नरैनापुर : क्वारेन्टाइनमा बसेका २४ बर्षीय युवाको मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको अकालमा मृत्यु भएको छ । नरैनापुर गाउँपालिका दिपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका अन्दाजी २४ बर्षीय युवकको आइतबार विहान भएको हो । उनलाई वाकवाकी भएको क्वारेन्टाइनमा बसेका अन्यले स्थानीयलाई जानकारी दिएका छन् ।


नरैनापुर ५ नयाँ बस्तीका युवा बैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले घटनाबारे जानकारी आए लगत्तै फिल्डमा स्वास्थ्य टोली हिडिसकेको जानकारी दिएका छन् । मृतक युवाको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने उनले बताएका छन् ।


पीपीइ सुरक्षा सामाग्री उपलब्ध नभएका कारण स्थानीय एम्बुलेन्सलाई खबर गरेपनि उपचारका लागि नेपालगन्ज ल्याउन नमानेको स्थानीयले जानकारी दिएका छन् । यसअघि जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले कोभिडलाई लक्षित गरी प्रत्येक स्थानीय तहमा एम्बुलेन्स र चालक तयार राख्ने निर्णय गरेको थियो । तर, क्वारेन्टाइनमा उपचार नपाई युवाको मृत्यु भएपछि स्थानीयमा आक्रोशित भएका छन् ।


जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्र स्थित सेन्टरसँग सुरक्षा सामाग्री लिखित रुपमा नै निर्णय गरेर माग गरेको छ ।

नरैनापुरमा ८ जना कोरोना पोजेटिभ भेटिएपछि शनिबार चार वटा क्याम्प मार्फत २ सय ६३ को स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया