जिल्ला प्रहरी कार्यालय बाँकेले कैद भुक्तान गर्न बाँकी रहेका एवं फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई तिव्रता दिएको छ ।
जिल्लामा प्रहरी प्रमुख फेरिए संगै तिव्रता पाएको यस अभियानका क्रममा आइतबार खजुरा गाँउपालिका ५ उढरापुरका सुग्गी खाँ (३८ वर्ष) र हुसुनु बानो खाँ (३२) लाई पक्राउ गरिएको छ । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका उनीहरुमाथि २०७६ असोज १२ गते सोही स्थानका सनिमा बानो खालाई बासको लट्ठीले हानी घाइते बनाएको तथा ज्यान मार्ने उद्योगको अभियोग थियो ।
फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरिएको र उनीहरुलाई ज्यान मार्ने उद्योग मुद्धामा चलेको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास खड्काले जनाएका छन् ।
त्यसैगरी, जबरजस्ती करणीका फरार अभियुक्तलाई समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । २०७२ कार्तिक २७ गते डुडुवा गाँउपालिका ५ बाहुन बगैचामा रहेकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका २२ वर्षीय मोहनविक्रम शाहीलाई समेत पक्राउ गरेको प्रहरी नायब उपरीक्षक खड्काले दैनिक नेपालगन्जलाई बताए ।
अभियुक्त शाहीलाई जिल्ला अदालतले ३ वर्ष ११ महिना १६ दिनको कैद सजाय तोक्को थियो । उनलाई इलाका प्रहरी कार्यालय कम्दीको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, बाँके ल्याइएको प्रहरी नायव उपरीक्षक खड्काले जनाएका छन् ।








