सुरु भयो ‘सुपरमार्केट’, ‘सीमापारी जानुपर्ने अवस्थाको अन्त्य’

१ सय ५० करोड बढी लगानीमा नेपालगन्जमा अत्याधिक सुविधा सम्पन्न सुपर मार्केट ‘भाटभटेनी’ शुक्रबारबाट सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङ्गले वैदिक परम्परा अनुसार पुजा अर्चना गरेर सुपरमार्केटको १८ औं शाखा सञ्चालन शुभारम्भ गरेका हुन् ।


मुलुककै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधा सम्पन्न भाटभटेनीको नेपालगन्ज शाखा शुभारम्भ सँगै हजारौं उपभोक्ताहरुले आधुनिक सुपरमार्केटबाट सपिङ्गको अनुभव लिए । ‘विराटनगर र भैरहवाको अनुभवबाट नेपालगन्ज शाखालाई थप अत्याधुनिक र भव्यता दिइएको छ’, भाटभटेनीका अध्यक्ष गुरुङले शुभारम्भ लगत्तै सञ्चारकर्मीसँग भने, ‘यो उपभोक्ताहरुको आफ्नै पसल हो, हामी माध्यम मात्र हौं ।’


अध्यक्ष गुरुङ्गले नेपाली ग्राहकहरुलाई सीमापारी जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सीमावर्ती बजारलाई लक्षित गरिएको बताए । ‘भारतका कम्पनीहरुबाटै विशेष दररेटमा सामान आयात गरिएकाले रुपैडिहा भन्दा निकै सस्तो दरमा हामी उपलब्ध गराउने गरेका छौं’, अध्यक्ष गुरुङ्गले दैनिक नेपालगन्जसँग भने, ‘ढुक्कसँग आउनुस्, सीमापारी भन्दा सस्तो, सहज र सफा सुपरमार्केटबाट अन्तर्राष्ट्रिय स्तरको सपिङ गर्नुस् ।’


‘सीमापार रुपैडिहा भन्दा बजार भन्दा सस्तो मालसामान हामी उपलब्ध गराउँछौं’, भाटभटेनी नेपालगन्ज शाखाका प्रबन्धक विनोद भट्टराईले भने । सन् १९८४ देखि काठमाडौंको एउटा सामान्य पसलबाट सुुरु भएको भाटभटेनीको यात्रा देशव्यापी हुने अभियान अन्तर्गत १८ औं स्टोरका रुपमा बाँकेको नेपालगन्जमा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया