महामारीको संकट ः

महामारीको रुपमा विश्वभर फैलिईरहेको नोबल कोरोना भाईरस (कोभिड—१९) रोगका कारण अहिले विश्व नै त्रसित एवं आक्रान्त अवस्थामा रहेको छ । विभिन्न माध्ययमबाट नेपालमा समेत यो रोगले प्रवेश पाईसकेको छ । यस महामारीबाट थप क्षति नहोस् भनेर नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सरोकारवाला निकाय र नागरिक समेतले आ—आफ्नो तर्फबाट दिनरात आवश्यक पहल गरीरहेको देखिन्छ सुनिन्छ ।

यसरी अनेकन प्रयासका बाबजुद पनि नेपालमा दिन प्रतिदिन विभिन्न किसिमका समस्याहरु देखापर्न थालेका छन् । जनता कफ्र्यू र यातायात सेवा बन्दका कारण नागरिकहरु घरबाट बाहिर जान र एकठाउँबाट अर्को ठाउँमा आउन जान पाईरहेका छैनन् । व्यापार व्यवसाय ठप्प छ । दैनिक रुपमा ज्यालादारी आफू र आश्रित परिवारको जीविकोपार्जन गर्ने मजदुर तथा आर्थिक रुपमा विपन्न बर्गका लागि विहान—साझँ पेटभरी खाने, औषधी उपचार गर्ने समेतको जटील समस्या देखा पर्दैछ । दैनिक उपभोग्य वस्तुको अभाव देखिदैछ । सवै सरकारी तथा सार्वजनिक निकाय बन्द अवस्थामा छन् । सेवाग्राहीले कुनै पनि प्रकारको सेवा लिन पाईरहेको अवस्था छैन ।


कुन बेला कस्लाई कोरोना भाईरसले आक्रमण गर्ने हो ? भन्ने चिन्ता बालक देखि जेष्ठ नागरिक लगायत हरेकको तन—मनमा छ । मनको बाघले सवैलाई दिन—रात सताईरहेको छ । दिन प्रतिदिन देखिने र सुनिने यस महामारी सम्वन्धी समचार र खबरले झन—झन चिन्ता थप्ने कार्य गरिरहेको छ । कहिले सम्म लकडाउन, क्वारेन्टाईन, आइसोलेशन आदिको नाम सुन्नु पर्ने हो अनिश्चित छ । समग्रमा यस महामारीको विश्वव्यापिकरणका कारण सुखी नेपाली, खुशी नेपाली र समृद्ध नेपालको नारा ओझेलमा परेको छ । यो हामी सवै नेपालीका लागि दूर्भाग्यको विषय हो ।


नागरिक कर्तव्य ः

वि.सं.२००७ साल देखि वि.सं.२०६२/०६३ साल सम्म विभिन्न कालखण्डमा विभिन्न नाममा भएका आन्दोन, जनआन्दोलन तथा विद्रोह मूलतः स्वतन्त्रता, अधिकार र समानताका लागि नै भएको देखिन्छ । अहिले पनि संविधान, कानून र राजनीतिक घोषणापत्रमा उल्लेखित अधिकारको उपभोग गर्नपाईएको छैन भन्ने जनगुनासो यद्यपि कायमै छ ।


पटक—पटक अधिकारको लागि लडाई भएकोमा हामी आफैले निर्माण गरेको संविधान र कानूनमा नेपाली नागरिकलाई स्वतन्त्र र स्वाभिमान बन्न सक्ने अधिकार दिएको छ । कार्यान्यवन गर्ने निकाय तथा पदाधिकारीले संविधान र कानूनको सही ढंगबाट परिचालन नगरेका कारण र शक्ति एवं सत्ताको दुरुपयोग गर्ने गरेका कारण मात्रै नागरिकले अधिकार एवं न्यायको अनुभूति गर्न नपाएका हुन् । नागरिकलाई वास्तविक रुपमा सार्वभौमसत्ता सम्पन्न बनाउन, न्यायको अनुभूति दिलाउन र नागरिकको सरकार छ भन्ने आभाष दिलाउनका लागि सत्ता, शक्ति र सेवाप्रदायक निकायमा रहेका जो कोहीले पनि आफ्नो कर्तव्य इमान्दारितका साथ निर्वाह गर्नुपर्ने देखिन्छ । यसतर्फ सवैको ध्यान आकृष्ट हुन आवश्यक छ ।


