ससुरासँग १० लाख फिरौती असुल्न साला अपहरणमा संलग्नलाई बाँके प्रहरीले तेस्रो दिननै फन्दामा पार्न सफल भएको हो ।

पैसाका लागि आफ्नै साला अपहरण गरेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरि शुक्रवार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके एक जना बालक अपहरण परेको तेस्रो दिनमा सकुशल उद्दार गर्दै बालकका भिनाजुलाई अपहरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको हो । शुक्रवार बाँके प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी गराएको छ ।
खजुरा गाउँपालिका (५ रजनवा गाउँका १३ वर्षीय बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई अपहरण गरेको आरोपमा नेपालगन्ज उपमहानगरपालिका – १६ जयसपुरका २७ वर्षका कल्लु भन्ने कलिम खाँलाई प्रहरीले पक्राउ गरेको हो । बाँके प्रहरीका अनुसार, कलिमले जाकिरलाई ९ भदौमा अपहरण गरेका थिए । कलिम जाकिरका सहोदर भिनाजु हुन् । उनले खजुरा–५ को रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको बेला बालकलाई अपहरण गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।
कलिमले अपहरणको दुई दिनसम्म जयसपुरस्थित आफ्नै घरमा जाकिरलाई बन्धक बनाएर ससुरासँग १० लाख रुपैयाँ फिरौती मागेको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए थिए । प्रहरी उपरीक्षक रानाले पत्रकारसँग भने, ‘ससुराले जग्गा किन्न ४ लाख ८५ हजार रुपैयाँ जम्मा पारेको थाहा पाएपछि बालकको अपहरण गरेको देखिन्छ ।’ जानकी गाउँपालिका–५ बुढिया गाउँमा राखिएका बालकलाई प्रहरीले अपहरणको तेस्रो दिन विहीवार उद्दार गरेको थियो । उद्दारका बेला बालक फुुपुको घरमा राखिएका थिए । त्यसलगत्तै खजुराको धनौलीबाट अभियुक्त कलिमलाई पक्राउ गरेको हो ।

प्रहरीले कलिमले बालक अपहरणमा प्रयोग गरेको भे ४ प २३४४ नम्बरको एक थान मोटरसाइकल र फिरौती माग्न प्रयोग भएको मोबाइल समेत बरामद गरिएको जनाएको छ । पक्राउ परेका खाँलाई अपहरण वा शरिर बन्धक सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरीक्षक रानाले बताएका छन् ।
कलिमलाई मुलुकी संहिता ऐन २०७४ को परिच्छेद १७ को अपहरण वा शरिर बन्धक सम्बन्धि कसुरको दफा २१३ बमोजिम ७ बर्षदेखि १० बर्षसम्म कैद र ७० हजारदेखि एक लाखसम्म जरिवाना हुने दावी सहित मुद्दा दर्ता गरिने बताइएको छ ।








