नेपालगन्जले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु जन्माएको छ । तर, ती खेलाडीका लागि नियमित प्रशिक्षण, अभ्यास र प्रतियोगिताका खेल मैदान भने छैन । हालसम्म मंगल प्रसाद माविको खेल मैदानमा प्रतियोगिता हुने गरेको छ । नेपालगन्जमा खेल मैदान नभएपछि मापदण्ड अनुसारको नभए पनि मंगलमै बेलाबेखत प्रतियोगिताहरु हुने गरेको थियो । विद्यालय मातहत रहेको उक्त खेल मैदानमा विद्यार्थीहरुको अध्ययनमा बाधा हुने भन्दै बेलाबखत प्रतियोगिताका लागि अनुमति पनि दिइँदैनथ्यो ।
मंगल प्रसाद माविमा नेपालगन्ज उपमहानगरपालिकाले छात्रा कलेज बनाउँदै छ । जसका लागि टेण्डर भएर काम अघि बढिसकेको छ । छात्रा कलेज बनिसकेपछि उक्त मैदान थप साँघुरो हुनेछ । छात्रा कलेज बन्ने भएकाले प्रतियोगिता र अभ्यासका लागि मैदान पाउन कठिन हुने निश्चित छ ।
नेपालगन्जमा फुटबलका लागि अन्तर्राष्ट्रिय स्तरको भव्य मैदान रहेको छ । कर्बड हल, स्विमिङ्ग, भारोत्तोलन, सुटिङ्ग जस्ता खेलका लागि पूर्वाधार बनिसकेका छन् । तर, क्रिकेटका लागि भने मैदान छैन । त्यसैले नेपालगन्ज उपमहानगरपालिकाले क्रिकेट मैदानका लागि जग्गा खोज्नका लागि कार्यदल बनाएको छ ।
उपमहानगरपालिकाले क्रिकेट मैदानका लागि जग्गा खोज्न वडा नं. २ का वडाध्यक्ष सुनिल सिंह हमालको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले नगर क्षेत्रमा रहेको सरकारी जग्गाहरु पहिल्याउँदै मैदानका लागि वडा नं. ६ मा रहेको जग्गा उपयुक्त हुने टुङ्गो लगाएको थियो । लामो समयदेखि विवादित रहेको फुल्टेक्राको १० विगाह भन्दा बढी जग्गामा सरोकारवाला पक्षहरु बीच छलफल गरेर कार्यदलले सहमति जुटाएको हो । कार्यदलका संयोजक हमालले फुल्टेक्रा खाली रहेको कुल १० विगाह ५ कठ्ठा २ धुर जग्गा मध्ये ५ विगाह क्रिकेट मैदानका लागि छुट्याउने सहमति जुटेको जानकारी दिएका छन् । ‘३ विगाह कर्बला र बाँकी जग्गा वडा कार्यालय, हिन्दु, फराकिलो बाटो र पार्किङ्गका लागि उपयोग गर्ने सहमति भएको हो’, उनले भने । क्यानका पूर्व केन्द्रीय सदस्य समेत रहेका हमालले विभिन्न पक्षले दाबी गरिरहेको जग्गामा सहमति जुट्नुलाई ठूलो उपलब्धीको रुपमा लिएको बताएका छन् । ‘खेलले सबैलाई जोड्न सफल भएको छ’, हमालले भने ।
‘१० विगाह जग्गामा प्रस्तावित नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र कर्बला हिन्दुहरुको आस्था राख्ने संरचना निर्माण हुँदा खेलसँगै धार्मिक सद्भावको सन्देश समेत दिन सकिन्छ’, संयोजक हमालले भने, ‘उक्त स्थानलाई आन्तरिक र बाह्य पर्यटनको आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना प्रशस्त छ ।’
हमालको नेतृत्वमा वडाध्यक्षहरु वीरेन्द्र शाह, मो. अयुव सिद्दिकी, सफिक बेहना, समिरप्रताप सिंह, कैफुलबरा जोलाह र कार्यपालिका सदस्य इन्दिरा शाही सदस्य रहेको कार्यदलले गरेको प्रस्ताव नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ । ‘क्रिकेट मैदानका लागि सबैभन्दा पहिलो काम जग्गा खोज्नु हो’, हमालले भने, ‘अब जग्गा कार्यपालिका बोर्डले गरेको निर्णय बमोजिम सरकारबाट प्राप्त गर्न पहल थाल्नुपर्छ ।’
क्रिकेट मैदानका लागि खोजिएको जग्गा खाल्टो रहेको छ । जसमा माटो पटानको काम गर्न आवश्यक छ । ‘माटो पटानका लागि पनि बजेट व्यवस्था भएको छ’, वडाध्यक्ष हमालले भने, ‘प्रदेश सरकारबाट खेलमैदानका लागि प्राप्त भएको १ करोड रुपैयाँ उक्त मैदानमा माटो पटानका लागि प्रयोग गरिनेछ ।’
वडाध्यक्ष हमालले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउनु ठूलो योजना भएका त्यसका लागि नेपालगन्जबासीले एकमत बनाएर पहल थाल्नुपर्ने बताएका छन् । ‘सबै मिलेर अगाडि बढ्ने हो भने क्रिकेट मैदानको सपना साकार पार्न सकिन्छ’, उनले भने, ‘त्यसका लागि म निरन्तर लागिरहने छु ।’