अब भेरीमै सशुल्क पीसीआर, २२ सय तिरे तुरुन्तै पीसीआर

नेपाल सरकारको निर्देशिका अनुसारनै कसलाई सशुल्क र कसलाई निःशुल्क गर्ने भन्ने टुंगो लागेको छ । अस्पताल विकास समितिको बैठकले २२ सय रुपिया शुल्क निर्धारण गरेको छ ।

आफुलाई कोरोना लागेको शंका लाग्दा अब पीसीआर टेष्टका लागि कुनै झन्झट नहुने भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालले शुल्क लिएर पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएकोपछि सजिलो गरि उपलब्धता भएको हो ।
यसअघि भेरीमा कोरोना परीक्षणको पीसीआरका लागि कन्ट्याक्ट ट्रेसिङ वा लक्षणसहित विरामी भएको हुनुपर्ने व्यवस्था छ । त्यसो हुँदा पालो पर्खिनुपर्ने पनि हुन्थ्यो । भेरी अस्पतालमा संचालनमा रहेको पीसीआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको हकमा भने कुनै शुल्क तिर्नु पर्नेछैन ।
ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर आरटी पीसीआरको स्वीकृति पाएको भेरी अस्पतालको विहीवार बसेको विकास समितिको बैठकले २२ सय रुपिया शुल्क निर्धारण गरेको अध्यक्ष प्रमोद धितालले जानकारी दिए । ‘कुनैपनि मानिसलाई व्यक्तिगत प्रयोजनका लागि पीसीआर टेष्ट गर्नुपर्नेछ भने शुल्क लिन पाउने व्यवस्थाले सजिलो बनाएको छ ।’
कर्णाली प्रदेशले प्रवेशका लागि पीसीआर परीक्षण भएको हुनुपर्ने बताउँदै आएको छ । राजधानी काठमाडौं प्रवेशमा पनि पीसीआर टेष्ट गरेकालाई सहजता छ । विदेश जान पीसीआर अनिवार्य गरिएको छ । त्यसखालका प्रयोजनमा बाहिरी जिल्ला जानका लागि पीसीआर टेष्ट गराउनेहरुसँग शुल्क लिइने छ । प्रशासनको सिफारिसको आधारमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामति कर्मचारीको निःशुल्क कोरोना जाँच गरिनव्यवस्था हुनेछ,’ अध्यक्ष धितालले कोरोनाको लक्षण देखिएर भेरी अस्पतालमा भर्ना भएका विरामीको पनि निःशुल्क कोरोना परीक्षण गरिने जानकारी दिए । ‘गरिव, असहाय, जेष्ठ नागरिक र कोरोनाको संकेत देखिएका विरामीको निःशुल्क कोरोना परीक्षण हुने’ धितालको भनाइ छ ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले पीसीआरको चाप धान्न धौ भएका बेला स्वास्थ्य मन्त्रालयले शुल्क लिएर कोरोना परीक्षण गर्ने अनुमति दिएर निकै राहत दिएको बताए । सेती अस्पतालदेखि पूर्वाञ्चल सम्मका अस्पतालले निर्धारण गरेको शुल्कको मूल्यांकन गरि शुल्क निर्धारण गरिएको जानकारी दिंदै अस्पताल प्र्रमुख डा. थापाले यो निर्णयले धेरैलाई आफ्नो पीसीआर टेष्ट गराउने सहज बाटो खुलेको बताए । बुधवार मात्रै सेती अस्पतालले २ हजार ५ सय रुपियामा पीसीआर परीक्षण गराउने निर्णय गरेको छ । नेपालगन्जमै पनि निजीस्तरमा ५ हजारसम्म शुल्क लिएर धमाधम पीसीआर भइरहेको छ । भेरीले सहुलियतमा पीसीआरको निर्णय गरेको डा. थापाले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया