नरैनापुरमा कोरोना विरुद्ध सून्य सतर्कता

तस्वीरमा ः
भिडयुक्त कुनै कार्यक्रम नगर्न सरकारी निर्देशनका विपरीत गाउँपालिका प्रमुख शाह समेतको सहभागितामा आयोजित एउटा सामुदायिक वनको साधारण सभा । सभामा कम्तिमा एक हजार ब्यक्ति सहभागी थिए । खुला सिमानाका कारण यहाँबाट भारत जाने आउने कुनै रोकतोक वा चेकजाँच छैन । (तस्वीरः दैनिक नेपालगन्ज)

भारत संग सिमा जोडिएका नाकाहरु स्वास्थ्यकर्मी विहीन

विश्वनै कोरोना विरुद्ध संकटकाल घोषणा गरिरहेका बेला भारत संग प्रत्यक्ष सिमा जोडिएको बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा कुनै सतर्कता देखा परेन । भारतको उत्तर प्रदेश राज्यमा ८ जना कोरोना संक्रमित फेला परेको भारतीय स्वास्थ्य संस्थाले सूचना जारी गरि रहँदा उत्तर प्रदेशको श्रावस्ती जिल्ला संग प्रत्यक्ष आवागमन हुने नाकाहरु स्वास्थ्यकर्मी विहीन छन् ।
नागरिक माझ कोरोना त्रास पाइयो, नरैनापुर क्षेत्रमा अधिकाँश ब्यक्तिहरु उपभोग्य सामाग्री किनमेल वा औषधी उपचारका लागि भारत जाने तथा विहेवारी सम्मको सम्बन्ध भारतीय क्षेत्र संग रहेको छ ।

उत्तर प्रदेश राज्यले चीनमा कोरोना देखा परे संग भारतका हरेक नाकामा स्वास्थ्यकर्मी परिचालन गरि आवागमन गर्ने नागरिकको स्वास्थ्य स्थिति जाँच गर्दै आएको छ । बाँकेको मुख्य नाका नेपालगन्ज रुपईडिहा खण्डमा स्वास्थ्यकर्मी परिचालन भएपनि अन्य साना नाकाहरुमा अझै स्वास्थ्यकर्मीको पहुँच हुन सकेको छैन ।

नरैनापुर गाउँपालिकाको मुख्य भारतीय नाका सुईया, रोशनपुर्वा, घोडदौरिया, ककरदरी र भगवानपुर नाका स्वास्थ्यकर्मी विहिन अवस्थामा छन् । स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरु कोरोना विरुद्धको तयारीमा सक्रिय छैनन् । यद्यपि नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खानले सुईया नाकामा हेल्थ डेस्क संचालन गरि नागरिक आवागमन निगरानी भइरहेको बताएका छन् । ‘हामीले आइतवार सम्म १ हजार २ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरेका छौं,’ स्थलगत पुगेको दैनिक नेपालगन्ज संग कुरा गर्दै संयोजक खानले भने, ‘सोमवार साँझ सम्म ५ सय १२ जनालाई चेकजाँच गरिएको छ ।’

अन्य नाकाहरु स्वास्थ्य परीक्षणका लागि छलफल भइरहेको र एउटा समिति मार्फत थप स्वास्थ्य कर्मी परिचालनको तयारी रहेको खानले बताए । ‘नेपालगन्जमा पनि उपचारका लागि खासै ब्यवस्था छैन’, उनले भने, ‘जागरुकता र सरसफाई मार्फत भाइरस नियन्त्रणको प्रयास भइरहेको छ ।’ पाँच वटा विभिन्न नाका मध्ये सुईयामा मात्रै स्वास्थ्य परीक्षण अघि बढाइएको बारे प्रष्ट पार्दै खानले भने, स्वास्थ्य परीक्षण पछि कुनै शंका लागेको खण्डमा तत्कालै एम्बुलेन्स मार्फत नेपालगन्ज पठाउने स्तरको तयारी रहेको छ ।

स्वास्थ्य संयोजक खानले स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्यकर्मी खटिएको जानकारी दिइरहँदा सुईया नाका दिउँसो स्थलगत पुगेको संवाददाताले कुनै स्वास्थ्यकर्मी फेला पारेनन् । सिमा क्षेत्रमा भारतीय स्वास्थ्यकर्मी फेला परेपनि नेपाली क्षेत्र शुन्य देखा पर्यो ।

‘हामी स्वास्थ्यको विषयमा संवेदनशील छौं,’ दैनिक नेपालगन्ज संग कुरा गर्दै गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले भने, ‘अब सबै नाकामा स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाउन स्वास्थ्य संयोजकलाई निर्देशन दिइएको छ ।’

नरैनापुर क्षेत्रमा कोरोना संक्रमित विरामीका लागि क्वारेन्टाइन नभएपनि तत्कालै ब्यवस्थित स्थान सम्म पुर्याउने ब्यवस्था रहेको छ, स्वास्थ्य चौकी मटेहियाका इन्चार्ज प्रेम बुढाले भने, हाल सम्म यस क्षेत्रमा कुनैपनि ब्यक्तिमा कोरोनाको लक्षण देखा नपरेकोले थप ब्यवस्थापन हुन सकेको छैन ।

यद्यपि जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोना विरुद्धको सतर्कताका लागि आवश्यक सचेतना थालेको छ, । इलाका प्रहरी कार्यालय भगवानपुरले विदेशी नागरिक आवागमनमा कडाई गरिएको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया