभोक्ता समिति अन्तर्गतका काम पनि अगाडि बढ्छन् ।’