संक्रमितको सफल शल्यक्रिया, आज कोरोना जाँच

शल्यक्रियामा सहभागी चिकित्सक सहित स्वास्थ्यकर्मी टिम

बुटवलबाट उपचारका लागि रेफर गरिएकी एक संक्रमित गर्भवतीको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा सफल शल्यक्रिया गरिएको छ । कोरोना भाइरस संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको हो ।
केहीदिन देखि नेपालगन्जस्थित होटल सिटी प्यालेसका आइसोलेसनमा बसिरहेकी बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया उनको शनिवार सफल स्त्री रोग विशेषज्ञ सहितको टोलीले शनिबार बिहान शल्यक्रिया गरेको अस्पतालका उप निर्देशक डा. नितेष कुमार कनोडियाले जानकारी दिए ।
गतसाता आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगेकी उनलाई परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका नेपालगन्ज रेफर गरेका हुन् । लगत्तै कोहलपुर आइपुगेकी उनलाई पुगिन् चिकित्सकले तत्काल शल्यक्रिया आवश्यक नरहेको भनेपछि सिटीको पेइंग आइसोलेसनमा राखेर निगरानी गरिरहेका थिए । शनिबार बिहान करीब ९ः३० बजे शल्यक्रियाबाट छोरी निकालिएको अस्पतालले जनाएको छ ।
शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजले जनाएको छ । अस्पतालका उपनिर्देशक कनोडियाका अनुसार, आइतवार शिशुको कोरोना परीक्षण गरिनेछ । उप निर्देशक कनोडियाका अनुसार, मेडिकल कलेजमा संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको यो चौथो घटना हो । गर्भवतीका श्रीमान पनि कोरोना पोजेटिभ भएकाले आइसोलेसमंै छन् ।
श्रीमान आइसोलेसनमा रहेकाले दुई जना आफन्तसहित होटल सिटी प्यालेसको आइसोलसनमा रहेकी उनी बिहान समस्या बढेपछि चिकित्सकको सल्लाहमा कोहलपुर पुगेकी थिइन् ।
सरकारले नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरलाई ग वर्गको कोरोना उपचार अस्पतालका रुपमा मान्यता दिएको छ । जसले गर्दा बुटवल पश्चिमका अधिकांश जटिल उपचार नेपालगन्ज आउने गरेको उपनिर्देशक डा. कनोडियाले जानकारी दिए । हामीले सरकारको निर्देशन अनुरुप सफल ढंगले कार्यसम्पादन गरिरहेका छौं, उपनिर्देशक डा. कनोडियाले दैनिक नेपालगन्जसँग भने, सक्दो सेवा प्रवाह भइरहेको छ । कोहलपुरमा पीसीआर ल्याबको समेत तयारी भइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया