भारतबाट चोर बाटो हुँदै भित्रिन्छन् कामदार, सामान्य स्वास्थ्य जाँच गरि घर भित्रै बस्ने चिकित्सकको सल्लाह

कोरोना संक्रमणलाई मध्य नजर गर्दै भारतले गरेको लकडाउन पछि ज्यालादारीमा काम गरिरहेका नेपाली मजदूरहरु भारतको विभिन्न सहरबाट फिर्ता हुन थालेका छन् ।
सो क्रममा उत्तर प्रदेश सरकारले भारतको विभिन्न राज्यबाट उत्तर प्रदेशका लागि संचालन गरेको बस सेवामा कुनै प्रकारले बसेर नेपालका विभिन्न नाकामा आइपुगेका मजदूरहरुलाई ब्यवस्थापन गर्न सुरक्षा चुनौती हुँदै गएको पाइएको छ ।


बाँके नरैनापुर गाउँपालिकाले नरैनापुरमा स्थापना गरेको १० बेडको क्वारेन्टाइन र नेपालगन्ज स्थित संचालन गरेको ५० बेडको क्वारेन्टाइन भरिएको गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले बताए । हामीलाई ब्यवस्थापन गर्नमै समस्या उत्पन्न भइरहेको छ, नेपालगन्ज न्युज संग कुरा गर्दै, उनले भने, तरपनि नागरिक स्वास्थ्यलाई मध्य नजर योजनाहरु अघि बढाइएका छन् ।
नरैनापुर गाउँपालिकाले भारत संग जोडिएका सबै नाका गत शनिवारबाट नै सिल गरेको छ । भारतीय क्षेत्रमा कोरोना संक्रमण तीब्र रुप लिँदै गएपछि भारतीय क्षेत्रबाट हुने सबै आवागमन अनिश्चित समयका लागि रोकिएको हो ।


नरैनापुर गाउँपालिका भारतीय क्षेत्र श्रावस्ती र बहराईच संग प्रत्यक्ष जोडिएको र सो क्षेत्रमा कोरोना संक्रमित विरामी फेला परेको सूचना भारतीय स्वास्थ्य संस्थाले जारी गरेपछि सोही समय देखि सिमा क्षेत्रमा सुरक्षा निगरानी र सतर्कता बढाइएको हो ।


तरपनि, घर आउने कामदारलाई सरकारले रोक्न सकेको छैन । भारतको दिल्ली, पञ्जाब, महाराष्ट्र, हरयाना, मध्यप्रदेश, उत्तर प्रदेश लगायत राज्यबाट त्यहाँ काम गरि रहेका नेपाली नागरिक फर्कने क्रम जारी छ ।

आइतबार नरैनापुर गाउँपालिकाले ४२ जनालाई नेपालगन्ज स्थित क्वारेन्टाइनमा र ५४ जनालाई घरकै क्वारेन्टाइनमा ब्यवस्थापन गरेको छ । यसअघि १ सय ५० बढिको स्वास्थ्य जाँच गरि उनीहरुलाई क्वारेन्टाइन गरिएको थियो । भारतीय क्षेत्रबाट ५४ जनाको टोली आएको सूचना पाएपछि सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज विरेन्द्र बहादुर जिसीको कमाण्डमा रहेको टोलीले सबै कामदारको स्वास्थ्य जाँच गराउन स्वास्थ्यकर्मी बोलायो ।


नरैनापुर गाउँपालिका वडा नं.२ का अध्यक्ष मसूद अहमद शाह सहितको चिकित्सक टोली आइतबार साँझ ७ः२५ बजे नरैनापुर वडा नं.६ जयकिसान माविमा रहेका कामदारको स्वास्थ्य जाँच गर्न पुग्यो ।


हाम्रो काम भित्रिने कामदारलाई स्वास्थ्यको जिम्मा लगाउने हो, नेपालगन्ज न्युज संग कुरा गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीले भने, तर आवश्यकता बमोजिम भित्रिएका ब्यक्तिहरुको ब्यवस्थान हुन नसक्नु चुनौतीपूर्ण बन्दै गएको छ ।


कामदारहरु मुख्य नाका नभई विभिन्न भित्रीबाटो प्रयोग गरि आउन लागेकोले सुरक्षा चुनौती बढ्दै गएको इन्चार्ज बिसीले बताए । दिल्लीबाट ३ दिन अघि पैदल हिँडेका नरैनापुर ५ का मनिराम यादवले भने, त्यहाँ कम्पनी र काम सबै बन्द भएपछि फर्कनुको विकल्प थिएन ।
उनी संगै नरैनापुर ५ र वडा नं.६ का ५४ जना फर्किएका छन् । भारतमा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगि सकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया