खजुरा प्रवेशका चारै नाकामा प्रहरी क्याम्प

बाँकेको खजुरापालिकाले आफ्नो पालिकालाई कोरोना संक्रमणबाट जोगाउन चारैतिरका नाका सिल गरी प्रहरी क्याम्प स्थापना गरेको छ । गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले नेपालगन्ज उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमण फैलिएको प्रमाणित हुनासाथ नाका सिल गरिएको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सरकारी कर्मचारी खजुरा प्रवेशमा पूर्णत रोक लगाइएको जानकारी दिए ।


नाका सिल गरिएको अवस्थालाई प्रभावकारी बनाउन चारै नाकामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । खजुरा गाउँपालिका वडा नं. २ र जानकी गाउँपालिका २ को सीमानामा रहेको सि गाउँमा नेपाली सेनाले उपलब्ध गराएको टेन्टमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम ओलीले जानकारी दिए । अस्थायी पोष्ट स्थापना अघि खजुरा गाउँपालिका राधापुर प्रहरी चौकी इन्चार्ज राजकुमार थारु, बेलभार प्रहरी चौकी इन्चार्ज कुल बहादुर विक, वडा नं. २ का वडाध्यक्ष देविलाल खनाल, खजुरा गाउँपालिका कार्यपालिका सदस्य फत्तेकुमारी जैसी लगायतको बैठकले खजुरा गाउँपालिका सिल गर्ने अभियानमा सक्रियतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । ‘यसका लागि जानकी गाउँपालिकाका सदस्य जयराम काँदु सहितका जनप्रतिनिधिहरुले समेत सहयोगको प्रतिबद्धता जनाएको’ खजुरा गाउँपालिका–२ का स्थानीयबासी समेत रहेका पालिकाका राजनीतिक सल्लाहकार ओलीले जानकारी दिए ।


खजुरा–१ स्थित राधापुर जलपोखरी र जानकी गाउँपालिका–२ बेलभारको सीमानामा अस्थायी पोष्ट स्थापना बाँकी रहेको र त्यो काम आज शुक्रबार पूरा हुने पालिकाले जनाएको छ । ‘यसका लागि नेपाली सेनाले टेन्ट लगायतको प्राविधिक सहयोग गरेको छ’, खजुरा गाउँपालिका प्रमुख कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘बाहिरबाट संक्रमण कुनै पनि हालतमा भित्रिन नदिने पालिकाको रणनीति छ, खजुराले यसअघि नै भारतीय तरकारी प्रवेशमा रोक लगाइसकेको छ भने भारतीय सीमाबाट हुने अवैध घुसपैठ नियन्त्रण गर्न सशस्त्र प्रहरीसँग समेत समन्वय गरेको जनाएको छ ।’


खजुरा गाउँपालिका पश्चिम तिर बर्दियाको बढैयाताल गाउँपालिका, उत्तरतिर बैजनाथ गाउँपालिकाको सिमाको खजुरा ४ ई गाउँ, दक्षिण तिर भारतको सिमा जहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गस्ती नियमित छ । पूर्वतिर जानकी गाउँपालिकाको सिमा जलपोखरी, सि गाउँ र खजुरा कपास बिकास समितिमा टेन्ट राखेर सुरक्षाकर्मी स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निगरानी गर्ने व्यवस्था मिलाइएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया