बहराईचमा ४ जना कोरोना संक्रमित भेटिएपछि नागरिक आवागमन रोकियो
विनय दिक्षितको स्थलगत रिपोर्ट
कोरोना संक्रमणलाई मध्य नजर गर्दै नरैनापुर गाउँपालिकाले भारत संग जोडिएका सबै नाका आज शनिवार १० बजेबाट सिल गरेको छ । भारतीय क्षेत्रमा कोरोना संक्रमण तीब्र रुप लिँदै गएपछि भारतीय क्षेत्रबाट हुने सबै आवागमन अनिश्चित समयका लागि रोकिएको हो ।
नरैनापुर गाउँपालिका भारतीय क्षेत्र श्रावस्ती र बहराईच संग प्रत्यक्ष जोडिएको र सो क्षेत्रमा कोरोना संक्रमित विरामी फेला परेको सूचना भारतीय स्वास्थ्य संस्थाले जारी गरेपछि सिमा क्षेत्रमा निगरानी र सतर्कता बढाइएको हो ।
नागरिक आवागमन पूरै रोकिएको छ, दैनिक नेपालगन्ज संग कुरा गर्दै सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज विरेन्द्र बहादुर जिसीले भने, सिमा सुरक्षा कार्यालयबाट प्राप्त भएको निर्देशन बमोजिम कोरोना विरुद्ध सतर्कता अपनाइएको हो ।
नरैनापुर गाउँपालिकाको सुईया, बनियागाउँ, रोशनपुर्वा, घोडदौरिया, ककरदरी, रामपुर, शोनवर्षा सहितका नाकामा स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मीहरु परिचालित छन् । यसअघि स्वास्थ्य जाँच गरेर मात्र आवागमन गर्ने ब्यवस्थालाई हटाउँदै थप सतर्कताका लागि आवागमन रोकिएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीले बताए ।
भारतीय क्षेत्रको आवागमनले नागरिक स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्य नजर गरि सिमा क्षेत्रमा आवागमन ठप्प पार्नु परेको हो, दैनिक नेपालगन्ज संग कुरा गर्दै नरैनापुर स्वास्थ्य संयोजक मोइन खाँले भने, नागरिक स्वास्थ्य संग कुनै सम्झौता गर्न मिल्दैन ।
विश्वनै कोरोना विरुद्ध संघर्ष जारि गरिरहेका बेला नरैनापुर गाउँपालिकाको स्वास्थ्यकर्मीले गाउँ गाउँमा माइकिंग गरि संक्रमणबाट बच्ने तरिका बारे सुझाव दिइरहेका छन् । गाउँपालिकाले स्थानीय अवधि भाषामा ब्राउसर र पम्पलेट जारी गरि नागरिकलाई सचेत बनाउँदैछ ।
समय भित्रै सचेत रहन सकिएन भने यो रोगले निकै क्षति गर्न सक्छ, स्वास्थ्य उपचारमा लखनउ रहेका नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले भने, स्थानीय स्तरबाट हुन सक्ने हर सम्भव प्रयास गर्न स्वास्थ्यकर्मी, कर्मचारी र प्रहरीलाई आग्रह गरिएको छ ।
तत्कालका लागि भारतीय क्षेत्रबाट हुने सबै खाले आवागमन रोकिएको छ, प्रमुख शाहले भने, कोरोना विरुद्ध सबैको सहयोग आवश्यक छ ।
उत्तर प्रदेश राज्य सरकारले पनि चीनमा कोरोना देखा परे संगै भारतका हरेक नाकामा स्वास्थ्यकर्मी परिचालन गरि आवागमन गर्ने नागरिकको स्वास्थ्य स्थिति जाँच गर्दै आएको छ । भारतीय पक्षले पनि शनिवार विहानबाट नै सिमा क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरि आवागमन ठप्प पारेको छ ।
नरैनापुर क्षेत्रमा कोरोना संक्रमित विरामीका लागि क्वारेन्टाइन नभएपनि तत्कालै ब्यवस्थित स्थान सम्म पुर्याउ एम्बुलेन्स सहितको ब्यवस्था रहेको छ ।