कसरी पुग्यो नरैनापुरमा कोरोना ?

विनय दीक्षित

के नरैनापुर गाउँपालिका क्षेत्रबाट युवाहरु भारतको विभिन्न सहरमा जाने र ६ महिना वा एक वर्षमा काम गरि फर्कने गरेका छन् । दशैं तिहार वा होलीको बेला आउने कामदारहरु पर्व सकिएपछि पुनः भारत गई रोजगारी गरि आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । अधिकाँश युवाहरु भारतको मुम्बई, कानपुर, दिल्ली, गोवा, पंजाब लगायत क्षेत्रमा काम गर्दै आएका छन् ।
शुक्रवार कोरोना संक्रमित देखिएका युवाहरु भारत मुम्बईको भयंदर भन्ने स्थानबाट फर्किएका मजदूर हुन् । उनीहरु एउटा ट्रकमा ७० जना आएका हुन् । हरेक युवाले ३ हजार ५ सय भारतीय रुपैयाँ दिएर ट्रक बुक गरेर भारत श्रावस्ती जिल्लाको सिमा क्षेत्र जमुनाहा बजारमा मंगलवार आइपुगेपछि सोही साँझ उनीहरुलाई प्रहरीको समन्वयमा नरैनापुर भित्र्याइएको थियो ।
दिनहुँ लुकीछिपी भित्रिने र बल प्रयोग गरि फर्काउने कार्यबाट जोखिम हुन सक्ने सम्भावनालाई मध्यनजर गरि प्रहरीले सबै कामदार युवाहरुलाई क्वारेन्टाइनमा राख्ने तय भएपछि गाउँपालिकाले ब्यवस्थापनको जिम्मा लिएको थियो ।


मंगलवार साँझ फर्किएका ३ सय ४४ जना मध्ये नरैनापुर गाउँपालिका वडा नं.५ स्थित दिपेन्द्र प्राविमा रहेका १० जना र जय किसान माविमा रहेका तथा कृष्णा प्राविमा रहेका युवाहरुको स्वाब परीक्षणका लागि भेरी अस्पताल लगिएको थियो ।


मुम्बईको भयंदरलाई महाराष्ट्र सरकारले रेडजोनमा राखेको छ । त्यहाँबाट फर्किएका मजदूर हुन संक्रमित ५ नं.वडाका युवाहरु । उनीहरु परिवारको सम्पर्कमा नगएको दावी गरेपनि परिवारका सदस्य उनीहरुको लागि खाना लगेको, लुगा धुनका लागि ल्याएको, र खाइसकेको भाँडा समेत ल्याएको प्रहरीको भनाइ छ । ‘कोरोना समाजिक रुपमा फैलिन सक्ने सम्भावनालाई नकार्न मिल्दैन’, स्वास्थ्यचौकी मटेहियाका इन्चार्ज प्रेम बुढाले भने, ‘परिवारको सम्पर्कमा गई हेलमेल हुन सक्ने सम्भावना धेरै छ ।’


‘सतर्कताको जति अहवान गरेपनि अटेरी गर्नेको संख्या धेरै छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इन्चार्ज बुढाले भने, ‘विभिन्न क्वारेन्टीनबाट मान्छे बाहिर जाने गरेको पनि पाइयो ।’ ‘सतर्कताको विकल्प छैन’, बुढाले भने, ‘हामी सतर्कताका लागि आवश्यक प्रयास गरिरहेका छौं ।’ ‘यस क्षेत्रका सबैको जाँच हुनु पर्छ’, उनले भने, ‘स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी र क्वारेन्टीनमा रहेकाहरुको जाँच गरेपछि विवरणहरु निश्चित गर्न सकिन्छ ।’


गाउँ पुग्यो संक्रमण

स्थानीय बासिन्दालाई आवश्यक सतर्कतामा सहयोग गर्न गाउँपालिकाको आग्रह

विश्वको अन्य मुलुकमा हुँदा कोरोना संक्रमणलाई सामान्य रुपमा बुझ्दै आएका बाँके नरैनापुर गाउँपालिका क्षेत्रका बासिन्दा शुक्रवार अचानक हतोत्साहित हुन पुगे । नरैनापुर गाउँपालिका क्षेत्रमा संचालित क्वारेन्टाइनमा राखिएका भारतबाट फर्किएका मजदूर मध्ये ४५ जनाको परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएपछि गाउँमा खैलाबैला मच्यो ।


चारैतिर केहि बेर भागदौड झैं भयो, अधिकाँश ब्यक्तिहरु आफ्नो आफन्त मित्रलाई फोन सम्पर्क गरि रिपोर्ट बारे जानकारी दिँदै आवश्यक सतर्कता अपनाउन सुझाव दिन ब्यस्त देखिए । संक्रमित क्षेत्र भन्दा बाहिरका ब्यक्तिहरुले सामाजिक सञ्जाल लगायतका माध्यमबाट स्थानीय क्षेत्रको अवस्था बुझ्नमा तल्लीन थिए ।


नरैनापुर गाउँपालिका क्षेत्रका ८ जना ब्यक्ति कोरोना संक्रमित रहेको तथ्य स्वास्थ्य मन्त्रालयले शुक्रवार विहान ८ बजे सार्वजनिक गरेपछि गाउँपालिका पदाधिकारी, कर्मचारी, प्रहरी र सामाजिक कार्यकर्ता सबै केहि बेर अब के गर्ने र कसो गर्ने भन्ने अलमलमा बल्झिए ।


केहि बेरपछि संक्रमित ब्यक्तिहरुको घरपरिवारलाई सूचना पुग्यो, गाउँमा रुवाबासी मच्यो । कोरोना संक्रमण गाउँमा नपुग्ने अडान राख्दै आएका ब्यक्तिहरु आफ्नै घर परिवारको सदस्य संक्रमित फेला परेको थाहा पाएपछि स्थिति थामिनसक्नु भयो ।


गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह, ५ नं.वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, २ नं.वडा अध्यक्ष मसूद अहमद शाह, ३ नं.वडा अध्यक्ष राजकुमार मौर्य स्थानीय बासिन्दाहरुलाई फोन सम्पर्क गरि धैर्य धारण गर्न र नआत्तिन आग्रह गरिरहेका थिए ।


प्रहरीले चौतर्फी सतर्कता बढायो, सिमा क्षेत्रमा थप कडाई गरियो, भारतीय क्षेत्रबाट सिमा सम्म आइपुगेका एक सय बढी युवाहरुलाई सिमाक्षेत्रमै रोकियो । ‘स्थितिलाई आपतकालिन हिसाबले सम्हाल्ने प्रयास भयो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै सशस्त्र प्रहरी गण गंगापुरका इन्चार्ज विरेन्द्र बहादुर जिसीले भने, ‘कल्पना गरे भन्दा बढि जोखिम एकै पटक देखिएपनि धर्यताका साथ काम गर्न जरुरी छ ।’


गाउँपालिकाले ११ वटा क्वारेन्टाइन सञ्चालन गरेको छ । सबै क्वारेन्टाइन अहिले ५ सय ५० जना छन् । समाचार तयार पार्दा सम्मको तथ्याँक बताउँदै नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने, ‘सिमा क्षेत्रमा अझै धेरै युवाहरु अड्किएका छन्, उनीहरुलाई पनि राति ल्याउने तयारी हुँदैछ ।’


सिमा क्षेत्रमा रहेका युवाहरुलाई ल्याउन नरैनापुर गाउँपालिकाले वडा नं.५ स्थित मोतीपुर प्राविलाई शुक्रवार साँझ क्वारेन्टाइनको रुपमा तयार गरेको छ । यसअघि नरैनापुर क्षेत्रमा १० वटा क्वारेन्टाइन सञ्चालित छ । ‘अब नयाँ रणनीति तयार गरेर अघि बढ्नु पर्ने अवस्था उत्पन्न भएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले भने, ‘आवश्यक योजना सहित भोलि शनिवार (आज) बैठक बस्ने तयारी छ ।’


‘क्वारेन्टाइन ब्यवस्थापनमा ब्यस्त भएकै बेला रिपोर्ट आउँदा थप चुनौती सिर्जना भएको हो’, अध्यक्ष शाहले भने, ‘गाउँलाई सुरक्षित बनाउन आवश्यक सतर्कता संगै विभिन्न कार्य योजना सहितको बैठक तयारी रहेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया