कालोबजारी रोक्न खजुरामा अनुगमन

बाँकेको खजुरा गाउँपालिकामा कालोबजारी नियन्त्रणको उद्देश्यले आइतबार बजार अनुगमन गरिएको छ । खाद्यान्न र ग्याँस जस्ता अत्यावश्यक बस्तुको कालो बजारी हुन नदिन अनुगमन गरिएको हो ।


कोरोना भाइरसको जोखिमका बेला हुनसक्ने कालोबजारी गर्ने बिरुद्ध वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय र खजुरा गाउँपलिकाको संयुक्त टोलीले खजुरामा अनुगमन गरेको हो ।


खजुराका उपभोक्ताहरुबाट ब्यापक गुणासो आएका कारण बजारका खाद्य वस्तु र ग्याँस पसलहरुको अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले बताए । उनले अनुगमनका क्रममा खाद्यवस्तुहरुको उपभोग्य मिति सकिएको, मूल्यसूचि नराखेको, बिल नकाट्ने, खरिद बील नराखेर बिक्री बितरण गरेको पाइएको बताए । उनले ग्याँस पसलको अनुगन गर्दा ग्यास रहेको र ग्याँसको अभाव नदेखिएको बताए ।


आफूहरु निर्वाचित भैसकेपछि खजुरा बजार क्षेत्रको पहिलो पटक अनुगमन गरिएको खजुरा गाउँपालिका उपप्रमुख एकमाया बिकले बताइन् । उनले खाद्यवस्तु, ग्याँस र पेट्रालियम पदार्थको अभाव भयो भन्ने ब्यापक जनगुणासो आएकाले पहिलोपटक अनुगमन गरिएको बताइन् । खजुराबजार हेर्दा सबै कुराले पूर्णता पाएको र कुनैपनि कुराको अभाव नभएको भएतापनि जतिबेला देशलाई संकट पर्छ, समस्याहरु आउछन् त्यही मौका छोपेर ब्यापारीहरुले राज्यलाई सहयोग नगरि झन अभाव श्रृजना गरेर समस्या निम्त्याएको अनुगमनका क्रममा देखेको उप प्रमुख बिकले जनाइन् ।

‘कारवाही गर्छौ’


बाँकेको जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवले बिपत्तिको समयमा कसैले कुनै पनि किसिमको अभाव सृजना गरि कालोबजारी गरेको पाइए कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।


अध्यक्ष यादवले विषम परिस्थितिमा सम्पूर्ण गाउँपालिकाबासीमा अत्यावश्यक काम बाहेक घर देखि बाहिर ननिस्कन समेत आव्हान गरेका छन् । गाउँपालिकाले पालिका भित्र वडा नम्बर एक साइगाउ, वडा खजुरा गुलरिया सडग खण्डमा, गाउँपालिका कार्यालय र वडा नम्बर ६ को पिप्रहवा चोकमा हेल्प डेस्क स्थापना गर्ने र हरेक वडाको स्वास्थ्य चौकी वा वडा कार्यालयमा सोमबारदेखि स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क स्थापना हुने समेत जानकारी दिएका छन् ।

‘हामी कोरोनाको कारण त्रसित मात्रै हुने हैन हामिले त्यसबाट बच्न सतर्कता अभियान संगै तयारी गर्नुपर्ने कुराहरुमा हामी तयारी बस्नु पर्छ जसको लागि गाउँपालिका तयार छौं’, यादवले बताए ।
जानकी गाउँपालिकाले बिश्वभरी नै फैलिएको कोरोना भाइरसको संक्रमण नहोस भनेर सचेतना फैलाउने कार्य र हेल्प डेस्क स्थापना गरेर कार्य गरेको र सार्वजनिक बिदाका दिनमा समेत सो कार्यमा कर्मचारी खटाएर कोरोनाको विरुद्ध गाउँपालिका लाग्ने जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले बताएका छन् । गाउँपालिकाले आइतबारदेखि चैत्र २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया