‘उनी झोला टिपेर हिडे । मानौं कुनै बैठकमा आएका थिए । बैठक सकियो र हामीसँग विदा भए । मानौं विवाह भएकै छैन ।’ यी शब्दहरु पढ्दा मलाई वि.स. २०४७ तिरको याद आइरहेको छ । मैले पहिलो पटक क्रान्तीकारी विवाह देखेको थिएँ २०४७ सालमा । सानै उमेरमा देखेको यो विवाह मलाई पछिसम्म अनौठो लागेको थियो । लालटिनको उज्यालोमा कृतिभित्रका यस्तै खाले अंशहरु पढ्दै गर्दा कयौं प्रसङ्गहरु अनौठा लागिरहेका छन् ।
नेपालगन्जमा आयोजित एक पुस्तक चर्चा कार्यक्रममा सरस्वती ज्ञावलीको लालटिनको उज्यालोमा कृतिको बारेमा केही बोल्नै पर्ने थियो । अफिसको कार्य व्यस्तताले कार्यक्रममा उपस्थित हुन छेके पनि कृति पढ्न भने छेक्न सकेन । कृति पढ्दै गर्दा दर्जनांै जिज्ञासाहरु मनमा उब्जिए जसले केही लेख्न घच्घचाए ।
‘आकाशका तारा झारी दिन्छु’ भन्ने प्रेमीले बिहेपछि ‘बङ्गारा झारी दिन्छु’ भन्दै छोडपत्र गरेका कति घटनाहरु देखेको छु मैले । एक अर्कालाई मन पराएर, तामझामका साथ गरिने विवाहहरु समेत सम्बन्ध विच्छेदसम्म पुग्ने गरेका छन् हाम्रो समाजमा । पुस्तक पढ्दै गर्दा राजनीतिले जुटाइदिएको वैवाहिक जोडी भन्ने प्रष्ट देखिन्छ सरस्वती ज्ञवालीको । जुन विवाह युगयुगान्तरका लागि गरिएको पार्टीको निर्देशन अनुसार गरिएको उल्लेख छ ।
लालटिनको उज्यालोमा एउटा आँटिली र स्वाभिमानि महिलाको आत्म कथा हो । जसले क्षमतावान, कुशल राजनैतिक लिडर, शिक्षित महिला हुँदाहुँदै पनि पारिवारिक जिम्मेवारी र श्रीमान्को राजनैतिक यात्राका लागि आफ्नो राजनीतिक यात्रालाई विश्राम दिएकी छिन् ।
नेता या मन्त्रीका श्रीमतीहरुको पनि आफ्नो स्वाभिमान हुन्छ । सबैका खुशी आ आफ्नै किसिमका हुन्छन् । कोही धन दौलतमा खुशी हुन्छन् भने कोही आत्म सन्तुष्टिमा । आत्म कथाकी पात्र सरस्वती धन, दौलत र आत्म सन्तुष्टिमा भन्दा पनि परिवार र श्रीमान्को खुशीमा सुखी देखिन्छिन् ।
राजनैतिक परिवारभित्र बसेर श्रीमान् र उनको परिवारका लागि बाँकी जिन्दगी बिताउने निर्णय गरेकी सरस्वतीले पुस्तकभित्र धेरै कुरा लेखेकी छिन् । उनको मनभित्र गुम्सिएर रहेका कुराहरु र विभिन्न बाध्यताले राजनीतिमा गुमनाम कार्यकर्ता बन्नुको पीडा यो पुस्तकमा देख्न सकिन्छ । नेपाली समाजको विकासक्रम र संस्कार सभ्यताको परिवर्तन र नेपाली महिलाहरुले भोगेका अन्धकार र पिडादायी परिस्थितिहरु हेर्दा नारी चेतना र जागरणका लागि उनले दिएको योगदान पठनीय र प्रशंसायोग्य रहेको पाइन्छ ।
उनको परिवार राजनीतिक परिवार हो । राजनीतिक यात्रा कै क्रममा उनको वैवाहिक जीवन गाँसिन पुगेको थियो । राजनीतिमा अटुट लगाव हुँदाहुँदै पनि परिवार र सन्तानका लागि पर्दा पछाडि बसेकी सरस्वतीले आफ्नो इच्छा र अभिलाषा पुरा गर्ने रहर कहिल्यै नगरेको कुरा पुस्तकमा प्रष्ट देख्न सकिन्छ । परिवार र श्रीमान्का लागि आफ्नो व्यक्तित्वको विकास गर्न छोडेर पर्दा पछाडि बस्ने अठोट गरिन् । घर परिवार सम्हाल्दै आर्थिक प्रतिकुलताको सामना गर्नका लागि अनेक संघर्ष गरिन् । शिक्षण, सिलाइ बुनाइ, बैंकर लगायत सानातिना कामहरु गर्दै जीवन चलाएको कुरा पुस्तकभित्र पढ्न सकिन्छ ।
पञ्चायती कालमा राजनीति गर्नु भनेको राजद्रोह हुन्थ्यो । प्रतिकुल अवस्थामा ज्यान हत्केलामा राखेर संगठनको काम गर्ने हिम्मत जुटाउनुपर्ने अबस्था थियो । यस्तो अवस्थामा एउटा गाउँले परिवेषमा हुर्किएकी नारी देश र जनताको लागि महिला सचेतना र पार्टी प्रशिक्षणमा लाग्नु आपैmमा चानेचुने कुरा होइन । त्यो साहास र आँट सरस्वती ज्ञवालीको रहेको पाइन्छ पुस्तकभित्र ।
अबस्था फेरिएको छ । पञ्चायती कालमा अनेक दुःख कष्ट सहेर यो अवस्थामा आइपुगेकी सरस्वतीलाई वर्तमान समयमा आफ्नै पार्टिभित्र जरो गाडेर बसेका स्वार्थी व्यक्तिहरु देख्दा कस्तो कस्तो लाग्छ । पुरानो परिस्थितिमा साथ र सहयोग नगर्नेहरु श्रीमान् मन्त्री बनेपछि स्वार्थसिद्धमा लागिपरेको कुरा उल्लेख गरेकी छिन् सरस्वती ज्ञवालीले । ‘राजनीतिमा लागेका सहयात्री साथीहरुमा अनुशासन र पार्टीप्रतिको आस्था देख्दा दिक्क लागेर आउँछ । राजनीतिमा लागेर सँगसँगै आन्दोलन गरेका र भूमिगत राजनीति गरेका क्रान्तिकारी साथीहरुमा पहिले जस्तो हार्दिकता, माया ममता नदेख्दा दुख लाग्छ ।’ उनले आफ्ना अनुभवहरु यसरी व्यक्त गरेकी छिन् लालटिनको उज्यालोमा ।
‘लालटिनको उज्यालोमा’ परिवर्तनको प्रतीक जस्तो लाग्छ । विशेषगरी नेपाली परिवेष, परम्परा र संस्कृति एवम् संस्कारका साथसाथै राजनैतिक चेतनाका लागि उनले गरेको योगदान महत्वपूर्ण देखिन्छ । पुस्तकभित्रका सबै दुःख र पीडालाई प्रेमले जितेको प्रष्ट देखिन्छ ।
सरस्वती ज्ञवाली तत्कालिन समयकी भूमिगत कार्यकर्ता थिइन् । उनले समाज परिवर्तनका लागि दिउसै लालटिन बालेर बिरोध जनाएको प्रसङ्ग पुस्तकमा समेटेकी छ । स्कुल पढाएर दश महिना तलब नपाएपछि झगडा नगरी दिउसै लालटिन बालेर मौन विरोध गरेको प्रसङ्गले निकै भावुक बनाउँछ ।
हाम्रो समाज पितृसतात्मक समाज हो । नारी र पुरुष बिचको विभेद अभैm कायम छँदैछ । समाज परिवर्तन, कुसंस्कार, कुरितिका लागि कतै खुला रुपले आवाज उठाएकी छन् भने कतै मौन तरिकाले विद्रोह जनाएकी छिन् । कतै उग्र महिला बनेकी छिन् भने कतै कोमल । कतै कुशल राजनीतिज्ञ जस्तै देखिन्छिन् भने कतै कुशल गृहिणीको भूमिकामा आपूmलाई उभ्याएकी छिन् सरस्वती ज्ञवालीले ।
राजनिती भनेको राज्य सञ्चालन गर्ने नीति हो । एक कुशल राजनीतिज्ञले मात्र राम्रो नीति बनाउन सक्ने कुरा उल्लेख गर्दै उनले पुस्तकभित्र बालविवाह, बहुविवाह, चेलिबेटि बेचबिखन, लैङ्गिक विभेदको बारेमा खुलेर विरोध गरेकी छन् । लालटिनको उज्यालोमा उनी लेख्छिन् ‘त्यति बेलाको समाजलाई पनि थाहा थिएन होला कि विवाह के का लागि भनेर ? उनीहरुका लागि त विवाह खाली घरमा बिना तलब काम गर्ने इमान्दार, एउटा असल र वफादार घरपालुवा जीव भित्राउने उत्सव । जतिबेला पनि बिना कुनै हिच्किचाहट इच्छा पूरा गर्न पाउने एउटा स्वास्नी लिएर आउने रीत मात्रै ।’
पुस्तकमा महिलाहरुको पीडालाई उनले खुलेर लेखेकी छिन् । एकातिर राजनैतिक कार्यकर्ता हुँदा समाजको उनीहरुप्रति हेर्ने नजरलाई बढो मिहिन ढंगले उतारेकी छिन् भने अर्कोतिर ठूलीआमाको प्रसङ्ग जोड्दै तमाम एकल महिलाको पक्षमा उभिएकी छिन् । छ वर्षमा विवाह भइ लोग्नेको अनुहार नचिन्दै विछोड भएकी ठूली आमाले लोग्ने फर्कने आशामा जीवन बिताउनु परेको र उमेरसँगै आउने परिवर्तन र जवानीलाई दबाएर बस्नु परेका प्रसङ्गहरु पढ्दा मन रसाउँछ ।
सतित्व जोगाउने नाममा महिलामा माथि गरेको अन्याय, अत्याचार र दमन देख्दा लेखकको मन कुँडिएको छ । यो समाजका बुजु्रकहरु र धर्मका ठेकेदारहरुसँग उनको प्रश्न छ एउटी महिलाले जस्तै एउटा पुरुषले आफ्नो जीवन खर्चन सक्छ ? श्रीमती मरेको वर्ष नपुग्दै अर्की ल्याउने पुरुषले महिलाका लागि यस्तो नियम किन बनायो ? समाजले बनाएको नियम र धर्मले अल्झाएको बन्धन महिलाका लागि मात्र हो ? कतै ईश्वर छ भने महिला र पुरुषसम्मका लागि नियम समान हुनुपर्ने होइन र ? कहिलेसम्म टिक्ने यो चलन, संस्कार र संस्कृति ? अब त सचेत नारीहरुले समानता र समताका लागि आवाज उठाउने बेला भएन र ? उनी प्रति प्रश्न गर्न चाहान्छिन् ।
पुस्तकभित्र लेखकले फुस्रो र आडम्बरी सान्त्वना दिने पुरुषहरुप्रति दया लागेको बताउँछिन् । ‘सरस्वती मिस, प्रदीपजी त अभैm आउनु भएन त, क्या हो ? कतै मारिनु त भएन ? पीर नगर्नुस्, मारिए पनि शहीद पत्नी भइन्छ’ भन्दै आफ्नो संवेदनासँग भद्दा मजाक गर्ने, आँट भरोसा दिनुपर्ने साथीहरुबाट नै मनोबल गिराउने शब्दहरु प्रयोग गर्दा मन खिन्न हुने गरेको तर आपूmले आपूmलाई कत्ति पनि डगमगाउन नदिएको कुरा उल्लेख गरेकी छिन् पुस्तकभित्र ।
