कोरोना कहर : भित्री नाका बन्द, सीमामा पैदल मात्रै, ३ ठाउँ चेकजाँच [हेर्नुस् तस्विर]

नेपाल–भारत सीमाका जमुनाह नाका ठप्प जस्तै भएको छ । बाँकेको भारतसँग जोडिएको भित्री नाकाहरु बन्द गरिएका छन् । मुख्य नाका जमुनाहमा तीन ठाउँमा चेकजाँच गरिएको छ ।
सीमामा आवातजावत गर्ने यातायातका साधन बन्द गरिएको छ । मानिसहरु पैदल नै आवातजावत गरिरहेका छन् । दुवै तर्फ लाइन लगाएर चेकजाँच सुरु गरिएको हो ।

यसअघि भारत सरकारका स्थानीय अधिकारीहरुले नेपाली समकक्षीसँग आफ्ना नागरिकलाई भारत पठाउने सकेसम्म रोक्न आग्रह गरेका छन् । बाँकेको सीमावर्ती भारतीय जिल्ला बहराइचका जिल्ला अधिकारी शम्भु कुमार, प्रहरी प्रमुख विपिन कुमार सहितको टोली नेपालगन्जमै पुगेर ‘सकेसम्म मानिस नपठाउन’ आग्रह गरेका हुन् ।


दुई दिनअघि बर्दियाको ठाकुरद्वारामा भएको दुई देशका सीमा स्थित अधिकारीहरुको बैठकमा पुग्न नसकेका बहराइचका जिल्ला अधिकारी शम्भु कुमार उत्तरप्रदेशमा बढ्दो कोरोनाको संक्रमणपछि नेपालगन्ज आइपुगेका हुन् । सम्बद्ध स्रोतका अनुसार, सीमावर्ती रुपैडिहा चेकपोष्टको स्थलगत निरीक्षण गरी कोरोना भाइरसको संक्रमण, नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका बहराइच जिल्ला अधिकारी शम्भु कुमारले नेपालीहरुको थाम्नै नसक्ने भीड देखेपछि नेपाली अधिकारीहरुसँग भेट्न नेपालगन्ज आउने निर्णय गरेका थिए ।

‘दैनिक २० देखि ३० हजार मानिसले रुपैडिहा आवागमन गरिरहेका छन्’, भारतीय ती उच्च अधिकारीको दाबी थियो, ‘यो भिड रोकिएन भने भाइरस संक्रमण विरुद्धको प्रयासलाई सार्थक बनाउन सकिंदैन ।’ ती अधिकारीले नेपाली सुरक्षा अधिकारीसँग यतिसम्मको प्रस्ताव गरे कि, ‘दैनिक उपभोग्य सामानका कारण भोकमरी नै लाग्ने हो भने सीमावर्ती नेपाली भु–भागमा ठाउँ दिनुस् ती अत्यावश्यकीय सामाग्रीको छुट्टै पसल सञ्चालन गरिदिन्छौं ।’ त्यसो गर्दा रुपैडिहाकै दरभाउमा उपभोग्य सामान उपलब्ध गराउने सुनिश्चितताका लागि भारतीय व्यापारीसँग आफुले पहल लिने प्रतिबद्धता पनि भारतीय अधिकारीहरुले गरे ।


नेपालबाट भारत तर्फ जानै पर्ने मानिसलाई अनिवार्य चेकजाँच गरेर पठाउन र भारतबाट आएकाहरुलाई सीमामै चेकजाँच गरेर प्रवेशको व्यवस्था मिलाउन पनि दुई देशका समकक्षी अधिकारीहरु बीच सघन छलफल भयो । अनौपचारिक रुपमा एक्कासी नेपालगन्जको एउटा होटलमा आएका भारतीय उच्च अधिकारीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी प्रमुख वीर बहादुर ओली, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतलाई निम्त्याएका थिए ।


‘नाकाको अवस्था देखेपछि अत्तालिएका डिएम गम्भीर ढंगले समाधानका लागि नेपाली अधिकारीलाई भेट्न नेपालगन्ज पुगेका हुन्’, एक भारतीय पत्रकारले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्ज–रुपैडिहा नाका साँच्चिकै कुनै संक्रमणपछिको पूर्व सतर्कता अपनाएको पटक्कै लाग्दैन ।’ भारतीय अधिकारीले नेपाली समकक्षीसँग निकै चिन्ताजनक ढंगले प्रस्तुत भएपछि तत्कालैदेखि नाकामा नियमन कडाईको सहमति जनाइएको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काका अनुसार, नेपालगन्ज नाका बाहेकका सबै अनौपचारिक नाकाहरु बन्द गरिएका छन् । नेपालबाट जाने सवारीसाधनहरु अब सीमापार जान पाउने छैनन् । ‘जुन साधन जहाँ छ त्यही रोक्न निर्देशन दिइएको छ’, प्रजिअ खड्काले दैनिक नेपालगन्जसँग भने, ‘पारिबाट पनि कुनै सवारी साधन आउने छैनन् ।’ यो निर्णयसँगै नेपालगन्जबाट दिल्ली, लखनउ लगायतका सहरमा सिधा आवागमन गर्ने यात्रुवाहक बसहरु अर्को निर्णयसम्मका लागि रोकिएका छन् ।


‘अबबाट दशगजामै टेन्ट लगाएर चेकजाँच गरेपछि मात्रै नेपाल प्रवेश गर्न पाइनेछ’, बाँकेका प्रहरी प्रहरी उपरीक्षक वीर बहादुर ओलीले दैनिक नेपालगन्जसँग भने, ‘अननेसेसरी मोमेन्टलाई रोक लगाइएको छ ।’ थप जनशक्तिको व्यवस्थापन मिलाएर सम्पूर्ण आवागमन गर्ने मानिसहरुको चेकजाँच गरिने उनको भनाइ थियो । ‘सीमापारी भारतले गर्ने चेकजाँच र हामीले गर्ने चेकजाँचको तथ्यांक मिल्ने गरी व्यवस्था मिलोस् भन्नेमा गम्भीर छौं’, प्रहरी उपरीक्षक ओलीले त्यसका लागि सुरक्षाकर्मीले सहयोग गर्ने बताए ।

सबै तस्विर ः भगतराम थारु

प्रतिक्रिया

प्रतिक्रिया