दुई सातामा पुरैनामा रोकियो ७ वटा बाल विवाह
बाँकेमा बालविवाहको एकिन तथ्यांक छैन । तर, पनि बाल विवाह लुकिछिपी हुँदै आएको छ । यद्यपि, कतिपय बेला बाल विवाह विरुद्धको अभियन्ताहरुले बाल विवाहको सुइँको पाएपछि प्रहरीको सहयोगमा रोक्ने गरेका छन् । जिल्लामा विभिन्न गैर सरकारी संस्था, बाल तथा किशोरी क्लब बाल विवाह रोक्न सक्रिय रहेका छन् ।
नेपालगन्ज–२० पुरैनामा दुई साताको अवधीमा मात्रै ७ वटा बाल विवाह अभियन्ताहरुले रोकिदिएका छन् । त्यसबाट आक्रोशित स्थानीयले बाल विवाह रोक्ने अभियन्तालाई धम्क्याउने गरेका छन् । गत शुक्रबार पुरैनामा किशोरीहरुका लागि साइबर क्राइम सम्बन्धी सचेतनामूलक दुई दिने तालिम राखिएको थियो । तर, तालिम भने हुन सकेन । बाल विवाह विवाह रोकिएको भन्दै वडामा कुनै पनि खालका बालविवाह विरुद्धको अभियान हुन नदिने भन्दै केही स्थानीयबासी वडा पुगेर तालिम रोकिदिएका थिए ।
वडा पुगेका स्थानीयबासीले वडाध्यक्षलाई समेत १६ बर्षमा बालविवाहको उमेर कामय हुनुपर्ने, बाल विवाह विरुद्धको अभियान रोक्नुपर्ने लगायतको माग गर्दै ज्ञापन बुझाउने समेत खोजेका थिए । स्थानीयबासीले वडामा बालविवाहको विरुद्धको अभियान सञ्चालन गरे जे सुकै हुनसक्ने चेतावनी दिएको अभियन्ताहरु बताउँछन् । ‘स्थानीयबाटै विरोध भएपछि बाल विवाह विरुद्ध कार्यक्रम सञ्चालन गर्न नै किशोरी क्लब तथा कर्मचारीहरुले असुरक्षित महसुस गरिरहनु भएको छ’, स्याकका कार्यक्रम संयोजक जगदीश थापाले भने । वडाले समेत स्थानीयको आक्रोश पछि केही दिन अभियानलाई रोक्न भनेको थियो ।
बाल विवाह विरुद्धको अभियानमा अवरोध सिर्जना हुने भएपछि क्रियाशिल संघ, संस्थाले नेपालगन्ज उपमहानगरपालिकालाई त्यसबारे जानकारी दिएका थिए । अभियानलाई अप्ठ्यारो परेपछि बिहीबार नेपालगन्ज नगर उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा बाल अधिकार समितिको बैठक बसेको छ । ‘कानुन विपरित बाल विवाहका पक्षधरले अभियन्ताहरुलाई कार्यक्रम नगर्न दबाब दिएको थाहा पाएपछि कसरी अगाडि जाने भन्ने रणनीति बनाउन बैठक बसेका हौं’, उपप्रमुख उमा थापा मगरले भनिन् । उपप्रमुख थापाले बालविवाह रोक्न, सचेतना फैलाउन, अभियन्तालाई अप्ठ्यारो परेको ठाउँमा सहजीकरण गर्न ९ सदस्यीय समिति समेत गठन गरिएको बताएकी छन् । ‘समितिले बाल विवाह विरुद्धको अभियानलाई सघाउन भूमिका खेल्नेछ’, उपप्रमुख थापाले भनिन् ।
उपप्रमुख थापाले बाल विवाह रोक्नका लागि सचेतनाको पाटोमा थप काम गर्न आवश्यक देखिएको बताइन् । ‘कानुन पालना गर्नैपर्छ, हामी त्यसका लागि स्थानीयलाई सम्झाउने छौं’, उनले भनिन् । उपप्रमुख थापाले केही दिनभित्रै पुरैनाका बासिन्दासँग छलफल गरी बाल विवाह विरुद्धको अभियानलाई सहज रुपमा अघि बढाउन पहल गर्ने बताएकी छन् । उनले बाल विवाह रोक्नेका लागि विभिन्न उपाय अवलम्वनका लागि छलफल समेत भैरहेको जानकारी दिएकी छन् । ‘स्थानीयबासी, विवाह गराउने मौलाना, पण्डितलाई छलफल गरी बाल विवाह नगर्न सचेत बनाउने योजना छ’, उपप्रमुख थापाले भनिन् ।
उपप्रमुख थापाले उपमहानगरपालिकाले बालिका बीमाका लागि बजेट छुट्याइसकेको जानकारी दिएकी छन् । ‘बाल विवाह नगर्ने शर्तमा बालिकाको बीमा गर्ने कि भन्ने सोंचमा हामी छौं’, उनले भनिन्, ‘त्यसका लागि बीमाका लागि कार्यविधि बनाउँदै छौं ।’
उपप्रमुख थापाले बाँकेमा बाल विवाहको समस्या जटिल देखिएको भन्दै त्यसलाई चुनौतिका रुपमा पाएको बताइन् । ‘अशिक्षा र आर्थिक अवस्था कमजोर हुँदा पनि बाल विवाह हुने गरेका हुन्’, उनले भनिन्, ‘त्यसैले कानुनी कारवाही भन्दा सचेतनाको पाटोमा सचेतनाका थप काम गर्नु आवश्यक छ ।’
बैठकमा बोल्दै जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जिल्लामा बाल विवाहको समस्या रहेको उल्लेख गर्दै त्यस विरुद्ध जिल्लाव्यापी अभियानको आवश्यकता औंल्याए ।
बैठकमा जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओली, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, स्याक, सेभ द चिल्डे«न, सिविन नेपालगन्ज, फातिमा फाउण्डेशन लगायतका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
सडकमा आक्रोश, दुई प्रहरी हिरासत

१६ बर्षमै छोरीहरुको बिहे गर्नुपर्ने माग गर्दै बिहीबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । नेपालमा विहे गर्न २० वर्ष पुगेको हुनु पर्ने कानुनी प्रावधान छ । तर, उक्त व्यवस्था व्यवहारिक नभएको भन्दै नेपालगन्जको धम्बाझै चोकमा एउटा समूहले प्रदर्शन गरेको हो ।
जानकी गाउँपालिका वडा नं. ६ का रामदेव मिश्रको अगुवाईमा पटकपटक नेपालगन्जमा विवाहको उमेर घटाउन माग गर्दै प्रदर्शन हुँदै आएको छ । आफै बाल विवाह गरेर कष्ट भोगेका आमाहरु समेत आफ्ना छोरीको विवाह १६ बर्षमा नै गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रने गरेका छन् । प्रदर्शनकारी समूहले यसअघि वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय बाँकेसम्म धर्ना, प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाइसकेका छन् ।
‘सरकारले जनतासँग छलफल नै नगरी विवाह योग्य उमेर बढाउनु गलत हो’, प्रदर्शनमा सहभागी शेर बहादुर खानले भने, ‘सरकारले आम जनतासँग छलफल नै नगरी आफ्नो मर्जीले कानुन बनायो ।’ प्रदर्शनकारीहरुले २० बर्षसम्म छोरी राख्दा त्यसको सुरक्षाको ग्यारेन्ट सरकारले गर्नुपर्ने बताएका थिए ।
पटकपटक विवाह उमेर घटाउन माग गर्दै प्रदर्शन भएपनि बिहीबार पहिलो पटक प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले प्रदर्शनको अगुवाई गरेका रामदेव मिश्र र फुलमति पाललाई नियन्त्रणमा लिएको हो ।
बाँकेमा बाल विवाह भैरहेपनि मुद्दा भने कमै दर्ता हुने गरेका छन् । प्रहरीले पनि बाल विवाहको घटनामा मिलापत्र गर्दै केटा, केटीलाई आ–आफ्नै घर फर्काउने गरेको छ । अभिभावकको राजिखुशी मात्रै नभई आफुखुशी हुने बाल विवाहका घटना बाँकेमा बढ्दै गएको बाल विवाह विरुद्धको अभियन्ता बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, अघिल्लो आ.व. ०७५÷०७६ मा ६, आ.व. ०७४÷०७५ मा २ वटा बाल विवाह सम्बन्धी मुद्दा दर्ता भएका थिए । चालु आ.व.को पुससम्म बाल विवाहका कुनै पनि मुद्दा दर्ता भएका छैनन् ।








