अहिले विश्व कोभिड–१९ (नोबेल कोरोना) ले आतंकित छ । विश्वमा महामारी रुप लिएको यसबाट लाखौं व्यक्तिले ज्यान गुमाएका छ । विश्वका अधिकांश मुलुकहरु बन्दाबन्दी (लकडाउन) मा रहेको छ । फलस्वरुप विद्यालयहरु समेत बन्द छन् ।

नेपालमा पनि एसइइलाई नै स्थगन गरि सबै विद्यालयहरु बन्द गरिएको छन् र करिब ७० लाख बालबालिका अहिले बन्दाबन्दीको प्रत्यक्ष मारमा परेका छन् । एसइइ बाहेक लगभग अधिकांश बालबालिकाहरुले परिक्षा दिएर अर्को कक्षामा उक्लीने तरखरमा थिए । नयाँ कक्षाकोठा, साथी, पुस्तक र शिक्षक शिक्षिकाहरुसंग साक्षात्कार गर्ने समयमा बालबालिकाहरु घरभित्र वा सिमित साघुरो घेरामा खुम्चिएका छन् । उनको दैनिकी समेत निकै पट्यार लाग्दो छ । घर भएका वा परिवार संगै बसेका वा खान पुग्नेहरु त घरै (भएका आफ्नो, नभएकाहरु कम्तिमा भाडामा) बसेका छन् । तर यो बन्दाबन्दीको समयमा परिवारमा छाक टार्न दैनिक ज्यालामजदुरी गर्ने परिवार वा आफ्नो थातथलो छाडेर रोजगारीका निम्ती अन्यत्र बसाई सरेका परिवारहरुको दैनिकी निकै कष्टकर बनेको सञ्चारमाध्यममा आइरहेका छन् । आफ्ना बुवा आमा वा स्याहारकर्ताले खानाको खोजीका निम्ती राहतको लाइनमा वा शहरबाट आफ्नै गाँउ सैयौं किलोमिटर पैदल यात्रा गरी अभिभावकसंग कष्टकर हिड्ने बालबालिकाहरुको दुःख हेरी नसक्नु रहेको छ ।

बालबालिकाले यस्तो विषम परिस्थीति नजिकैबाट अवलोकन, अनुभुती र आफ्नो क्षमता अनुसार मुल्यांकन गरिरहेका हुन्छन् । आफ्नो विवेक अनुसार परिवारलाई सघाएका हुन्छन् । फरक मात्र के हो भने ठुला मानिसहरु बोलीका माध्यमबाट आफ्ना दुखसुख व्यक्त गर्न सक्छन् तर बालबालिकाहरु प्रष्ट संग व्यक्त गर्न सक्दैनन् तर पक्कै पनि प्रतिक्रिया देखाइरहेका हुन्छन् ।
विशेष गरी घरैमा बसेका भए पनि बालबालिकामा मा बसेका भए पनि भाइरसको जोखिमका कारण धेरै दिन देखि घरभित्रै बसिरहेका छन् । साथीभाईहरु संग भेट्न पाएका छैनन भने विद्यालय बन्द भएकाले आफ्ना प्रिय शिक्षक शिक्षिकाहरु संग पनि भेट्न कुराकानी गर्न पाएका छैनन् । यस्तो समयमा विभिन्न समाचार वा अभिभावकको कुरा सुनेर पनि मन आतंकित भएको हुन्छ । मन डराइरहेको हुन्छ । यस्तो समय हाम्रो मनको डर तथा तनावलाई व्यवस्थापन गर्न नसकेमा समस्याको रुप लिन सक्छ । त्यसैले यस अवस्थामा मनको डर र तनावलाई कम गर्न देहायबमोजिम क्रियाकलापहरुबाट मद्दत पुग्दछ । बालबालिकालाई विभिन्न श्रृजनात्मक क्रियाकलायहरुमा व्यस्त राख्ने तर यसमा अभिभावकको समेत सहयोग आवश्यक पर्दछ ।

 नियमित रुपमा दैनिकी बनाएर सोही अनुसार क्रियाकलापहरु संचालन गर्ने
 बिहान बेलुका आमाबुबा वा अभिभावकलाई भान्साको काममा सघाउने
 गीत संगीत सुन्ने, नाच्ने
 कथा, कविता, निबन्ध तथा दैनिक डायरी लेख्ने बानी बसाल्ने
 योग, ध्यान, प्रार्थना, व्यायम गर्ने
 घरभित्र खेल्न सकिने खेलहरु खेल्ने
 चित्रकला वा मनपर्ने राम्रा क्रियाकलापहरु गर्ने
 घरको सरसफाई र जोखिम रहित ढंगले खेतबारीमा रोप्ने, गोडमेल गर्ने सीप सिक्न पनि सकिन्छ
 विभिन्न समयमा आफुले बिताएका राम्रा र सकरात्मक कुराहरुको छलफल गर्ने
 आफ्ना जिज्ञासाहरु अभिभावक तथा दाजुदिदीसँग छलफल गर्ने र टेलिफोन वा इन्टरनेटका माध्यमहरुबाट आफ्ना मनका कुराहरु साथी भाइहरुसँग कुरा गर्न पनि मिल्छ । थप सहयोगको आवश्यकता परेमा शिक्षक शिक्षिकाहरुसंग समेत सहयोग लिन सकिन्छ ।
 विभिन्न संचारका माध्यम, इन्टरनेटबाट आफ्नो सिकाइका कुरालाई पनि निरन्तरता दिन सकिन्छ ।
 एस.इ.इको परीक्षा भएका भाइबहिनीहरुका लागि परीक्षाको तयारी गर्ने राम्रो अवसरका रुपमा लिन पनि सकिन्छ ।

यो बन्दाबन्दी वा अप्ठ्यारो समय सधैका लागि होइन । सबै कुरा बन्द भएका छैनन् । खुसी भएर यो समयलाई सृजनात्मक काम गर्नमा लगाउन सकिन्छ । यस विषम परिस्थीतिमा बालबालिकालाई राम्रो वातावरण दिन अभिभावककोा पनि महत्वपुर्ण हुन्छ । आफ्ना बालबालिकालाई पर्याप्त समय दिन सकिने अवसर पनि हो । भाइरसका कारण उत्पन्न नकारात्मक कुरामा भन्दा पनि यस कारण परिवारमा संगै बस्न पाएको, आफु र आफ्नो परिवारका बारेमा सुक्ष्म रुपमा बस्ने अवसरका रुपमा पनि लिनु पर्दछ । भाइरसका कारण कति मान्छेको मृत्युभयो भन्दा पनि कति मान्छेहरु निको भए भन्ने कुराहरु पनि गर्न सकिन्छ । तर हामी सबै सचेत र गम्भिर भई यो विषम परिस्थीतिको सामना गर्नुपर्दछ । (गैरे मनोसामाजिक कार्यकर्ता हुन्)

प्रतिक्रिया

प्रतिक्रिया