गोली देखाएर कोरोना नियन्त्रण होला त ?

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले मँग गरेको प्रतिप्रश्नबाट झस्किएँ । राजनीतिक दलको जबर्जस्ती बन्द आव्हान जस्तो दिनभरि सन्नाटा हुने नेपालगन्जमा साँझपखको जात्रा (मेला भर्ने) देखेर आजीत भएकाहरुले नेपालगन्जमा कफ्र्यु माग गरिएको प्रसंगमा प्रजिअको प्रतिप्रश्न आफैमा स्वाभाविक हो, गोली देखाएर कोरोना नियन्त्रण हुँदैन ।


यतिबेला मुलुक घोषित लक डाउनमा छ । भनिन्छ, चीनबाट सुरु भएको संक्रमण झण्डै दुई सय मुलुकमा फैलिएको छ । कोरोनाले विश्वमैं उच्च संक्रमण र मृत्युदरको पीडा दिइरहेको इटली पनि पहिलो एक महिना नेपालकै अवस्थामा रहेको सम्बद्धहरुले उल्लेख गरिरहेका छन् । अहिले इटलीको अवस्था साँच्चिकै भयावह रहेको तथ्य सबैसामू छर्लगं छ । यस्तो बेला इटलीबाट नेपालले पाठ नसिक्ने ? भन्दै चौतर्फी चेतावनी दिइएको छ ।


कोरोना कहरले छिमेकी भारतमा आतंक मच्चाउन शुरु गरेपछि अहिले भारत २१ दिने लकडाउन अर्थात् तेस्रो चरणको संघर्ष गर्दैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको पछिल्लो आव्हानबाट भारतीयहरुले चेतेनन भने सम्हाल्न नसक्ने अवस्था आउने भन्दै घरमा बस्न अपील गरेपछि अहिले त्यहाँको सुरक्षा व्यवस्थानै आवागमन रोक्न र लकडाउन सफल पार्न उद्यत छ ।


त्यही भारतसँग जोडिएको बाँकेका भित्री नाकाबाट अहिले पनि लागुऔषध ओसार्नेहरु सक्रिय रहेको समाचार आउँछ । भित्री नाका रोक्न गरिएको प्रयास सफल देखिएको छैन । भारत पुरै लकडाउन छ, मानिसहरु भोकभोकै तीन दिनदेखि देश खोज्दै आएर सीमानामा बस्न बाध्य हुन्छन्, त्यो एकाध घण्टा होइन, २४ घण्टाभन्दा बढी समय ।


कोरोना प्रभावित देशबाट आएको भन्दै केही मानिसलाई खोजीखोजी क्वारेन्टाइनमा राखिएको छ । तर, त्यही कोरोना कहरले आक्रान्त मुलुक भारतबाट चैत लागे यता ५० हजार मानिस नेपालगन्ज नाका हुँदै स्वदेश फर्किएका छन् । जसको सामान्य अभिलेखसम्म छैन, ती सबै कहाँ कहाँ पुगे ? नेपाल भारत सीमानाको जमुनाह नाकास्थित प्रहरीको तथ्यांकमात्र हेर्ने हो भने, चैत्र ३ गतेदेखि ९ गतेसम्मको सातामा ४४ हजार ८०९ नेपाली मुलुक भित्रिएका छन् । त्यसपछिको २ दिनमा ११ सय नेपाली घर फर्किए । १४ जना अहिलेपनि (यो आलेख तयार गरुन्जेल) नाकामा टेन्टको बास बसेर राज्य संयन्त्रको नालायकीको मानवीय पीडा भोग्दैछन् । दुई दिनअघिनै त्यो नालायकी महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएकाहरु भागेर छरपष्ट पारेका थिए ।


सबीच मैले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कासँग सोधें,
सीमामा अलपत्र परेकालाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

सरकारले स्वदेश फर्कन मंगलवार अन्तिम पटक भनेको थियो । त्यसैले कसैलाई अहिले छिर्न दिएका छैनौं । भारतले रुपैडिहामा भएकालाई पठाउने भयो । त्यसको पनि व्यवस्थापन गर्नुपर्छ । अब बोलाउनै पर्छ नेपालीलाई । तर, यहाँ ल्याएर अब क्वारेन्टाइनमा राख्नुपर्छ ।

नेपालगन्जमा साँझपख देखिंदै आएको भिड कसरी व्यवस्थापन गर्ने होला ?

 स्थानीय अझै बुझ्न सकेनन् । यसको व्यवस्थापन कसरी गर्ने भनेर हामी भोलि छलफल गर्नेछौं । नागरिकमा बुझाईमा कन्फुसजन भयो कि जस्तो पनि लागेको छ । त्यसैले अब समय तोक्ने कि भन्ने सोचेका छौं । विहान ७ देखि ९ र साँझ ४ देखि ६ बजेसम्म अत्यावश्यक सामान खरिद गर्ने समय दिने भन्ने सोंच छ । त्यसरी तोक्दा पनि भीड नै भयो भने कफ्र्यु नै लगाउने हो ।
कफ्र्युमा गोली हान्ने समेत अवस्था हुनसक्छ । त्यो विभत्स अवस्था नआओस् भन्ने हो । मानिसहरुले नै बुझ्नु पर्ने हो भीड हुनुहुँदैन भन्ने । बारम्बार हामीले सञ्चारमाध्यम मार्फत पनि भनेका छौं ।

मैले राजनीतिक दललाई अनुरोध गरेको छु । जनप्रतिनिधिलाई पनि बारम्बार गुहारेको अवस्था हो । घरघरमा कोराना नपसी सद्बुद्धि आउला मान्छेमा भन्ने लागेन अब त ।
जनप्रतिनिधि, दलहरुसँग कोर्डिनेसनमा तालमेल मिलेन कि ?

कोर्डिनेसन जिल्ला प्रशासनले गरिरहेको छ । उपमहानगरपालिकासँग मिटिङ भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । सबै पालिकाका जनप्रतिनिधिसँग बसेका छौं । त्यही निर्णय बमोजिम नेपाल सरकारले लकडाउन गर्नु अघि नै नेपालगन्जलाई लक डाउन गर्ने निर्णय गर्यौं । प्रशासन अस्पताल, क्वारेन्टाइन, आसुलेसन सबैको व्यवस्था हेरेको छ, पुगेको छ ।

कमजोरी कहाँ छ त ?

लकडाउन भनेको चेतनाको अतिउत्तम विधि अपनाएको हो । भारतमा एक दिन प्रधानमन्त्री मोदीले बोल्दा देश ठप्प भयो । हाम्रो यहाँ नमानेको अवस्था हो कि भन्ने पनि छैन । दिउँसोमा सबै पसल बन्द छन्, औषधी पसल समेत खुलेको पाइँदैन । पालना नभएको होइन भएको छ । तर, यो दलहरुले बन्द गरेजस्तो भयो, अब खुल्यो भन्ने हुरुरु मान्छे घरबाट बाहिर निस्कने । त्यसैले अब मिटिङ बसेर कसरी जाने भन्ने निर्णय गर्नेछौं ।

कोहलपुरमा सयौं मोटरसाइकल नियन्त्रणमा लिइएको छ । वडा प्रहरीले पनि त्रिभुवन चोकबाट मोटरसाइकलका साँचो थुतेर ल्याइसकेको छ । त्यसैले अब समय तोक्छौं, अत्यावश्यक वस्तुको सामान खरिदका लागि । जतिखेर पनि होइन । त्यसपछि भोलिको स्थिति हेर्छौ । अनि ट्रक लिएर हिड्ने, अनि ट्रकमै हालेर ल्याउने हो ।

विदेशबाट आएकालाई फेला पारेर घरमा क्वारेन्टाइनमा राखेका छौं । भन्नुस्, प्रशासन कहाँ चुकेको छ । बल प्रयोग गरेर, हात खुट्टा भाँचेर, गोली देखाएर कोरोना नियन्त्रण होला त ? काउन्सिलिङको पाटो अझै नपुगेको हो कि, के भन्ने । जनप्रतिनिधिले पनि लाग्नुपर्छ । अश्रुँग्याँस हान्ने अवस्था होइन, कोरोनाको एन्टिवायोटिक भनेको नै सेल्फ क्वारेन्टाइन हो ।

प्रतिक्रिया

प्रतिक्रिया