गन्हाएर बाँच्नुभन्दा मजदुर भएर आधा पेट खानुमा गर्व ठान्छिन् उनी । ‘धन कमाउनेले पनि मर्दा आर्यघाटमा ओढ्ने कात्रो मात्र लिएर जान्छन् ’ वर्तमान् समयमा पैसाका लागि भ्रष्ट बनेका नेताहरु र अख्तियारको फन्दामा परेका भिआइपी र कार्यकर्ताहरु प्रति पनि ठूलो झटारो हानेकी छिन् सरस्वती ज्ञवालीले ।
‘लालटिनको उज्यालोमा’ पढ्दै गर्दा छोरी क्षितिजको जन्म र सासुआमाको मृत्यु पछि उनको संसार साँघुरो बनेको देखिन्छ । एउटी आमा जसले पहिलो सन्तानबाट आमा शब्द सुन्न नपाएकोमा दुखेसो छ उनलाई । अपाङ्ग छोरीको जन्मका कारण मुटु घोच्ने शब्द पचाएकी छिन् । आँशुको घुट्कोसँगै कैयौ अपमान सहेकी छिन् । छोरी अपाङ्ग हुनु पीडा त छँदैछ त्यसमाथि अपाङ्ग छोरी जन्माउनुको दोष खेप्नुपर्दा निकै दुखित देखिन्छिन् ।
‘लालटिनको उज्यालोमा’ कृतिभित्रका पानापानामा सरस्वती ज्ञवालीको दिमाग मात्र नभएर मुटु पनि बोलेको छ, ह्दय पग्लेको छ, सामाजिक अन्याय र अत्याचारका लागि विद्रोहको ज्वाला दन्केको छ । पुस्तकमा उनले पढाइ, विवाह, जागिर, समाज र समाजमा जेलिएका विभिन्न कुसंस्कारसँग बिद्रोह गर्दा आपूmले पाएका थुप्रै आरोह अवरोहहरुलाई मिठो र सरल तरिकाले समेटेकि छिन् । यस कृतिभित्र थुपै्र कथाहरु छन् जुन कथाहरु राजनीति गर्नेहरुका लागि ऐतिहासिक दस्तावेज र अन्य पाठकहरुका लागि उत्प्रेरणाको स्रोतका रुपमा रहेको पाइन्छ ।
‘लालटिनको उज्यालोमा’ कृति एउटी आमाको कथा हो, जागिरे महिलाको कथा हो । हो एउटा राजनैतिक कार्यकर्ताको कथा हो । आफ्ना पति प्रदिप ज्ञवालीको प्रगति, सफलता र खुशीका लागि आफ्नो राजनीतिक जीवनलाई तिलाञ्जली दिएकी श्रीमतीको कथा हो । श्रीमान् सफल हुनुमा श्रीमतीको कति हात हुन्छ भन्ने कुरा यो कृति पढेपछि प्रष्ट हुन्छ ।
वि.स.२०७४ सालमा प्रकाशन भएको यो कृति एक वर्षको अवधिमा नै पाँचौं संस्करणसम्म प्रकाशित भएको कृति हो । पुस्तकभित्रका सानातिना कमि कमजोरीहरुलाई नजर अन्दाज गर्ने हो भने यो सफल र उत्कृष्ट कृतिको रुपमा रहेको आत्म कथा मान्न सकिन्छ । प्रायः आत्म कथालाई रोचक बनाउन अपत्यारिला घट्नाक्रम जोड्ने जुन प्रचलन रहेको छ । त्यस्तो प्रचलनबाट यो कृति अछुतो रहेको जस्तो लाग्छ । आत्मकथा साँच्चिकै उत्कृष्ट छ । पुस्तक प्रकाशन गरि आफ्नो योग्यता र क्षमता प्रस्तुत गर्नुभएकी सरस्वती ज्ञवालीलाई निरन्तर लेखनको कामना सहित बधाइ ।








