कैलालीसँग सीमा जोडिएका बर्दियाका राजापुर र ठाकुरबाबाका सबै नाका बन्द

बर्दिया/भावुक योगी

बर्दिया जिल्लाको छिमेकी जिल्ला कैलालीमा दुई जना र कन्चनपुरमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएसंगै बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ ।

बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकासँग सीमा जोडिएका कैलालीका सबै सीमामा उच्च सर्तकता अपनाउँदै सीमा नाका बन्द गरिएको जनाईएको छ । पैदल होस् या सवारी साधनमा कसैलाई पनि प्रवेश गर्न नदिने कैलाली जिल्लासंग जोडिएका बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकाका नगरप्रमुखले बताउनु भएको छ ।

बर्दिया र कैलालीसंग जोडिएका सीमा नाका बन्द गरिएको नगरप्रमुखद्धयले बताउनुभएको हो । कैलालीको टिकापुर सीमासंग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरिएको राजापुरका नगर प्रमुख शिवप्रसाद थारुले बताउनुभयो ।
यसैगरी पुर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको कर्णाली चिसापानी पुल र कैलालीको लम्कीचुहा नगरपालिकासंग सीमा जोडिएको नाका पूर्ण रुपमा बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घनानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

दुबै नगरपालिकाका नगरप्रमुखले सीमा नाका बन्द भएको सामाजिक संजाल फेसवुक मार्फत पनि जानकारी दिनुभएको छ । पश्चिमको कैलालीबाट अत्यावश्यक काममा पैदल अथवा सवारी साधनमा आएको भएपनि क्वारेन्टाइनमा बस्नुपर्ने नगरप्रमुखले बताउनु भएको छ ।

ठाकुरबाबा नगरपाकिलाका नगरप्रमुख घननारायण श्रेष्ठले पुर्वपश्चिम राजमार्गमा पैदल होस् या सवारी साधन सबै बन्द गरिएको छ, बर्दियाको भुरिगाउँ हुँदै आम्बासा र कैलालीको कर्णाली चिसापानी नाका पूर्ण रुपमै बन्द गरिसकेको बताउनुभयो । अहिले राजमार्ग क्षेत्रमा प्रहरी र नेपाली सेना खटिएर चेकजाँचमा कडाई गरिएको छ ।

यसैगरी बर्दियाका प्रमुख जिलला अधिकारी प्रेमलाल लामिछानेले पनि थप चुनौती बढेसंगै पश्चिमको कैलाली र बर्दिया संगका सबै नाका बन्द गर्नुपर्ने बताउनुभएको छ । कैलालीसंग राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा जोडिएको छ ।
ठाकुरबाबा नगरपालिकाको भुरिगाउँदेखि कर्णाली चिसापानीसम्म २२ किलोमिटर पश्चिम कैलालीको लम्कीचुहा नगरपालिका पर्छ । लमकीका दुई जनामा कोरोनाको संक्रमण देखिएपछी उच्च सर्तकता अपनाउँदै नाका बन्द गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया