बालबालिकाको मद्दतका लागि २ हजार कल

आपतविपद्मा परेका बालबालिकाको उद्दार र सहयोगका लागि जारी गरिएको १०९८ मा एक बर्षको अवधीमा २ हजार बढी कल गरिएको छ । बालबालिका, अभिभावक तथा बालबालिका समस्यामा परेको देखेका प्रत्यक्षदर्शीले उद्दारका लागि सिविनमा रहेको उक्त नम्बरमा कल गर्ने गरेका छन् ।


‘बालबालिका हराएकोदेखि परिवारबाटै हिंसामा परेको सम्मका उजुरी कल मार्फत आउने गरेको छ’, सिविन नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले भने, ‘आएका कलहरुमा उद्दारका तत्काल पहल गर्ने गरेका छौं ।’


बाल हेल्पलाइनमा सन् २०१९ मा २ हजार १ सय ९९ वटा कल आएका छन् । ‘जसमध्ये बालबालिका स्वयंले गरेको कलको संख्या १ सय ९४ रहेको छ ।’ उक्त अवधीमा बाल हेल्प लाइनमा १ सय २३ बालिका र ७१ बालकले गुनासो तथा उजुरी गरेका छन् ।
बाँकेमा एक बर्षका १ सय ७९ बालबालिका सम्बन्धी घटना दर्ता भएको छ । सन् २०१९ मा बाल हेल्पलाइनमा १ सय ७९ घटना दर्ता भएको सिविन नेपालगन्जले जानकारी दिएको छ । सिविनले उक्त अवधीमा १२ वटा बालविवाह समेत रोक्न सफल भएको छ ।

सिविनले कोरोनाका जोखिमका कारण भएको लकडाउनमा बेला समेत बालबालिकालाई स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, अत्यावश्यक सहयोग गरेको सिविनका नेपालगन्ज प्रमुख सिद्धराज पनेरुले जानकारी दिएका छन् । सिविनले बैशाखमा २३, असारमा ६, साउनमा २८, भदौमा १७ जना बालबालिकालाई विभिन्न सहयोग गरेको छ । जसमध्ये ३ जना माघदेखि नै सिविनले बालबालिकालाई बनाएको आवासमा बस्दै आएका छन् ।


सन् २०१९ मा सिविनले बाल विज्याईका २६, हराएका तथा फेला पारेका वेवारिसे बालबालिकाको संख्या ७३ रहेको छ । उक्त अवधीमा १२ वटा बालविवाह रोकिएको सिविन नेपालगन्ज प्रमुख सिद्धराज पनेरुले जानकारी दिएका छन् ।


सन् २०१९ मा जोखिमपूर्ण दुर्घटना तथा बिरामी परेका ४ बालबालिकालाई सघाएको सिविनले शारीरिक दण्ड सजायमा परेका १२ बालबालिकाको उद्दार गरेको छ । त्यस्तै, १ सय ७५ बालबालिकालाई शैक्षिक सहयोग पनि सिविनले गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया