सेवाग्राहीको सुविधाका लागि नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले एउटै ठाँउबाट आफ्नो सेवा प्रवाह थालेको छ । एकद्वार प्रणालीबाट नै वितरण केन्द्रले आफ्नो सेवा प्रवाह थालेको हो । ‘विभिन्न सेवा प्रयोजनमा प्रक्रियागत कामका लागि फाँट– फाँट पुग्दै आउनु परेको झन्झटको अन्त भयो,’ प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले एकद्वार प्रणाली शुभारम्भ गर्दै भने ।
पछिल्लो समयमा नेपाल विद्युत प्राधिकरणमा संस्थागत धेरै सुधार आइसकेको उल्लेख गर्दै डिभिजन प्रमुख ठाकुरले अब विद्युत प्राधिकरण आफ्नो ग्राहकमैत्री सेवाप्रवाहमा अगाडि बढेको बताए । ‘सेवा लिन ग्राहक हैन,अब सेवा दिन कर्मचारी स्वयम् फाँटहरुमा गएर कार्य सम्पादनमा सहयोग गर्नेछन्,’ डिभिजन प्रमुख ठाकुरले भने, ‘छिटोछरितो सेवा दिएर सेवाग्राहीको मुहारमा खुसी छर्नुपर्छ ।’
कार्यक्रममा नेपालगन्ज वितरण केन्द्रप्रमुख लखनलला मल्लिकले औपचारिक शुभारम्भसिँगै सेवाका लागि ग्राहकहरुको फाँट– फाँट पुग्ने समस्याको अन्त्य भएको बताए । ५५ हजार बढी विद्युत सेवाग्राही भएको नेपालगन्ज वितरण केन्द्रमा दिनहुँ सयौँ ग्राहकहरु आउने गरेका छन् ।