प्रदेश ५ सरकारले कृषि ऋणमा ब्याजमा अनुदान दिने

प्रदेश ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरु लागु गरेको जानकारी दिएकी छन् । मन्त्री पौडेलले कृषि क्षेत्रका लागि प्रदेश सरकारले योजना बनाएर बजेट विनियोजन गरेको बताएकी हुन् ।


मन्त्री पौडेलले कृषि कर्जालाई सहजीकरण गर्नका सरकारले राष्ट्र बैंक मार्फत बैंकहरुलाई कम्तिमा पनि १० प्रतिशत कृषिमा लगानी गर्न निर्देश गरेको बताएकी थिइन् । ‘कृषि कर्जा सुलभ बनाउने र ब्याजमा अनुदान दिने तर्फ प्रदेश सरकार अग्रसर भैरहेको छ’, उनले भनिन्, ‘प्रदेश ५ मा रहेका कुनै पनि कृषकले कृषि ऋणमा पुरा ब्याज तिर्नु पर्दैन ।’ उनले ऋणको अनुपानमा ब्याजमा केही प्रतिशत अनुदानको व्यवस्था गरेको जानकारी दिइन् ।


कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउनका लागि उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न लागेको जानकारी मन्त्री पौडेलले दिएकी थिइन् । ‘अब तरकारी फलाउने किसानले प्रतिकिलो २ रुपैयाँ, बाख्रा पालन गर्ने किसानले प्रतिकेजी २५ रुपैयाँ, बंगुर पाल्नेले प्रतिकेजी २० रुपैयाँ अनुदान पाउने छन्’, मन्त्री पौडेलले सबैजसो कृषि उत्पादनमा अनुदानको व्यवस्था गर्न लागिएको जानकारी दिंदै भनिन्, ‘जति धेरै उत्पादन हुन्छ, त्यति बढी अनुदान किसानले पाउन सक्छन् ।’


प्रदेश सरकारले उद्योगलाई सपोर्ट गर्ने नीति लिएको मन्त्री पौडेलले बताएकी थिइन् । ‘उद्योग बनेका ठाउँसम्म पुग्ने बाटो बनाउने लगायत पूर्वाधारमा सहयोग गर्ने नीति लिएका छौं’, उनले भनिन्, ‘यसले दुरदराजका गाउँमा पुगेर पनि उद्योग खोल्न प्रोत्साहन मिल्नेछ ।’


रोजगारी बढाउनका लागि प्रदेशको एक निर्वाचन क्षेत्र एक उद्योगलाई प्रमोट गर्ने नीति लिएको मन्त्री पौडेलले बताइन् । उनले रोजगार नपाएर युवा शक्ति विदेशिनु पर्ने बाध्यता रहेको उल्लेख गर्दै रोजगारी बढाउन कृषि, उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिएको बताएकी थिइन् । ‘युवा शक्ति विदेशिदा बच्चा अभिभावक विहीन र ज्येष्ठ नागरिक सहारा विहीन भैरहेको अवस्था छ’, उनले भनिन्, ‘वैदेशिक रोजगारको बाध्यताले परिवार छिन्न भिन्न भएको घटना हामीमाझ छन् ।’ प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर युवा देशको गौरव भन्ने नाराका साथ युवालाई प्रमोट गर्नका लागि विभिन्न खालका कार्यक्रम अगाडि बढाएको बताइन् ।
महिला उद्यमी पक्षमा पनि प्रदेश सरकारले काम गरिरहेको मन्त्री पौडेलले बताइन् । ‘महिलाहरुलाई हरेक क्षेत्रमा सहभागी बनाएर नेतृत्व विकास गर्नेदेखि उद्योग, धन्दालाई प्रमोट गर्ने नीति प्रदेश सरकारको रहेको छ’, उनले भनिन् ।


समृद्ध प्रदेश बनाउन प्रदेश सरकार योजनाबद्ध ढंगले प्रदेश सरकार अगाडि बढेको मन्त्री पौडेलले जानकारी दिएकी थिइन् । प्रदेश ५ को आवधिक योजना निर्माण भैसकेको जानकारी दिंदै मन्त्री पौडेलले त्यसमा कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् ।


प्रदेश संघीयताको जग भएको उल्लेख गर्दै मन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र संघीय सरकारबीच पुलको काम गर्ने बताइन्् । ‘त्यसका लागि कानुन निर्माणदेखि विभिन्न क्षेत्रमा काम गरिरहेको बताइन्’, उनले भनिन् । मन्त्री पौडेलले दबाबका भरमा नभई योजनाबद्ध ढंगले प्रदेश ५ का १ सय ९ वटै स्थानीय तहको विकास प्रदेश सरकारले गर्ने बताएकी थिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया