भारतबाट आएका नेपालीका लागि नेपाल–भारत सीमाको जमुनाह स्थित दशगजामा क्वारेन्टाइन बनाइएको छ । भारतबाट आएका नेपाली भारतमा बस्न नमानेपछि उनीहरुलाई दशगजामा क्वारेन्टाइन बनाएर राखिएको छ । जसमा विभिन्न जिल्लाका १ सय ८१ जनालाई राखिएको छ ।

त्यस बाहेक नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि १० बढीलाई क्वारेन्टाइनमा राखिएको छ । उपमहानगरपालिकाले १४ दिन पुगेका र रिपोर्ट नेगेटिभ आएकाले घर पठाउने गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिकामा २३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भरतबाट आएका नेपाली नागरिकलाई डुडुवा गाउँपालिकाले अस्थायी क्वारेन्टाइनमा राखेको छ । डुडुवा गाउँपालिका वार्ड नं. ६ हिरिमिनिया सिमा नाका उद्युमगन्जमा भारतबाट आएका २३ जना नेपालीलाई पोस्ट नजिकै टेन्टमा राखिएको छ ।

सो पोस्टमा स्थापना गरिएको हेल्थ डेस्कमा तिनीहरुको स्वास्थ्य परिक्षण गरि मास्क, सामान्य औषधी वितरण गरि तीन दिनदेखि टेन्टको अस्थायी क्वारेन्टाइनको व्यवस्था गरि राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो ।

तिनीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको विशेष पहलमा खाना, नास्ता, पानी लगायतको व्यवस्था गरिएको छ । पालिका अध्यक्ष चौधरीले तिनीहरुलाई भेटेर अवस्थाका बारेमा जानकारी लिनुभएको छ । ती नेपालीहरु दैलेख, सुर्खेत, सल्यान, गोर्खा लगायत जिल्लाका रहेका छन ।
तिनीहरुमा सामान्य ज्वरो, रुघाखोकी जस्ता कुनै पनि लक्षण नदेखिएपछि त्यही क्वारेन्टाइनमा राखिएको र घर पठाउनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेलाई समेत आवश्यक पहलसंगै जानकारी गराइएको अध्यक्ष चौधरीले बताउनुभयो ।
यसैगरि नयाँबस्ती नाकामा आएका दुई जनालाई सो स्थानमा स्थान्तरण गरिएको छ । गाउँपालिकासंग सिमा जोडिएको ३ वटा स्थानमा गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरि भारतबाट आएकाहरुको स्वास्थ्य परिक्षणको कार्य गर्दै आइएको छ ।
त्यस्तै, जानकी गाउँपालिकाको राधापुरमा २१ जना, नरैनापुरले झण्डै १ सय ५० जना रहेका छन् । सबैगरी बा“केमा झण्डै ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको संख्या घटबढ हुने गरेको छ । चेकजाँच पछि रिपोर्ट आएकाहरुलाई घर पठाइने गरेको हो ।








