पक्राउ परेकालाई कानुनी कारवाही गर्छौ : प्रजिअ
बाँकेमा नदीजन्य पदार्थको सबैभन्दा ठूलो स्रोत राप्तीनदी हो । राप्तीनदीबाट यसबर्ष नदीजन्य पदार्थको ठक्का नहुँदा निकासी हुन सकेको छैन । राप्तीसोनारी गाउँपालिका अन्तर्गत रहेको राप्तीनदीबाट गाउँपालिकाले आफैले निकासी गर्ने भनेपनि अहिलेसम्म हुन सकेको छ । चालु आ.व.मा निकासीको समय सकिइसकेको छ । चालु आ.व.मा निकासी नै हुन नसक्दा करोडौं नोक्सान त भएको छ नै अवैध निकासी मौलाउँदै गएको छ ।
नदीजन्य पदार्थको अभावमा जिल्लाको विकास निर्माण समेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय बाँकले जनप्रतिनिधि सहित सरोकारवालासँग छलफल समेत गरिसकेको छ । छलफलपछि पनि पालिका निकासी सुचारु गर्न तत्पर देखिएको छैन ।
नदीबाट वैध निकासी नहुने तर अवैध तस्करी भएको पाएपछि प्रहरी, प्रशासनले त्यसविरुद्ध कडाई गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार र सोमबार गरी अवधै रुपमा नदी उत्खनन् गरी ल्याइएका नदीजन्य पदार्थको अवैध रुपमा गरिरहेको १२ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले ट्याक्टर सँगै २२ जनालाई पनि नियन्त्रणमा लिएको हो । आइतबार ३ र सोमबार ९ वटा ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
प्रहरीले आइतबार डुडुवा गाउँपालिकाको वडा नं. ४ को साहपुरवा र सोमबार नेपालगन्ज २१ बाट नियन्त्रणमा लिइएका ट्याक्टर आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाउने छ । प्रहरीले नियन्त्रणमा लिइएका २२ जना व्यक्तिहरुलाई भने मुद्दा चलाउने भएको छ । प्रहरीले नियन्त्रणमा परेका व्यक्तिले सोधपुछका क्रममा प्रहरीसँग अभद्र व्यवहार गरेकाले उनीहरुमाथि अभद्र व्यवहार कसुरमा अनुसन्धान भैरहेको बताएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले नदीजन्य पदार्थको अवधै तस्करी गर्नेलाई न्यून जरिवाना मात्रै हुँदा अवैध तस्करी मौलाइरहेको बताएका छन् । ‘अब अवैध निकासी विरुद्ध प्रहरीको निगरानी रहने छ भने नियन्त्रणमा परेका व्यक्तिहरु विरुद्ध मुद्दा समेत चलाइने छ’, प्रजिअ कुरुम्वाङले भने, ‘यसले अवैध निकासी निरुत्साहित हुनसक्छ ।’ उनले राप्तीनदीबाट नदीजन्य पदार्थको निकासीका लागि पालिकासँग आग्रह गरेको बताए ।








