लकडाउन पछि बाँकेका मात्रै २१ हजार बढी विदेशबाट आएको प्रशासनको तथ्यांक रहेको छ ।

बाँके यूनेस्को क्लब नेपाल–भारत सीमाको जमुनाह नाकामा भारतबाट आउने नेपालीहरुलाई तयारी खाना वितरण गर्दै । यूनेस्कोले प्लानको सहयोगमा हालसम्म १० हजार ७० जनालाई तयारी खाना तिवरण गरिसकेको छ । १६ दिनदेखि तयारी खाना वितरण गरिरहेको यूनेस्कोले ३० हजारलाई वितरण गर्ने लक्ष्य राखेको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिएका छन् । क्लबले यातायातको साधन छुटेका १ सय ४१ जनालाई दुई दिन छुट्टै खानाको व्यवस्था गरेको छ ।
नेपाल–भारत दुवै तर्फ लकडाउन खुकुलो भएपछि नेपालीहरु फर्किने क्रम अझै पनि जारी छ । भारतका विभिन्न ठाउँमा रोजगारीमा गएका नेपालीहरु दैनिकजसो फर्किरहेका छन् ।
गत १६ दिनमा मात्रै भारतबाट नेपालगन्जको जमुनाह नाका हुँदै आउने नेपालीहरुको संख्या १० हजार भन्दा बढी रहेको छ । १६ दिनमा ८ हजार १ सय ७५ पुरुष, १ हजार ४ सय ६१ महिला, ६ जना तेस्रो लिङ्गी र ४ सय २८ जना बालबालिका भारतबाट नेपाल–भारत सीमाको जमुनाह नाकाबाट भित्रिएका छन् ।
भारतबाट आउनेहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने व्यवस्था रहेको छ । सीमामा आइपुग्ने नेपालीहरुलाई जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा विभिन्न जिल्ला पठाउने गरिएको छ ।
लकडाउन पछि बाँकेका मात्रै २१ हजार भन्दा बढी नागरिक भारतबाट आएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्यांक अनुसार, भारतबाट बाँकेमा विभिन्न स्थानीय तहमा आउने नागरिकको संख्या २१ हजार १३ रहेको छ । भारतबाट बाहेकका मुलुकबाट बाँके आउनेको संख्या १ सय ४९ रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।









