मानिस किन गर्छ देह त्याग ?

आज विश्व आत्महत्या रोकथाम दिवसलाई सन्दर्भ पारेर तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने, ७४ जनाको मृत्युको कारण पारिवारिक कलह भएको पाइएको छ । यद्यपी कलहमात्रै नभएर आत्महत्याका बारेमा जानकारी व्यक्तिले दिएपनि सोलाई ‘धम्की’वा ‘आफुलाई डराउन दिएको’ भनेर बेवास्ता गर्दा मानिसहरुको अनाहकमा मृत्यु भएको मनोपरामर्शकर्ता बताउँछन् ।

हिमाल गैरे
आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या रोकथामका लागि कार्यक्रम मनाउँदै गरे पनि दिवश मनाउने बाहेक पर्याप्त तयारीहरु गरेको पाइँदैन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानिसको मृत्युको १३ औं प्रमुख कारण आत्महत्या रहेको छ भने आत्महत्या गर्ने अधिकांश मानिस १५–२४ वर्ष उमेर समूहका हुन्छन् । युवाहरूमा मृत्युको दोस्रो कारण आत्महत्या नै मानिएको छ । यसरी आत्महत्या गर्ने हरेक १ लाखमा साढे ७ जना कलेजका विद्यार्थी हुन्छन् ।
पश्चिम नेपालकै मुख्य व्यापारिक केन्द्र रहेको नेपालगन्जका अस्पतालहरुमा नै मानसिक स्वास्थ्यकालागि जनशक्तिहरुको कमी छ भने सरकार र स्थानीय तहले समेत समुदाय स्तरमा रोकथामका निम्ती कार्यक्रम गर्न सकेको छैन् ।
नेपालगन्जमा रहेका भेरी अस्पतालमा मानसिक रोग विभागमा जम्मा २ जना कार्यरत मनोचिकित्सक छन् भने नेपालगन्ज शिक्षण अस्पताल, नेपालगन्जमा एकजना र कोहलपुर शिक्षण अस्पतालमा २ जना मनोचिकित्सक र १ जना चिकित्सा मनोविद् रहेका छन् ।
समुदाय स्तरमा आत्महत्याका बारेमा खुलेर कुराकानी गर्ने र जनस्तरमा चेतनाको कमीले गर्दा समेत आत्महत्या रोक्न नसकिएको पाइन्छ ।
मनोसामाजिक परामर्शकर्ता कमला डाँगी ‘आत्महत्याको बारेमा कुरा गर्दैमा आत्महत्याको भावना जागृत हुँदैन । यसबारेमा कुरा गर्दा आत्महत्याको सोचाइ आएको व्यक्तिले आफ्नो भावना अरुले बुझिदिएको महसुस गर्नुको साथै उनीहरुले अनुभव गरेको चिन्ता कम गर्न पनि सहायता गर्दछ ।’
मनोपरामर्शकर्ता डाँगीका अनुसार, ‘आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रुपमा संकेत दिएर आफु मर्न लागेको कुरा बताइरहेका हुन्छन् ।’ ‘मानिसले आफु भविष्य प्रति वितृष्णा भएको (आशाहीन), कसैबाट आफुले सहयोग नपाउने (सहयोगहीन) र आफुले गरेका कुनै पनि काम राम्रो नभएको (निकम्मा) जस्ता कुराहरु व्यक्त गर्ने गरेको पाइन्छ,’ उनले दैनिक नेपालगन्जसँग भनिन्, ‘तर, स्पष्ट रुपमा मर्न दिइएको त्यो संकेतलाई परिवारका अन्य सदस्यले पत्तो नपाउँदा मानिसको मृत्यु हुन्छ ।ं’ त्यस अवस्थालाई हेलचेक्राई नगरी गम्भीरतापुर्वक लिनुपर्ने र अवलोकनगरी खुलेर कुरा गर्नुपर्ने उनले सुझाइन् ।
भेरी अस्पतालका कन्सल्टेन्ट साइक्रेटिष्ट डा. सुमन अर्याल समस्या जटिल नहुँदै समुदाय स्तरमा नै रोगको पहिचान गर्नका निम्ती जनचेतना बढाउनका साथै मनोसामाजिक कार्यकर्ता र सेवा प्रदान गर्न जनशक्ति तयार गर्नुपर्ने बताउँछन् ।
‘हामीले पहल गरेर मात्रै हुँदैंन, जब सम्म सरकार एवं नीति निर्माता बनाउनेहरुले यो अवस्थाको गम्भीरतालाई बुझ्दैनन् तब सम्म आत्महत्या र मानसिक स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार सम्भव छैन्,’ मनोचिकित्सक कडा. सुमन अर्यालले सुझाए ।
‘अस्पतालमा हामी उपचरात्मक रुपमा काम गर्ने हो । तर, रोकथाम र प्रतिकार्यका रुपमाकाम त स्थानीय सरकारले नीतिगत रुपमा काम गर्न ढिला हुन लागि सक्यो,’ डा. अर्यालले दैनिक नेपालगन्जसँग भने ।
कोरोनाको महामारी संगै मुलुकमा विद्यमान मानसिक स्वास्थ्यका अवस्थाकाबारे मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक रोग विशेषज्ञहरुसंग छलफल गरी समुदाय स्तरमा जनचेतना बढाउने र आवश्यक सेवा प्रवाहका निम्ती चासो व्यक्त गरेका थिए ।
विपद्का बेलामा मात्रै नभएर शैक्षिक संस्था, सुधार केन्द्र, जेल, उद्योग प्रतिष्ठान, विभिन्न सरकारी एंव गैरसरकारी कार्यालयहरुमा समेत विभिन्न खालका मानसिक बिचलनहरुलाई सम्बोधन गरी आत्महत्याको अवस्था भन्दा अगाडी नै काम गर्न सकिने विज्ञहरुको कथन छ ।
पारिवारिक कलह, गरीबी, बेरोजगारी, वैदेशिक रोजगारी, कार्यस्थलमा हुने तनाव, बढ्दो महोत्वाकांक्षी स्वभाव, इन्टरनेटको लत, लागुपदार्थ तथा मद्यपानको लत लगायतका कारण मानिसहरुले आत्महत्या गर्ने गरेको पाइन्छ । तर आत्महत्या अस्थायी किसिमको सोंचको परिणाम भएको र यसलाई बेलैमा मनोपरामर्शकता वा मनोचिकित्सक संग छलफल गर्दा यसलाई रोकथाम गर्न सकिने विज्ञहरुको जोड छ ।
१ सय ५० ले त्यागे आफ्नो प्राण, बन्दाबन्दीमैं ३०
कोरोना सिर्जित मानसिक समस्यासँगै आत्महत्याका घटना पनि बढिरहेको मनोचिकित्सक बताउँछन् । नेपाल भरीमा हेर्ने हो भने चैत ११ देखि साउन ४ सम्म दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन् । सरकारी तथ्यांक अनुसार गतवर्ष पाँच हजार सात सय ३४ जनाले आत्महत्या गरेकोमा यो वर्ष ६ हजार दुई सय ६१ जनाले आत्महत्या गरेकाछन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार पछिल्लो ३ आर्थिक वर्षमा १ सय ५० जनाले आत्महत्या गरेका छन् । कोरोनाको महामारीको अवधीकै विश्लेषण गर्ने हो भने बैशाख १ देखि भदौ १५ सम्ममात्रै ३० जनाले आफुले आफुलाई नै सिध्याएका छन् । जुन पछिल्ला आर्थिक वर्ष भन्दा बढी हो ।


आत्महत्या गर्नेमा ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष रहेका छन् । त्यसैगरी ७६ प्रतिशत झुण्डिएर आत्महत्या गर्ने गरेको र २४ प्रतिशत विष सेवन गर्ने गरेको प्रहरीको तथ्याङ्क छ ।
पारिवारिक कलह मुख्य कारण
जिल्ला प्रहरी कार्यालयबाट तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने, ७४ जनाको मृत्युको कारण पारिवारिक कलह भएको पाइएको छ ।
यद्यपी कलहमात्रै नभएर आत्महत्याका बारेमा जानकारी व्यक्तिले दिएपनि सोलाई ‘धम्की’वा ‘आफुलाई डराउन दिएको’ भनेर बेवास्ता गर्दा मानिसहरुको अनाहकमा मृत्यु भएको मनोपरामर्शकर्ता बताउँछन् ।
त्यस बाहेक, २२ प्रतिशतले आवेगमा आई गरेको, १५ प्रतिशतले गरीबी र ७ प्रतिशतले नैराश्यता, मानसिक एवं दीर्घ रोगका कारणले आत्महत्या गरेको पाइएको छ ।
त्यसैगरी अधिकाशं व्यक्तिले आत्महत्याका दिउँसो १२ बजे देखि ६ बजेको समयमा गरेको तथ्याङ्कले देखाउँछ । जुन ५१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया