सम्हालिंदै सहकारी

शारीरिक दुरी कायम गरी साधारणसभाको तयारी


गत चैत्र ११ गतेदेखि मुलुक कोरोना संक्रमणका कारण ठप्प रह्यो । बैंक, वित्तीय संस्था र सहकारी नियमित हुन सकेनन् । लामो समय ठप्प रहेका बैंक तथा वित्तिय संस्था बिस्तार नियमित हुँदै जाँदा कतिपय कर्मचारी कोरोना संक्रमित हुन पुगे । यसले नियमिततामा थप असर पारिररहेको छ । तर, सरकारले लकडाउनको अन्त्य गर्दै आर्थिक क्षेत्रहरु खुला गरेसँगै सहकारीहरु सम्हालिन थालेका छन् ।

लकडाउनका बेला तरलता अभावमा समस्यामा परेका सहकारीहरु बिस्तारै बचत संकलन र ऋण असुली तिर लागेको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिएका छन् । ‘अवस्था सहज नै भएको होइन तर पनि केही सुधार भने भएको छ’, अध्यक्ष सुवेदी भन्छन्, ‘लकडाउनले आर्थिक क्षेत्र नै समस्यामा परेकाले सहकारी सहज भैहाल्ने अवस्था छैन तर पनि लकडाउन भन्दा अलि सुधार चाही हुँदै गएको छ ।’ उनले सहकारीमा रहेको तलरता अभाव भने हट्दै गएको जानकारी दिएका छन् ।


बचत तथा ऋण जिल्ला सहकारी संघ अध्यक्ष प्रकाश ज्ञवाली पनि बजार क्षेत्र खुलेपनि अवस्था सहज हुन थालेको बताउँछन् । तर, पनि व्यापार, व्यवसाय पूर्ववत् नचल्दासम्म सहकारीहरुको कारोबार पूर्ववत् हुन अझै समय लाग्ने उनको भनाइ छ । ‘ऋण असुली र बचत संकलन नहुँदा समस्या थियो अब थोरै भएपछि बचत संकलन र ऋण असुली सुरु भएको छ’, उनी भन्छन् । नमस्ते बचत तथा ऋण सहकारीका सचिव समेत रहेका ज्ञवाली सहकारी पूर्ववर्त सञ्चालनका लागि अझै समय लाग्ने बताउँछन् ।


सहकारीले स–सानो पूँजी जम्मा गरी सदस्यहरु बीच परिचालन गर्दछ । लकडाउनका कारण सहकारीले नियमित संकलन गर्ने दैनिक बचत ठप्प भएको थियो । बाँकेका सहकारीहरुले लकडाउनका बेला आफुसँग रहेको बचत अनुसार हप्तामा दुई पटक सहकारी सहकारी सञ्चालन गरेर बचतकर्ताहरुलाई रकम भुक्तानी गरेका थिए ।


लकडाउनमा मानिसहरुले काम गर्न पाएनन् । स–सानो रकम बचत गर्नेहरु झन् आर्थिक समस्यामा रहे । जसले गर्दा बचत फिर्ता गर्न चाहनेहरुको संख्या बढ्न थाल्यो । त्यस्तो अप्ठ्यारो बेला सहकारीहरुले बचतकर्तालाई आवश्यकता अनुसार बचत निकाल्ने सेवा प्रवाह गरिरहे । लकडाउनका बेला तरलताको अभावका वावजुद कतिपय सहकारीले सेवा दिएर सहकारी प्रतिको विश्वास बलियो बनाउन बल पुर्याएको बताउँछन्, इन्द्र थापा ।


वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वर पोखरेल आफ्नो सहकारीको कारोबार राम्रो नै रहेको बताउँछन् । ‘७५ प्रतिशतसम्म बचत संकलन भैरहेको छ’, उनी भन्छन्, ‘लकडाउनमा समेत सेवा दिएर हामीले शेयर सदस्यको विश्वास जित्न सफल भएका छौं ।’ कतिपय बचतकर्ताले सम्पर्क गरेर नै बचत लिन बोलाउने गरेको जानकारी दिंदै अध्यक्ष पोखरेलले बजार प्रतिनिधिलाई कोरोनाको जोखिमबाट जोगाउन सुरक्षा मापदण्डको पालना गरिरहेको बताउँछन् ।


कोरोनाको जोखिमका कारण बन्द आर्थिक क्षेत्र सञ्चालनमा आए पनि पूर्ववत् सञ्चालनमा आउन सकेका छैनन् । त्यसको असर सहकारीमा पनि परिररहेको छ । कोरोनाका जोखिमका कारण समूहमा भेला हुन रोक छ । त्यसैले सहकारीहरुको साधारणसभा र अधिवेशन यसपटक शारीरिक दुरी कायम गरेर मात्रै गरिने भएको छ । ‘त्यसका लागि विभागले परिपत्र गरेको छ’, जिल्ला सहकारी संघका अध्यक्ष सुवेदीले भने, ‘सहकारीको सदस्य संख्या बढी हुने भएकाले साधारणसभा १५ दिनसम्म सञ्चालन हुन सक्नेछ ।’ सहकारीहरुले स–सानो समूहमा सदस्यहरुको भेला गराई प्रतिवेदनमाथि छलफल गरी माइन्युटमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ ।


नेपालगन्जको पौरखी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना साधारसभा गर्दैछ । त्यसका लागि १५ दिनको अवधी तोकिएको अध्यक्ष हरि प्रसाद तिमिल्सिना बताउँछन् । ‘सदस्यहरुको सहजताका लागि अनलाइनमा बार्षिक साधारणसभामा प्रस्तुत हुने प्रतिवेदन राखिएको छ भने सदस्यहरुको घरघरमा प्रतिवेदन पुर्याउने व्यवस्था मिलाएका छौं’, उनी भन्छन्, ‘बाँके, बर्दियामै पहिलो पटक हाम्रो सहकारीले शारीरिक दुरी कायम राखी साधारणसभा गर्ने तयारी गरेको हो ।’ अध्यक्ष तिमिल्सिना साधारणसभाका दिन फेसबुक लाइभ मार्फत साधारणसभामा सम्बोधन हुने बताउँछन् । साधारणसभा प्रस्तुत हुने प्रतिवेदन उपर त्यसअघि नै राय दिन सक्ने व्यवस्था मिलाएको उनले जानकारी दिए ।


बाँकेमा ४ सय ९ वटा सहकारी रहेका छन् । जसमध्ये ७८ वटाले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् । जसमा १ लाख ४३ हजार जना शेयर सदस्य रहेको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया