शुक्रवारसम्म बाँकेका ९ सय ७०, प्रदेश ५ बाट ५ हजार ८०९ जना मुलुकभरबाट ३६ हजार ६७२ निको भइ घर फर्किएका छन् । आज शनिवार बाँकेका १५ जना घर फर्किंदैछन् ।
बाँकेमा शुक्रवार संक्रमित संख्या देखिएको छैन । ३१ जनाको स्याम्पल कलेक्सन गरिएको शुक्रवार एक जनापनि संक्रमित फेला नपरेको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ ।
बाँकेमा ७२ प्रतिशत भन्दा बढी निको हुने दर देखिएको छ । विभिन्न आइसोलेसनबाट कोरोनामुक्त भई शुक्रवार १९ जना डिस्चार्ज भएका छन् । भेरी अस्पताल नेपालगन्जका एक चिकित्सक र एक नर्स, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीलगायत अन्य गरी १९ जना डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोनामुक्त भइ डिस्चार्ज हुनेको संख्या ९ सय ७० पुगेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आज शनिवार १५ जना घर फर्किदैछन् । ‘यो विरामीको निको हुने दर ७२ दशमलव २१ पाइएको छ,’ श्रेष्ठले दैनिक नेपालगन्जसँग भने ।
पछिल्लो डिस्चार्ज हुनेहरु भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आइसोलेसनमा राखेर उपचार गरिएको थियो । कोरोना सम्बन्धि कुनै लक्षण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठको भनाइ छ ।
योसँगै निको हुनेको संख्या ९ सय ७० पुगेको छ । बाँकेमा हालसम्म १ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जनाको मृत्यु भइसकेको छ । हाल बाँकेका विभिन्न आइसोलेशनमा ३ सय ९१ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।