कर्मचारीमा कोरोना संक्रमण देखिए पछि न्याय सम्पादनको काम प्रभावित
![](https://www.nepalgunjnews.com/wp-content/uploads/2020/07/109296297_278116246751099_1962088074410466911_n.jpg)
वसन्त गौतम
कर्मचारीमा कोरोना संक्रमण हुने क्रम जारी रहे पछि बाँके जिल्ला अदालतले न्याय सम्पादनको कामलाई सिमित गर्दै लगेको छ ।
यस क्रममा न्यायाधीश पूर्ण प्रसाद वास्तोलाको अध्यक्षतामा मंगलवार बसेको बार र बेञ्चको बैठकले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड (१९) को जोखिम बढ्दै गएकाले दिदै आएको सेवालाई अझै संकुचन गर्ने निर्णय गरेको हो ।
भाद्र १४ गतेको बैठकबाट केही सेवा स्थगन भएकोमा अदालतका श्रेस्तेदार कोरोना संक्रमित भएको पुष्टी भईसकेको, केही कर्मचारीहरुलाई रुघाखोकी ज्वरोको लक्षण देखीई उपचारको क्रममा रहेको र अन्य कर्मचारीहरु समेत कोरोना संक्रमणको उच्च जोखिममा हुन सक्ने सम्भावना भएकोले अदालतको काम झनै संकुचन गरिएको हो । कोरोनाको जोखिम झनै भयावह भई सेवाग्राही, कानून व्यावसायी, न्यायाधीश तथा कर्मचारीहरु समेत संक्रमित हुने सक्ने अवस्थालाई दृष्टिगत गरी अदालतबाट प्रवाह हुदै आएको सेवालाई थप संकुचन गर्दै अत्यावश्यक सेवाहरु प्रवाह गरिने अदालतले जनाएको छ ।
म्याद थप गर्ने, जरुरी प्रक्राउ पुर्जी समर्थन गर्ने, कल डिटेलको लागि अनुमती दिने, अन्तिम म्याद भएका अभियोग पत्र दर्ता गरी आवश्यक कारबाही अगाडि बढाउने, बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता गरी सुनुवाई गर्ने बाहेकका यस अदालतबाट प्रवाह हुने अन्य सम्पुर्ण सेवाहरु मंगलबार देखि स्थगन गर्ने निर्णय गरेको जारी सूचनामा उल्लेख छ ।
बाँके जिल्ला अदालतका अधिकृत बिर बहादुर बोहराका अनुसार विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बाँके जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्ट संक्रमित भई हाल कोहलपुर मेडिकल कलेजमा आइसोलेसनमा छन् । श्रेस्तेदारको सम्पर्कमा रहनु भएका कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको आधारमा कोरोना परीक्षणको लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई अनुरोध गर्ने र यस अदालतमा सेवा प्रवाह गर्न आवश्यक पर्ने बाहेकका अन्य कर्मचारीहरु मंगलबारबाटै सेल्फ आईसोलेसनमा बस्ने निर्णय अदालतले गरेको छ ।
यस अदालतबाट प्रवाह हुने सेवालाई नियमित गर्ने तथा थप गर्ने सम्बन्धमा आगामी भाद्र २१ गते आइतबार दिउँसो पुनः बार बेञ्च र सरकारी वकीलको बैठक बसी अगाडी बढ्ने भएको अधिकृत बोहराले जानकारी दिए ।
जिल्ला न्यायाधीश पूर्ण प्रसाद वास्तोलाको अध्यक्षतामा भएको बैठकमा न्यायाधीशहरु धनिस्वर पौडेल, दुर्गा बहादुर भुषाल, राम प्रसाद वस्याल, दिलीपराज पन्त, मनकुमारी जि.एम.वि.क., न्यायाधिवक्ता याम बहादुर बानिया, बार एसोसियसनका उपाध्यक्ष सुनिल श्रेष्ठ, उच्च अदालत बार एकाईका अध्यक्ष विकास आचार्य, जिल्ला अदालत बार एकाईका अध्यक्ष मो. अयुव सिद्धिकी, तहसिलदार हेमराज तिमिल्सैना लगायतको उपस्थिति रहेको थियो ।