चाचाजी हामी माझ रहनु भएन तर उहाँसँगका अनुभव, उनको योगदान र विचार भने सदा रहनेछ । चाचाजी अर्थात नेपालगन्जका वरिष्ठ पत्रकार पन्नालाल गुप्त । धेरैले उहाँलाई चाचाजीकै नामले बोलाउथे । सम्वोधन गर्थे । प्रेस स्वतन्त्रता सेनानी गुप्त ९१ वर्षको उमेरमा यही माघ १५ गते सदाका लागि विदा हुनुभयो । भौतिक रुपले हामीबीच नरहेपनि उहाँले पत्रकारितामार्फत पु¥याएको योगदान भने सदैव रहने छ ।

नेपालगन्जबाट झण्डै ४ दशकअघिदेखि प्रकाशित साप्ताहिक किरणका प्रकाशक एवं सम्पादक गुप्त अन्तिम समयसम्म पनि पत्रकारितामै सक्रिय रहनुभयो । दुई वर्ष अघिसम्म पनि गुप्त पत्रिकाकै काम व्यस्त देखिनु हुन्थ्यो । गुप्तलाई पत्रकार मात्र हैन, आम नागरिकले पनि उत्तिकै सम्मान र आदर गर्दथे । पत्रकारिताप्रतिको उहाँको लगाव र सक्रियता अनुकरणीय छ । वरिष्ठ पत्रकार गुप्तका बारेमा लेख्नु सुर्यका अगाडी दियो देखाउनु सरह हो । तर पनि उहाँप्रतिको सम्मान र सम्झनास्वरुप केही लेख्दैछु ।

पत्रकारिताप्रतिको लगाव

गुप्तको पत्रकारिताप्रतिको लगाव र सक्रियता गज्जवको थियो । साप्ताहिक पत्रिकाबाट उहाँलाई व्यवसायिक फाइदा त के थियो होला र तर पनि शरिरले साथ देउञ्जेलसम्म सक्रिय रहिरहनु भयो । बिहानदेखि बेलुकासम्म उहाँ पत्रकारिताको काममै व्यस्त रहनुहुन्थ्यो। समाचार संकलन र लेखनमा उहाँको उर्जा कहिल्यै घटेन । कार्यक्रममा गएर रिपोर्टिङ गर्नेदेखि लिएर सम्पादन गर्ने सम्मको काम आफैं गर्नुभयो । समाचार संकलनका लागि उहाँ सधैैं साइकलमा हिड्नु भयो । किरण साप्ताहिकलाई अघिल्लो वर्षसम्म प्रकाशन र सम्पादन गर्दै आएपनि अस्वस्थताकै कारण पछिल्लो समय पत्रिकाले निरन्तरता पाउन सकिरहेको थिएन ।


वि.सं. १९८५ साल भदौ २७ गते जन्मिएका गुप्त नेपालगन्ज–८ रानीतलाउका स्थायी बासिन्दा हुनुहुन्थ्यो । उहाँका पिता व्यवसायमा संलग्न हुनुहुन्थ्यो । दाई महावीर प्रसाद गुप्ता पत्रिकाको सम्पादक भएपनि पन्नालाल पत्रकारितामा संलग्न हुनुहुन्नथ्यो । २००७ सालअघि हिन्दी पत्रिकाहरुमा प्यारोडी लेख्ने गुप्त प्रजातन्त्र स्थापनापछि पत्रकारितामा प्रवेश गरेको पाइन्छ । २०११ सालमा नेपालगन्जमै हिन्दी भाषाको पत्रिका अनुराधा मासिक स्थापना भएपछि त्यसैमा काम गर्न थालेको देखिन्छ । माृतभूमि साप्ताहिकमा पनि लेखनी शुरु गर्नुभयो । तर दाई महावीर पत्रकारिता (अनुराधा) छाडेर राजनीतितर्फ लागेपछि पत्रिकाको जिम्मा गुप्तले नै सम्हालुभयो । त्यस अघि दाजुसँगै सहायक भएर अनुभव संगालीसकेका पन्नालाल २०३१ सालमा स्थापना भएको किरण साप्ताहिकमा २०३७ सालदेखि सम्पादकको जिम्मेवारीमा रहनुभयो ।


