अब नेपालगन्जमै प्रहरीको फरेन्सिक ल्याब

प्रहरीले नेपालगन्जमा सञ्चालनमा ल्याएको फरेन्सिक ल्याबले अपराध अनुसन्धानमा सहयोग पुग्ने विश्वास गरिएको छ

अब प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा भएका अपराधका सम्भावित ठोस प्रमाणहरुको वैज्ञानिक परिक्षणका लागि काठमाडौ नै धाउनु्पर्ने बाध्यता हट्ने भएको छ । बुधवारबाट नेपालगन्जमा प्रहरी विधि विज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) को नवनिर्मित भवनको उद्घाटन भएसँगै सो बाध्यता हट्ने सुनिश्चित भएको हो ।


नेपाल सरकारको नियमित बजेटबाट एकतले भवन निर्माण गरिएको र अब केही दिनमै प्रयोगशाला सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ । प्रयोगशाला भवनको नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले उद्घाटन गरे । उद्घाटन गर्दै खनालले प्रमाणहरुको वैज्ञानिक परिक्षणका लागि काठमाडौ नै पुग्नुपर्दा न्याय निरुपणमा ढिलाई हुने र प्रभावकारी अनुसन्धानका लागि समस्या आउने गरेकोमा अब त्यो समस्या हट्ने बताए ।


नेपालगन्जको ऐतिहासिक महत्व, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशसँगको सहज सम्पर्कको सम्भावनालाई हेरेर प्रयोगशालाको स्थापना गरिएको खनालको भनाइ छ । उनले नेपालगन्ज पायक पर्ने जुनसुकै जिल्लाबाट पनि परिक्षणका लागि नेपालगन्ज आउन सक्ने पनि बताए । ‘प्रमाणका लागि लिइएका सामग्रीहरुको वैज्ञानिक परिक्षणका लागि काठमाडौ पठाउनु पर्ने र रिपोर्ट आउन ढिला हुँदा मुद्दामा पनि स्वतः ढिला हुने भयो । जसकारण जनतामा प्रहरी र न्यायालयको काममा असन्तुष्टि प्रकट हुन्थ्यो, अब त्यो समस्या हट्छ,’ खनालले भने ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरबहादुर ओलीले विगत ४ वर्षमा बाँके जिल्लाबाट ५ सय ९७ मुद्दाका प्रमाणहरु विधिविज्ञान प्रयोगशालामा परिक्षण गर्नुपर्ने खालका दर्ता भएका जानकारी दिए । ती मुद्दाका प्रमाणहरु काठमाडौ पठाउनुपर्दा समय धेरै लागेको र अनुसन्धानमा समस्याहरु झेल्नुपरेको ओलीले बताए । अब त्यस्ता मुद्दाका प्रमाणहरु नेपालगन्जमै परिक्षण गर्न सकिने र न्याय निरुपणमा पनि सहजता आउने उनले विश्वास व्यक्त गरे ।


प्रहरीका अनुसार, प्रदेश ५ बाट केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गतवर्ष ७ सय ३२, कर्णाली प्रदेशबाट १ सय ९६ र सुदुरपश्चिम प्रदेशबाट ३ सय ३ वटा मुद्दाका प्रमाणहरुको परिक्षण भएका थिए । अब ति मुद्दाका प्रमाणहरु नेपालगन्जकै ल्याबमा परिक्षण गर्न सकिने छन् । प्रहरीका अनुसार काठमाडौ बाहिर धरानपछि नेपालगन्जमा फरेन्सिक ल्याब सञ्चालनमा स्थापना भएको हो ।


ईन्जिनियर प्रहरी निरीक्षक दिपक केसीले बिधि बिज्ञान प्रयोगशाला नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण गरिएको जानकारी दिए । तीन तले भवनको योजना भएपनि पहिलो चरणमा २ करोड ८२ लाख ३१ हजार ६ सय रुपैयाँ लागतमा एकतले भवनको निर्माण सम्पन्न भएको केसीले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया