बाँकेमा बन्ने भो औद्योगिक क्षेत्र

बाँकेको नौवस्तामा ३ सय ३८ बिघा क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र निर्माण सुरु गरिएको छ

कृष्ण अधिकारी


बाँके जिल्लाको नौवस्तामा ५ नम्बर प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ( इआइए) स्वीकृत गरे पछि निर्माण प्रक्रिया सुरु भएको हो ।


असार २९ गते इआइए प्रतिवेदन स्वीकृत भए संगै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बैजनाथ गाउपालिका ३ नौबस्ताको खुल्लाचौर तथा झाडी बुटट्यान भएको करिब ३ सय ३८ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधारहरु निर्माणको प्रकृया अगाडि बढाएको छ ।


पूर्वाधारहरु निर्माणका लागि नेपाल सरकारले करिब ६० करोड बजेट विनियोजन गरेका कारण यसै आर्थिक बर्षबाट सडक, ढल र विद्युत, खानेपानी लगायतका भौतिक संरचनाहरु निर्माणको प्रकृया सुरु हुने नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पुनले बताए ।


औद्योगिक क्षेत्र निर्माणको प्रकृया अगाडि बढे संगै रोजगारीको अवसर पाइने आशाले बैजनाथ गाउँपालिका क्षेत्रका बासिन्दाहरु उत्साहित भएका छन् । नेपाल सरकारले औद्योगिक क्षेत्रलाई उपलब्ध गराएको जमिनमा बसोबास गर्दै आएका ६१ घर घुरी सुकुम्बासी परिबारलाई बैकल्पिक ब्यबस्था गरी पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउन बैजनाथ गाउँपालिकाले सहजीकरण गर्ने गाउ पालिकाका प्रमुख मान बहादुर रुचालले बताए ।


औद्यौगिक क्षेत्रबाट निस्कने धुवाबाट हुने वायु प्रदुषणलाई कम गर्न औद्योगिक क्षेत्रको वरिपरि करिब ३० मिटर क्षेत्र सहित औद्योगिक क्षेत्र भित्र करिब ५५ बिघामा बृक्षारोपण गरी हरियाली बनाइने योजना छ ।


औद्योगिक क्षेत्रमा चार लेनको सडक, ढल तथा नालीको ब्यबस्था, फोहर पानी प्रशोधनका लागि छुट्टै प्लान्ट, २४ घन्टा पानीको ब्यबस्था, ४० मेघा वाटको छुट्टै विद्युत फिडर, सुरक्षाका लागि सशस्त्र प्रहरी बलको पोष्ट, एकिकृत भन्सार चेक पोष्ट लगायतका पूर्वाधारको निर्माण गरिने छ ।
आगामी ५ बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रको निर्माण कार्य सम्पन्न गर्नका लागि करिब १० अर्ब लाग्ने अनुमान गरिएको छ ।


औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भए पछि करिब १० हजार जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । औद्योगिक क्षेत्रको निर्माण पछि रोजगारीको अबसर सृर्जना भई आर्थिक सम्बृद्धिको बाटोमा अगाडि बढाउन सहज हुने छ ।


नौबस्तामा औद्यौगिक क्षेत्र निर्माणको प्रकृया २०७२ साल चैत देखि सुरु भएको हो । उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले उद्योग मन्त्रालय अन्र्तगतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई बन तथा बाताबरण मन्त्रालयबाट इआइए प्रतिबेदन स्वीकृत गराउन करिब २ बर्ष लागेको बताउदै निर्माणको गतिलाई तिब्र पार्नु पर्ने बताए ।


औद्योगिक क्षेत्रमा प्लाष्टिक, खाद्यान्न लगायत पेन्ट, साबुन, स्टिल, रबर, बिद्युत तार, टेक्सटाइल, छाला, खानेपानी, इलेक्ट्रोमेकानिकल, डिष्ट्रिलरी र प्लाइउड उद्योग स्थापनाका लागि २ सय ५० जना उद्योगी ब्यबसायीहरुले प्रस्ताव पेश गरेका छन ।


सरकारले अत्यावश्यक पूर्वाधार सहितको नयाँ औद्योगिक क्षेत्र निर्माणको प्रकृया अगाडि बढे नेपालगन्ज क्षेत्रका उद्योगी ब्यबसायीहरु उत्साहित भएको उद्योगपति राजेश मास्केले बताए । नेपाल सरकारले विशेष सुविधाहरु दिएर नयाँ उद्योगहरु स्थापना गर्न चाहाने उद्योगी ब्यबसायीहरुलाई आकर्षित गर्नु आवश्यक छ ।


निर्माण स्थलको अनुगमन

बाँकेको नौबस्तामा नयाँ औद्योगिक क्षेत्र निर्माण गरिने फिल्डको अनुगमन गरिएको छ । त्यसक्रममा सरोकारवालाहरुसँग छलफल समेत गरिएको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पुनले जानकारी दिएका छन् ।


निरीक्षणमा बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि, सशस्त्र पुलिस तालिम केन्द्र नौबस्ताका प्रतिनिधि, प्रहरी, उद्योग वाणिज्य महासंघ सदस्य कृष्ण प्रसाद श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


‘निरीक्षणको क्रममा औद्योगिक क्षेत्रको निर्माण र विकासको क्रममा आउने सम्स्या र सोको समाधानको विषयमा समेत सरोकार वाला पक्षहरु संग आवश्यक छलफल गरिएको हो’, प्रमुख पुनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया