
यतिबेला स्थानीय सरकार लकडाउनबाट गार्हो सार्हो परेकालाई राहत दिंदैछ । वडास्तरमैं सरकार भएको अनुभूति नागरिकले गर्ने मौका पनि बनेको छ, लकडाउनको अप्ठ्यारो । तर, तपाईंलाई साँच्चिकै लकडाउनबाट चुल्हो नजलेकै राहतग्राही हो ? होइन भने राहत नलिनुस्, पछुताउनु पर्ला ।
बाँकेको खजुरा गाउँपालिकाले लकडाउनको कारण दैनिक चुलो बाल्न नसक्नेहरुका लागी राहत वितरणलाई लक्षित वर्गसम्ममात्र पुगोस् भन्नका लागि अपनाएको विधिले गलत मानिसका हात राहत पुगेमा पछुताउनपर्ने निश्चित छ । लकडाउनका कारण चुल्हो नबोलेको घरलाईमात्र हामी राहत दिने व्यवस्था मिलाएका छौं, पालिका प्रमुख किस्मत कुमार कक्षपतिले भने, तैपनि कसैले बदमासी गरिहाल्ने सम्भावनालाई मध्येनजर राहत लिनेको सबै विवरण सार्वजनिक गर्ने निर्णय गरिएको छ ।
हो, राज्यको धुकुटीबाट वितरण गरिने राहतलाई पारदर्शी बनाउन खजुराले राहतग्राहीको तीन पुस्ते तयार गरेको छ । सिफारिश गर्नेको समेत विवरण राखिएको जानकारी दिंदै पालिका भन्छ, गाउँपालिकाद्धारा वितरण गरिने २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल सहित वडा वडामा राहत सामाग्री पठाइएको छ । खजुरा गाउँपालिकामा वडा नम्बर १ देखि ८ सम्मका अति विपन्न, विपन्नहरुलाई दिइने राहत वितरणलाई सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने योजना पालिकाको छ ।
आज सबैको घरसम्म राहत पुगिसक्छ, बुधवार बिहान नेपालगन्जन्यूजसँग पालिका प्रमुख कक्षपतिले भने, मंगलवार वडास्तरबाट वितरण थालिएको हो ।
कक्षपतिका अनुसार, वितरणलाई अतिनै व्यवस्थित विधि बनाइएको छ । एउटा वडामा एक पटक ५० जनाको कुपन बनाइन्छ, ४ वडासदस्य प्रत्येकले ५० कुपन लिएर छुट्टै टोलमा १०, १० जनालाई आवश्यक दुरीमा राखेर राहत सामाग्री हस्तान्तरण गरिएको छ । यसरी हरेक वडामा पठाइएको राहत सामाग्रीलाई वडा कार्यालयले छनोट गरेको घर परिवारलाई वितरण गरिएको हो । नो भिडभाड, नो फोटो सेसन, राहत वितरणको विधिबारे कक्षपतिको भनाइ थियो ।
खजुरालेनै सबैभन्दा पहिलो राहत वितरण निर्देशिका तयार गरेको थियो । गाउँपालिकाका सुचना अधिकारी दिल बहादुर पौडेलले १६ सय ९८ जना परिवारलाई राहत दिन वडामार्फत सम्बन्धित वडामा आवश्यक सामाग्री पुर्याइसकिएको छ ।

बैंकको साथः
नेपाल एसविआई बैंक लिमिटेडले खजुरा गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । पिपिई तिन थान, सेनिटाइजर, साबुन, हेन्डवास, सर्जिकल माक्स, गन थर्मा्मिटर गरि करिव ८२ हजार बराबरको गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।