त्यो बेला पत्रिका प्रकाशन गर्नु र निरन्तरता दिनु सामान्य कुरा थिएन । पञ्चायत र बहुदलको चेपुवामा पत्रकारिता थियो । समाचारमा चित्त नबुझे पत्रकारलाई पक्राउ गरिन्थ्यो । समाचार लेखेकै कारण पञ्चायत पक्षधरले विभिन्न आरोप लगाएको र गिरफ्तारी गरेर अनेकन कष्ट दिएको तितो अनुभव पंक्तिकारसँगको भेटमा उहाँले सुनाउनुहुन्थ्यो । राजा र पञ्चायत विरुद्ध समाचार लेखेको आरोपमा धेरै पटक थुनिएका गुप्तमाथि राजद्रोहको समेत मुद्दा चल्यो । त्यतीबेला प्रहरीले १५ दिन जति थुनेको थियो । सो मुद्दा गुप्तले करिव ७ वर्ष सम्म झेल्नुप¥यो । पञ्चायतको पक्षमा लाग्न अनेकन प्रलोभन देखाइएपनि उहाँ त्यसतर्फ कहिल्यै लाग्नु भएन बरु अझैं सशक्त रुपमा बहुदलको पक्षमा लाग्नुभयो ।


गुप्तले आफ्नै घरमा पत्रिका छपाई मेसिन सञ्चालन गर्नुभयो । ‘पाइडल मेसिनको सहयोगले पत्रिका छाप्थ्यौं, त्यो मेसिनले २ हजार जति पत्रिका छाप्न सकिन्थ्यो,’ दुईको वर्ष अघिको एक बार्तालापमा उहाँले भन्नु भएको थियो । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला नेतृत्वको सरकारले किरण साप्ताहिकका लागि मासिक ७ सय रुपैयाँ उपलब्ध गराउँदै आएकोमा त्यो सुविधालाई तत्कालिन पञ्चायत सरकारले खोसिदियो । ‘पञ्चायत सरकारले आफ्नो समर्थन गर्ने पत्रिकालाई मात्र सुविधा दिइरह्यो, आफ्नो विरुद्ध लेख्ने पत्रिकाको सुविधा कटौंती गरिदियो,’ उहाँले स्मरण गर्दै भनेको कुरा पत्रिकामा छापिएको छ । समाचार लेखैकै कारण स्थानीय प्रशासनलाई स्पष्टीकरण त उहाँले कति दिनुभयो कति । २०४६ को जनआन्दोलन, ०५२ पछिको सशस्त्र माओवादी विद्रोह र २०६२÷ ६३ को जनआन्दोलनमा पनि गुप्त रिपोर्टिङमैं खटिनु भएको थियो । नेपालगन्जका अधिकांस कार्यक्रममा उहाँ आफै पुग्नुहन्थ्यो । नाती उमेरका अन्य पत्रकारसँगै रमाउँहुन्थो पनि । एउटा व्यक्ति ६४ वर्षसम्म पत्रकारितामा सक्रिय रहनु पक्कै पनि चानचुने कुरो होइन । रहर र लहडका भरमा पत्रकारिता गर्नेहरुका लागि यो भन्दा गतिलो पाठ के हुन सक्छ ।

सादगी व्यक्तित्व

उहाँको व्यक्तित्व अत्यन्तै सरल र सामान्य थियो । सादा जीवन उच्च विचार उहँको जीवनमा मेल खान्छ । महात्मा गान्धीबाट प्रभावित उनी गान्धीकै अनुशरण गर्न रुचाउँने उहाँ अहिंसावादी हुनुहन्थ्यो । शान्ति र सद्भावका पक्षधर मात्र हैन, उनी त्यसका अगुवाई पनि गर्थे । आफुलाई अत्यन्तै व्यस्त राख्न रुचाउने गुप्तको बिहानै उठनु, नित्यकर्म गर्नु , हिडडुल पछि पुजापाठ गर्नु र पत्रकारितामै रमाउनु दिनचर्या थियो । बोली र व्यवहारमा अत्यन्तै नम्र लाग्ने गुप्त विचारमा अडीग र प्रतिबद्ध हुनुहुन्थ्यो । विपी कोइरालाबाट पे्ररित उहाँको पत्रकारिता प्रजातन्त्र र जनताकै खातिर समर्पित रहयो । उहाँलाई अपुग केही पनि थिएन तर पनि उहाँमा कहिल्यै कुनै घमण्ड देखिएन । परिवार पूर्ण रुपमा सम्पन्न थियो तर पनि उहाँमा त्यो तडक भडक कहिल्यै भेटिएन ।

दुई वर्ष अघि सम्म पनि रिपोर्टीङमा जाँदा साइकल चलाएरै जाने उहाँ प्रायः सेता कुर्ता, पाइजामा र ढाका टोपीमा देखिनुहन्थ्यो । गुप्तको खानपीन पनि उस्तै सादगी थियो । ठुलो हुँ, वरिष्ठ हुँ भन्ने धेरैमा घमण्ड हुन्छ तर उहाँमा त्यो कहिल्यै पाएनौं । तौलेर मात्र बोल्ने स्वभावका गुप्त सानादेखि ठुला उमेरका सबैलाई उत्तिकै माया अनि सम्मान गरेको पाएँ । मलाई पनि उहाँले औधी माया र विश्वास गर्नुहुन्थ्यो । जस्तोसुकै अवस्थामा पनि निर्भीक भएर निरन्तर पत्रकारितामा सक्रिय गुप्त सबैका लागि अनुकरणीय व्यक्तित्व हुनुहन्थ्यो । पत्रकारितालाई पछिल्लो चरण पेशाका रुपमा लिइएपनि गुप्तले पत्रकारितालाई लोकतन्त्रको खम्वा अनी सदैव समाजसेवाको अंगका रुपमा लिएको पाइयो । उहाँको सादगीपन सबैका लागि प्रेरणादायी थियो, छ र रहिरहनेछ ।

आस्थाको धरोहर

कुनै व्यक्तिको व्यक्तित्व आस्थाबाटै झल्किँदो र झाँगिदो रहेछ । गुप्तको आफनो आस्थाप्रतिको अडान सम्झन लायक छ । प्रजातान्त्रिक विचारप्रतिको उहाँको अगाध लगाव अन्तिम कालसम्म रह्यो । प्रजातन्त्रको स्थापना र सुदृढिकरणमै उहाँको जीवन केन्द्रीत रह्यो । प्रजातान्त्रिक विचारको प्रर्वद्धनका लागि उनी सदैव काँगे्रसको पक्षमा लागि रहे तर उहाँ काँगे्रसीं (व्यक्ति) को पछि भने कहिल्यै लाग्नुभएन । उहाँले व्यक्ति भन्दा पार्टी, पार्टी भन्दा विचारलाई प्राथमिकता दिनुभयो । त्यसैले पनि होला, धेरैले उहाँलाई खुलेर काँगे्रसी भन्न रुचाउँदैनन् तर पनि मेरो दावी के हो भने उहाँ अरु जस्तो देखावटी र बनावटी हुन सक्नुभएन । उहँले कसैलाई खुसी पार्नु र फाइदा लिनु पनि थिएन । जीवनभरी लिनु भएन पनि ।

