यतिबेला विश्व कोभिड १९ को संक्रमण र सन्त्रासले आक्रान्त छ । यसबीच १६ दिनदेखि मुलुक पुरै लकडाउनको अवस्थामा छ । हामीले सुन्यौ, पढ्यौं, सीमापारि भारतबाट महाकाली नदीमा हाम फालेर नेपालीहरु घर फर्किए । भारत पनि १५ दिनदेखि लकडाउनमा छ । तर, पनि ज्यान नै जोखिममा पारेर दार्चुला स्थित महाकालीमा हाम फालेर नेपालीहरु नेपाल प्रवेश गरेका हुन् ।
लकडाउनको अर्थ जो, जहाँ छ, त्यसलाई त्यहीँ रोक्ने हो । तर, त्यसको कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । अहिले पनि नेपाल, भारत सीमाको भित्री नाकाहरुबाट नेपाली भित्रिएको खबर आउने गरेको छ ।
नेपाल र भारत बीच लकडाउनमा एक, अर्का देशका नागरिकलाई सोही ठाउँमा रोकेर क्वारेन्टाइनमा राख्ने हो । तर, केही दिन अघि भारतको विभिन्न ठाउँबाट बाँकेको जमुनाह नाकामा रोकिएका नेपालीले भारतको नानपारा स्थित क्वारेन्टाइनमा जान मानेनन् । उनीहरुलाई अहिले दशगजाको नेपालतर्फ १८१ जनालाई क्वारेन्टाइन बनाएर राखिएको छ ।
भारतमा लकडाउन भने पनि नेपालको सीमाबाट सयौं किलोमिटर टाढा रहेका सहरहरुबाट नेपाल, भारत सीमाको जमुनाह नाका आइपुगेका छन् । मातृभूमि प्रवेश गर्न पाउने आशामा आएका १८ जना नेपाली भारतको नानपारा स्थिति क्वारेन्टाइनमा रहेका छन् । त्यहाँ उनीहरुको बेहाल रहेको सञ्चारकर्मीहरु मार्फत बाहिरिसकेको छ । यद्धपी स्थानीय प्रशासकलाई उद्धृत गर्दै रुपैडिहास्थित पत्रकार सन्तोष शुक्लले भनेका छन्, ६५ महिलासहितका १८६ जना राखिएको उक्त क्वारेन्टाइनमा नेपालीलाई फरक व्यवहार गरिएको छैन् ।
नेपालीहरु हजारौं किलोमिटर दुःख पाउँदै नेपाली सीमासम्म अहिले पनि आइरहेका छन् । कतै साइकल त कतै पैदल त कतै गाडीको सहारामा । उनीहरुलाई भारतले जहाँ छ, त्यही रोकेको छैन । ठाउँ ठाउँमा स्वास्थ्य चेक गराएर उनीहरु जमुनाहसम्म आएको बताउँछन् । त्यसका तमाम उदाहरण हाम्रा सामुन्ने छन्, १८१ जनालाईनै ३ दिनसम्म रुपैडिहा रेल्वेलाइनको खुला चौरमा राखियो र रातारात नेपाली सीमा कटाइयो ।
अरुपनि तमाम उदाहरण छन् । चन्द्रमोहन र सुरेश खत्री रोजगारीको लागि भारतको चण्डीगढ पुगेका थिए । जब भारत र नेपालमा लकडाउनको खबर पाए उनीहरु आफ्नै मातृभूमि फर्कने मनसाय बनाए । यातायातको साधन थिएन । दुरी थियो ७ सय ७५ किलोमिटर । मार्च ३० तारिखमा उनीहरु चण्डिगढबाट साइकलमा यात्रा सुरु गरे । माग्दै खाँदै उनीहरु ७ तारिखमा भारतको रुपैडिहा आइपुगे । उनीहरु अनेकौं कष्ट सहेर नेपाल छिर्ने आशामा बाँकेको जमुनाह नाकामा आएका हुन् । सुरेशले घर जान पाउने आशा सुनाए । तर, उनीहरु दुवैलाई नानपारा स्थित क्वारेन्टाइनमा पठाइयो । प्रश्न स्वाभाविक छ, जब सीमा काट्न पाइन्न, उनीहरुलाई उहिं रोक्ने, उद्दार गर्ने किन प्रयास भएन ?
