
बाँके नरैनापुर गाउँपालिका क्षेत्र स्थित वडा नं.२ आदर्श माविको क्वारेन्टाइनलाई स्थानीय एउटा असामाजिक हूलले कब्जा गरेको खुलेको छ । ८१ जना रहेको उक्त क्वारेन्टाइनबाट हिजो आइसोलेशनमा लैजान अवरोध उत्पन्न गर्ने ब्यक्तिहरुले आज विहानैबाट क्वारेन्टाइनलाई कब्जा गरि आफ्नो नियन्त्रणमा राखेका छन् ।
स्थानीय इसहाक अहमद जोलाहको नेतृत्वमा रहेको मानिसहरुको हूलले विहानैबाट क्वारेन्टाइन ब्यवस्थापनमा अवरोध गरि खाना वितरण रोकेका हुन्, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले भने, विपक्षी पार्टीको हैसियतले विरोध गर्ने तरिका फरक हुन सक्थ्यो, यो सामाजिक खतराको संकेत हो ।
गाउँपालिका प्रमुख आएको समयमा सबै जनाले अंगालो मार्नु भन्ने निर्देशन क्वारेन्टाइनमा दिइएको छ, नेपालगन्ज न्युज संग कुरा गर्दै प्रमुख शाहले भने, यो भन्दा बढि दुर्भाग्यपूर्ण स्थित अरु के हुन सक्छ । इसहाक अहमद जोलाहको नेतृत्वमा पञ्चे भन्ने इकबाल शेष, नसिर अहमद खाँ, नूर मोहम्मद खाँ, चन्नु तेली भन्ने जलील तेलीले मंगलवार संक्रमितहरुलाई आइसोलेट गर्नमा आदर्श मावि लक्ष्मणपुरमा अवरोध गरेको प्रहरी भनाइ छ । त्यसैगरि नरैनापुर वडा नं.६ स्थित जयकिसान माविको क्वारेन्टाइनमा नरैनापुर ५ बस्ने निबरु शेषले गाउँमा हल्ला फिजाएर अवरोध गरेका थिए । निबरु शेषले गाउँबाट मान्छे बोलाएर लगेका हुन्, प्रत्यक्षदर्शी स्थानीय रामजीत तेलीले भने, हिंसा भड्काउने प्रयासमा निबरु संलग्न रहेको देखिएको हो ।
नेपालगन्ज लगेर संक्रमितहरु जोखिममा पार्ने, गोली हान्ने वा अन्य औषधी गरेर मार्ने जस्ता हल्ला फिँजाएर संक्रमितका परिवारहरु सहित क्वारेन्टाइन बाहिर हंगामा मच्चाएका विरुद्ध कारवाही गर्ने तयारी भैरहेको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले बताए । समाजलाई जोखिममा पारी राष्ट्रहित विपरीत कार्य गर्ने जोकोही भएपनि कडा कारवाही गरिन्छ, संयोजक श्रीवास्तवले भने, त्यसका लागि आवश्यक पहल र तयारी भइरहेको छ ।









