अहिले विश्व कोभिड–१९ (नोबेल कोरोना) ले आतंकित छ । विश्वमा महामारी रुप लिएको यसबाट लाखौं व्यक्तिले ज्यान गुमाएका छ । विश्वका अधिकांश मुलुकहरु बन्दाबन्दी (लकडाउन) मा रहेको छ । फलस्वरुप विद्यालयहरु समेत बन्द छन् ।
नेपालमा पनि एसइइलाई नै स्थगन गरि सबै विद्यालयहरु बन्द गरिएको छन् र करिब ७० लाख बालबालिका अहिले बन्दाबन्दीको प्रत्यक्ष मारमा परेका छन् । एसइइ बाहेक लगभग अधिकांश बालबालिकाहरुले परिक्षा दिएर अर्को कक्षामा उक्लीने तरखरमा थिए । नयाँ कक्षाकोठा, साथी, पुस्तक र शिक्षक शिक्षिकाहरुसंग साक्षात्कार गर्ने समयमा बालबालिकाहरु घरभित्र वा सिमित साघुरो घेरामा खुम्चिएका छन् । उनको दैनिकी समेत निकै पट्यार लाग्दो छ । घर भएका वा परिवार संगै बसेका वा खान पुग्नेहरु त घरै (भएका आफ्नो, नभएकाहरु कम्तिमा भाडामा) बसेका छन् । तर यो बन्दाबन्दीको समयमा परिवारमा छाक टार्न दैनिक ज्यालामजदुरी गर्ने परिवार वा आफ्नो थातथलो छाडेर रोजगारीका निम्ती अन्यत्र बसाई सरेका परिवारहरुको दैनिकी निकै कष्टकर बनेको सञ्चारमाध्यममा आइरहेका छन् । आफ्ना बुवा आमा वा स्याहारकर्ताले खानाको खोजीका निम्ती राहतको लाइनमा वा शहरबाट आफ्नै गाँउ सैयौं किलोमिटर पैदल यात्रा गरी अभिभावकसंग कष्टकर हिड्ने बालबालिकाहरुको दुःख हेरी नसक्नु रहेको छ ।
बालबालिकाले यस्तो विषम परिस्थीति नजिकैबाट अवलोकन, अनुभुती र आफ्नो क्षमता अनुसार मुल्यांकन गरिरहेका हुन्छन् । आफ्नो विवेक अनुसार परिवारलाई सघाएका हुन्छन् । फरक मात्र के हो भने ठुला मानिसहरु बोलीका माध्यमबाट आफ्ना दुखसुख व्यक्त गर्न सक्छन् तर बालबालिकाहरु प्रष्ट संग व्यक्त गर्न सक्दैनन् तर पक्कै पनि प्रतिक्रिया देखाइरहेका हुन्छन् ।
विशेष गरी घरैमा बसेका भए पनि बालबालिकामा मा बसेका भए पनि भाइरसको जोखिमका कारण धेरै दिन देखि घरभित्रै बसिरहेका छन् । साथीभाईहरु संग भेट्न पाएका छैनन भने विद्यालय बन्द भएकाले आफ्ना प्रिय शिक्षक शिक्षिकाहरु संग पनि भेट्न कुराकानी गर्न पाएका छैनन् । यस्तो समयमा विभिन्न समाचार वा अभिभावकको कुरा सुनेर पनि मन आतंकित भएको हुन्छ । मन डराइरहेको हुन्छ । यस्तो समय हाम्रो मनको डर तथा तनावलाई व्यवस्थापन गर्न नसकेमा समस्याको रुप लिन सक्छ । त्यसैले यस अवस्थामा मनको डर र तनावलाई कम गर्न देहायबमोजिम क्रियाकलापहरुबाट मद्दत पुग्दछ । बालबालिकालाई विभिन्न श्रृजनात्मक क्रियाकलायहरुमा व्यस्त राख्ने तर यसमा अभिभावकको समेत सहयोग आवश्यक पर्दछ ।
नियमित रुपमा दैनिकी बनाएर सोही अनुसार क्रियाकलापहरु संचालन गर्ने
बिहान बेलुका आमाबुबा वा अभिभावकलाई भान्साको काममा सघाउने
गीत संगीत सुन्ने, नाच्ने
कथा, कविता, निबन्ध तथा दैनिक डायरी लेख्ने बानी बसाल्ने
योग, ध्यान, प्रार्थना, व्यायम गर्ने
घरभित्र खेल्न सकिने खेलहरु खेल्ने
चित्रकला वा मनपर्ने राम्रा क्रियाकलापहरु गर्ने
घरको सरसफाई र जोखिम रहित ढंगले खेतबारीमा रोप्ने, गोडमेल गर्ने सीप सिक्न पनि सकिन्छ
विभिन्न समयमा आफुले बिताएका राम्रा र सकरात्मक कुराहरुको छलफल गर्ने
आफ्ना जिज्ञासाहरु अभिभावक तथा दाजुदिदीसँग छलफल गर्ने र टेलिफोन वा इन्टरनेटका माध्यमहरुबाट आफ्ना मनका कुराहरु साथी भाइहरुसँग कुरा गर्न पनि मिल्छ । थप सहयोगको आवश्यकता परेमा शिक्षक शिक्षिकाहरुसंग समेत सहयोग लिन सकिन्छ ।
विभिन्न संचारका माध्यम, इन्टरनेटबाट आफ्नो सिकाइका कुरालाई पनि निरन्तरता दिन सकिन्छ ।
एस.इ.इको परीक्षा भएका भाइबहिनीहरुका लागि परीक्षाको तयारी गर्ने राम्रो अवसरका रुपमा लिन पनि सकिन्छ ।
यो बन्दाबन्दी वा अप्ठ्यारो समय सधैका लागि होइन । सबै कुरा बन्द भएका छैनन् । खुसी भएर यो समयलाई सृजनात्मक काम गर्नमा लगाउन सकिन्छ । यस विषम परिस्थीतिमा बालबालिकालाई राम्रो वातावरण दिन अभिभावककोा पनि महत्वपुर्ण हुन्छ । आफ्ना बालबालिकालाई पर्याप्त समय दिन सकिने अवसर पनि हो । भाइरसका कारण उत्पन्न नकारात्मक कुरामा भन्दा पनि यस कारण परिवारमा संगै बस्न पाएको, आफु र आफ्नो परिवारका बारेमा सुक्ष्म रुपमा बस्ने अवसरका रुपमा पनि लिनु पर्दछ । भाइरसका कारण कति मान्छेको मृत्युभयो भन्दा पनि कति मान्छेहरु निको भए भन्ने कुराहरु पनि गर्न सकिन्छ । तर हामी सबै सचेत र गम्भिर भई यो विषम परिस्थीतिको सामना गर्नुपर्दछ । (गैरे मनोसामाजिक कार्यकर्ता हुन्)