सल्यानका अमर खत्रीले पनि नेपाल आउनका लागि लामो दुरी पार गरेका छन् । ५ हजार रुपैयाँ साथमा लिएर हिडेका उनीसँग रुपैडिहासम्म आइपुग्दा ५ सय बचेको थियो । उनलाई पनि नानपारा स्थित क्वारेन्टाइनमा पठाइयो । अमर गुजरातबाट कतै पैदल, कतै गाडीको यात्रा गरी रुपैडिहा पुगेको बताउँछन् । मध्यप्रदेशमा स्वास्थ्य चेकजाँच गरी उनीहरुलाई छाडिएको हो ।
नेपालीहरुलाई नेपाल प्रवेश गर्न रोक्न कठिन छ ।
सर्वोच्च अदालतले समेत सीमामा रोकिएका नेपालीलाई भित्रिन दिन आदेश गरेको थियो । अहिले आएर सकभर नेपाल फर्काउने नसकिए जहाँ छन्, नेपालीलाई उचित प्रवन्ध मिलाउन अदालतले भनेको छ । यस्तो अवस्थामा जोखिम बढ्ने निश्चित भएको छ । नेपालीलाई भारत सरकारले जुन ठाउँमा छन् सोही ठाउँमा रोकेर व्यवस्थापन गर्नुपर्ने हो । तर, पछिल्लो समय ५० हजार नेपाली जमुनाह नाकाबाट मात्र छिरेका छन् । भारतमा कोरोना फैलिरहेको अवस्थामा आउने नेपालीले पनि कोरोना बोकेर आउँछन् भन्ने कैलालीमा भेटिएका संक्रमितबाट पुष्टि भएको छ ।
भारतमा २१ दिनको लकडाउन छ । अझै त्यो बढ्न सक्छ । त्यहाँ १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था छ र यहाँ पनि । भारतको पुने स्थित एक होटलमा ६१ जना नेपाली क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइन अवधी १४ दिन हो । भारतको लकडाउन २१ दिन, जुन बढ्ने सम्भावना रहेको त्यहाँका सञ्चारमाध्यमले बताउँदै आएको छ । क्वारेन्टाइनमा रहेका नेपालीहरुले १४ दिनपछि क्वारेन्टाइन स्थल छाड्न त्यहाँका अधिकारीहरुले भनेकाले उद्दारको पहल गरिदिन नेपाल स्थित आफन्त गुहारिरहेका छन् ।
नेपालका विभिन्न जिल्लाका नेपालीहरु उद्दार तर्फ सरकारले पहल गर्नुपर्छ । तर, भारतमा स्वास्थ्य जाँच गराएका, क्वारेन्टाइनमा राखिएका नेपाली नेपाल आएपछि पुनः क्वारेन्टाइनमा राख्ने कि नराख्ने भन्ने अर्को समस्या छ । १४ दिनपछि भारतमा क्वारेन्टाइनमा बसेकाहरुको व्यवस्थापनका लागि सरकारले भारतीय अधिकारीहरुसँग पहल गर्न आवश्यक रहेको छ ।
यस्तोबेला कुनैपनि देशका नागरिकलाई मानवोचित व्यवहार अपेक्षित हुन्छ । यस्तोमा सीमापारि भएकाहरुलाई आइपरेका समस्या समाधानमा राज्य जुट्नुपर्छ, घरभित्रै रहेका हामीलाई राज्यले हेरोस् भन्ने अपेक्षा नराखेकै राम्रो । हामी निर्धक्क घर बस्दानै भलो हुन्छ, नकि अनाहकमा बाहिर निस्किएर अपेक्षित जोखिममा पनि अनपेक्षित व्यवहार प्रदर्शन होस् । चेतना होस् ।
भारतको पुनेमा बसेकाहरु