कोरोनाः संक्रमित संख्या नाघ्यो १५ हजार

देशभर कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएसँगै १५ हजार २ सय ५९ पुगेको हो । देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै अछामका २३० जना छन् । यस्तै कैलालीका ५८ जना, बाजुराका ५३, डोटीका ४७, कञ्चनपुरका ४५, बैतडीका ४०, रौतहटका २९, डडेलधुरा र झापाका २८/२८ जना, सिराहाका २४, नवलपुरका १९, धनुषाका १६, बझाङका १४, दैलेखका १२ र बर्दियाका १० जामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी, दाङ र तनहुँका ९/९, सप्तरी, कपिलवस्तु, सल्यान ८/८ जना सुर्खेत र महोत्तरीका ६/६ जना, उदयपुर र मोरङका ५/५ जना, पर्वतका ३ तथा कास्की र पर्साका २/२ जना छन् ।
पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ८२३ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यससँगै डिस्चार्ज हुनेको संख्या ६ हजार १४३ पुगेको छ ।


यसैबीच, कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । काठमाडौं, नयाँ बानेश्वरका ८५ वर्षीय बृद्धको एक निजी अस्पतालमा उपचारका क्रममा १७ गते राति ११ बजेतिर निधन भएको हो । यससँगै कुल मृतकको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया