बन्दाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी आउन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीको शुरुवाती चरणमा भन्दा हाल उद्योग सञ्चालनमा कमी आउन थालेको हो ।
बन्दाबन्दीको शुरुआती चरणमा ४९ देखि ५१ प्रतिशतसम्म सञ्चालनमा आएको उद्योग हाल (जेठ २० गतेसम्म) ४६ प्रतिशतमा झरेको उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताएका छन् । उनका अनुसार मुख्य पाँच औद्योगिक करिडोर अत्तरिया–धनगढी, नेपालगन्ज–कोहलपुर, बुटवल–बेलहिया, पथलैया–वीरगन्ज र इटहरी–विराटनगरमा सुरुको एक महिना (वैशाख १३ गतेसम्म) ४९ प्रतिशत उद्योग सञ्चालन भएका थिए ।
एक महिनाका अवधिमा १० औद्योगिक क्षेत्रमा रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने ५९७ उद्योगमध्ये १५० उद्योग मात्र सञ्चालनमा रहेका थिए । पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उक्त उद्योगमा बन्दाबन्दी अगाडि पाँच हजार १९० मजदूर रहेकामा एक महिनामा एक हजार ६०२ जना मात्र कार्यरत रहेका थिए । यसैगरी गत वैशाख १३ सम्म ४९ प्रतिशतमा सञ्चालनमा आएका उद्योग वैशाख मसान्तसम्म ५१ प्रतिशतमा सञ्चालनमा आएका थिए ।
वैशाख मसान्तसम्म ३४९ उद्योग सञ्चालनमा रहेकामा जेठ २० सम्ममा अत्यावश्यक वस्तुको उत्पादन गर्ने ३३८ उद्योग सञ्चालनमा छन् । चैतमा पूर्ण क्षमतामा सञ्चालनमा रहेका अक्सिजन र एलपी ग्यास उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा छन् भने अन्य उद्योगको सञ्चालन क्षमतामा कमी आएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार चैतमा ८० प्रतिशतसम्म सञ्चालनमा रहेको खाद्य उद्योग (बिस्कुट, चाउचाउ) हाल ५० देखि ६० प्रतिशत, ७५ प्रतिशत क्षमतामा सञ्चालन रहेको खाद्य उद्योग (चामल, चिउरा, दाल, पीठो, तेल आदि) हाल ५५ प्रतिशत तथा ८० प्रतिशत सञ्चालनमा रहेको दुग्ध उद्योग हाल ६० प्रतिशतमा सञ्चालन भएका छन् ।
यसैबीच पचास हजार मेट्रिक टन मौज्दात रहने चिनी उद्योगमा हाल चालीस हजार मेट्रिक टन चिनी मौज्दात छ । चैतमा ८० प्रतिशत सञ्चालनमा रहेको दाना, ह्याचरी र कुखुरापालन उद्योग हाल ४० प्रतिशत, ७० प्रतिशत सञ्चालनमा रहेको औषधि उद्योग हाल ६० प्रतिशत, पूर्ण क्षमतामा सञ्चालनमा रहेको खानेपानी उद्योग ६० र ७० प्रतिशत सञ्चालनमा रहेको चिया उद्योग हाल ३० देखि ४० प्रतिशतसम्म सञ्चालनमा छन् ।
बन्दाबन्दीपूर्व ११ हजार ७३६ मजदुर कार्यरत रहेकामा हाल चार हजार ९ सय मात्र कार्यरत तथा छ हजार ८३६ मजदूर अनुपस्थित छन् । सञ्चालनमा रहेका सबै उद्योग बन्दाबन्दीको पूर्णपालना गरेर सञ्चालन गरिएको जनाइएको छ ।
आजबाट मालपोत खुल्ने
सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । लकडाउन सुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।
पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भई आएको थियो । सोही मागअनुसार आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सेवा सञ्चालनमा ल्याउन विभागले भनेको छ ।