५९ जना संक्रमितका परिवारको हंगामा, क्वारेन्टाइन घेराउ
बाँके नरैनापुर गाउँपालिका क्षेत्रको तीन वटा क्वारेन्टाइनबाट झण्डै ५९ जना संक्रमितलाई नेपालगन्ज लैजाने कार्यमा स्थानीयहरुले अवरोध उत्पन्न गरेका छन् । नेपालगन्ज लगेर संक्रमितहरु जोखिममा पार्ने, गोली हान्ने वा अन्य औषधी गरेर मार्ने जस्ता हल्ला फिँजाएर संक्रमितका परिवारहरु अहिले क्वारेन्टाइन बाहिर हंगामा मच्चाएका छन् । नेपालगन्जबाट आएको एम्बुलेन्स दुईवटा क्वारेन्टाइनबाट फर्किएको छ । नरैनापुर ५ हुलासपुर स्थित क्वारेन्टाइनमा ब्यवस्थापन गरिरहेका शालिक राम साहुले भने, साँझ सम्म लग्न सकिएन भने सबै संक्रमित भागेर गाउँमा लुक्छन् ।
गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले स्थिति आफ्नो नियन्त्रणमा नरहेको बताएका छन् । केहि नेताहरुले विभिन्न हल्ला फिजाएर जनता भड्काउने काम गरेर समाजलाई झन जोखिममा पर्ने काम गरेका छन्, उनले भने, यसबाट ठूलो दुर्घटना हुन सक्ने संकेत छ । आफुले प्रहरीलाई कुनैपनि हालतमा संक्रमितहरुलाई आइसोलेशन सम्म लैजान आग्रह गरेको प्रमुख शाहले बताए । अहिले विभिन्न ३ वटा क्वारेन्टाइनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । उनीहरुले संक्रमितको उपचार आफुहरु घरमै गरने दावी गरिरहेका छन् ।
यता व्यवस्थापनका लागि आइसोलेसन अस्पतालको रुपमा डेन्टल अस्पतालमा मात्र सम्भव नभएपछि कोहलपुर पिपरीस्थित कृषि तालिम केन्द्रमा अस्पतालका रुपमा विकसित गर्ने कुराको विरोधमा स्थानीय उत्रिएका छन् । कोहलपुरमा कोरोना भित्रिने आशंका गर्दै उनीहरुले विरोधमा बाटोमैं आएर अवरोध गरेका छन् ।