बुधवार एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास अनिश्चितकालका लागि बन्द गरिएको छ । उच्च अदालत बारका अध्यक्ष विकास आचार्यका अनुसार, इजलासमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि आकस्मिक बैठकले अदालतका सबै काम रोक्ने निर्णय गरिएको हो ।
सबैको पीसीआर भोलि विहीवार चेक गर्ने र आउने परिणामपछि थप निर्णय गरिनेछ, बेन्च र बारको आकस्मिक बैठकपछि अध्यक्ष आचार्यले भने । आज बुधबारमात्रै बाँकेमा ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा २२ र बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ५१ गरी ७३ जना संक्रमित थपिएका हुन् । (हेर्नुस् सूची)