आस्थाप्रतिको विश्वास उहाँमा कहिल्यै डगमगाएन । नेपालगन्जमा मधेश आन्दोलन भयो । मधेशी मुलका कयौं व्यक्तिहरुले पार्टी फेरे । अनेकन अवसरहरु पनि जुराए तर पनि उहाँ त्यो सबैबाट टाढै रहनुभयो । निश्कंलक रहनुभयो । यस्तै पत्रकारिताप्रतिको आस्था पनि त्यत्तिकै मजवुत रहयो । पत्रकारितालाई उहाँ एउटा मिशनका रुपमा बुझेर अगाडी बढेको देखियो । पत्रकारितालाई उहाँले समाज डो¥याउने माध्यमका रुपमा लिनुभयो । यस्तै शान्ति, सदभाव, नागरिकअधिकार, पे्रस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिको उहाँको लगाव, अडान, विश्वास पनि उचो थियो । त्यसका लागि उहाँ कहिल्यै पछाडी हट्नुभएन । आस्थाप्रतिको उहाँको सम्मान अरुका लागि पनि अनुकरणीय छ । उहाँको पेशाप्रतिको आस्थाले आउने पिढीलाई पनि पाठ सिकाउनेछ । उहाँ पत्रकारको मात्र नभई आमनागरिकको पनि धरोहर हो ।

सच्चा सम्मान

स्व वरिष्ठ पत्रकार गुप्त प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित व्यक्तित्व हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै नेपाल पत्रकार महासंघले उहाँलाई प्रेस स्वतन्त्रता सेनानी घाषणा गरेको हो । नेपाल पे्रस यूनियन बाँकेका संस्थापक अध्यक्ष गुप्त नेपाल पत्रकार महासंघको बाँकेको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । प्रेस स्वतन्त्रता सेनानी सम्मान र प्रेस काउन्सिलको गोपालदास पत्रकारिता पुरस्कार लगायत दर्जनौं सम्मान र पुरस्कार पाइसकेका गुप्त व्यक्ति मात्र हैन, संगठन, विचार र सिंगो पाठशाला पनि हो । स्वयं उनकै नामबाट पुरस्कार स्थापना हुनु र नेपालगन्जमा नागरिक अभिनन्दन हुनु पनि यसको एउटा उदाहरण हो । दुई वर्ष अघि नेपाल प्रेस युनियन बाँकेको संयोजनमा भव्य नागरिक अभिनन्दन गरिएको थियो । नागरिकस्तरबाट पत्रकारलाई गरिएको यो नै सबैभन्दा ठुलो सम्मान पनि हो ।


नेपाल पे्रस यूनियन बाँकेको पहलमा स्थापित चाचाजी पत्रकारिता पुरस्कार पनि जिल्ला अधिवेशनबाटै प्रदान गरिने जनाइएको छ । उहाँकै जीवनीमा आधारित ’चाचाजी’ वृत्तचित्र पनि छ । यो सबै सम्मान उहाँको पत्रकारिता प्रतिको सक्रियता, निरन्तरता मात्र नभई समाजमा पु¥याएको योगदानको उच्च कदर हो ।


गुप्तको योगदान पत्रकारिता क्षेत्रमा मात्र सिमित नभई प्रजातन्त्र र अधिकार प्राप्तीमा पनि थियो र छ । उहाँ जिवित नरहेपनि उहाँले प्रवाह गरेको विचार जीवन्त रहनु पर्छ । उहाँले दिन खोजेको सन्देशलाई अझैं सशक्त र प्रभावकारी बनाउने जिम्मेवारी हाम्रो पनि हो । साँच्चिकै उहाँप्रति सच्चा सम्मान प्रकट गर्ने हो भने त्रिभुवन चौकपूर्वतर्फको सडकलाई पन्नालाल सडक घोषणा गरौं । उहाँको नाममा प्रतिष्ठान निर्माण गरौं । स्थापित पुरस्कार कोषलाई वृद्धि गरौं । स्थानीय सरकारको समेत अपनत्व हुने गरि कोष परिचालन तथा सञ्चालन गरौं । जसबाट पत्रकारिताको नयाँ पुस्ताले पुरस्कार मात्र हैन, गुप्ताको योगदान र विचारको समेत अनुशरण गर्न सकोस् । चाचाजीको स्वर्गमा बास होस् – हार्दिक श्रद्धाञ्जली ! (पत्रकार चौलागाईं नेपाल पत्रकार महासंघका प्रदेश सचिव हुन्)

प्रतिक्रिया

प्रतिक्रिया