बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने गुर्दनगौडीमा सशस्त्र प्रहरी बलको विओपी क्याम्प स्थापना गरिने भएको छ । त्यसका लागि जिल्लाका सांसद तथा प्रशासनले पहल गरिररहेको थियो । सरकारले करिव डेढ दशक अघि पत्ता लागेको नयाँ बस्तीका रुपमा परिचित उक्त ठाउँमा सरकारले सशस्त्र प्रहरीको विओपी क्याम्प स्थापना गर्न लागेको हो ।
विओपी क्याम्प स्थापनाका हुने भएपछि बिहीबार त्यस क्षेत्रमा पुगेर जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतले स्थलगत निरीक्षण गरेका छन् । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, समशेरगन्जस्थित सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक प्रकाशकुमार सुवेदी, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, जनप्रतिनिधि, समाजसेवी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर बुधबार स्थलगत निरीक्षण गरेको थियोे ।
स्थलगत निरीक्षण गर्न पुगेका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख समक्ष स्थानीय बासिन्दाले आफुहरु राज्यका हरेक सेवा, सुविधाबाट बञ्चित हुनु परेको दुखेसो पोखेका थिए । सुर्योदय प्राथमिक बिद्यालय ब्यवस्थापन समिति गुर्दनगौडीका अध्यक्ष तिलक घर्ती लगायत स्थानीय बासिन्दाले आवत जावतका लागि भरपर्दो बाटो, टेलिफोन, खानेपानी, शान्ति सुरक्षा, कृषि तथा पशु सेवा अति आवश्यक रहेको बताए । अधिकांस स्थानीयले बाटो, सञ्चार, खानेपानी, शान्ति सुरक्षाको असुविधा रहेको बताएका छन् ।
स्थानीय बासिन्दाले राखेका गुनासोलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाले त्यस क्षेत्रको विकासका लागि हरेक वर्ष प्राथमिकतामा पारेको बताएका छन् । त्यहाँ सञ्चार अन्र्तगत टेलिफोट टावर स्थापना गर्नुभन्दा पहिले सुरक्षाकर्मीको उपस्थिती अनिवार्य हुनुपर्ने उनको भनाइ छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र बाटो मर्मतका लागि हरेक वर्ष प्राथमिकतामा राख्दै आएको अध्यक्ष थारुले स्पष्ट पारेका थिए ।
यस्तै सशस्त्र प्रहरी बल सम्शेरगन्ज बाँकेका सशस्त्र प्रहरी उपरिक्षक प्रकाशकुमार सुवेदीले नेपाल–भारत सिमानाका अन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा विओपी राख्ने सरकारको नीति अनुरुप यसवर्ष राप्तीसोनारी गाउँपालिकाको गुर्दनगौडी र बानवा नाकामा स्थापना गर्ने योजना रहेको जानकारी दिए । त्यस क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति भएमा सिमा स्तम्भको सुरक्षाका साथै नागरिकको पनि सुरक्षा गरिने उनले बताए ।
सो क्रममा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, समाजसेवी हरिभक्त ओली लगायतले पनि सम्बोधन गरेका थिए । त्यस क्षेत्रमा खयरभट्टी, गुर्दनगौडी, महेशपुर, बासखोली, झुरुवा लगायत गरी आधा दर्जन बढी गाउँ रहेका छन् । त्यहाँको पछिल्लो तथ्यांक अनुसार १ सय ७० घरधुरी बसोबास गरिरहेको बताइएको छ ।