नेपालको संविधानको भाग—३ मौलिक हक अन्र्तगत धारा ४८ मा संविधान र कानूनको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने छ भनी नागरिक कर्तव्यको संवैधानिक व्यवस्था गरिएको छ । अधिकार र कर्तव्य एकअर्काका परिपूरक हुन् । कुनै पनि अधिकार प्राप्तिका लागि नागरिक कर्तव्य पनि निर्वाह गरेको हुनुपर्दछ । आजको यस संकटको घडिमा प्रत्येक नागरिकले आफ्नो लागि, आफ्नो परिवारको लागि, आफ्ना आफन्तको लागि, समाजको लागि र सिंगो राष्ट्रको लागि नागरिक कर्तव्य निर्वाह गर्नुपर्ने परिस्थिति सृजना भएको छ । आजको दिनमा सवैले आ—आफ्नो कर्तव्य पूरा गरी स्वतन्त्र देशको सभ्य नागरिकको परिचय दिने अवसर र चुनौती हाम्रा सामू छ ।


नेपालका तीनै सरकारले आफू सुरक्षित साथ घरमा नै वस्न भनी पटक—पटक अनुरोध गर्ने गरेको छ । हामी आफ्नो घरमा सुरक्षित साथ वस्यौं भने मात्रै पनि हामी आफू, आफ्नो परिवार र समाजलाई महामारीको कहरबाट सुरक्षित राख्न सक्छौं । यो हाम्रा आफ्ना लागि हो । जन्मे देखि नमरुन्जेल सम्म निर्वाद रुपमा चाहेको समयमा र चाहेको ठाउँमा आउन—जान पाईरहेको अवस्थामा केही दिन सुरक्षित साथ घरमा वस्नुपर्छ भनी गरेको आग्रहलाई हामी सवैले सहस्र स्वीकार गर्नु हाम्रो कर्तव्य हो । जीवन स्वस्थ रह्यो भने बाँकी जीवन हेर्न पाईने हो । तसर्थ राष्ट्र नै महामारीको संकटमा परेको समयमा केही दुःख कष्ट सहनु हाम्रो पनि दायित्व हो । तीनै तहको सरकार र स्वास्थ्यकर्मीले दिएको सल्लाह, सुझाव र निर्देशनलाई अक्षरशः अनुसरण गर्ने हो भने करोनाको संक्रमण बाट बच्न र वचाउन सकिन्छ ।


कुनै पनि समस्या र संकटको समयमा नआत्तिईकन संयमता अपनाउन जरुरी हुन्छ । भनिन्छ सुःखमा मात्तिनु हुदैन अनि दुःखमा आत्तिनु हुँदैन । अहिले हाम्रो देश मात्र होईन संसार नै शोकमा छ । यस्तो दुःख संकटको समयमा हामी सवैले केही दुःख, कष्ट भोगेर भएपनि सिंगो देशलाई साथ र सहयोग गर्नुपर्दछ । हाम्रो सानो सहयोग, सहकार्य र सद्भावले हामी सवैको भलो हुन सक्छ । तसर्थ हामी सवैले आ—आफ्नो तर्फबाट तीनै तहका सरकारका नीति निर्देशनको परिपालना गरौै, स्वास्थ्यकर्मीले दिने गरेको सल्लाह र सुझावलाई अनुसरण गरौं, आफू र आफ्नालाई सुरक्षित राखौं, अनुशासन र मितव्ययिता कायम राखौं, सभ्य नागरिकको पहिचान दिई हामी र हाम्रो देशलाई करोना भाईरसको थप जोखिमबाट वचाऔं । सवैलाई सम्झाना भया ।।

प्रतिक्रिया

प्रतिक्रिया