कहिले होला ? सुरक्षित सडक यात्रा
हिमाल गैरे
नेपालमा हरेक वर्ष बढ्दो सवारी दुर्घटनाका कारण सर्वसाधारणको यात्रा असुरक्षित बन्दै गइरहेको छ । सवारी अनशासनको पर्याप्त पालना नगरिनु, सडक संरचनाको सही व्यवस्थापन हुन नसक्दा दुर्घटनाका कारण नेपालमा पछिल्लो पाँच वर्षमा १२ हजार बढी सर्वसाधारणले ज्यान गुमाउनु परेको छ ।
सडक दुर्र्घटनाको दर ५ नम्बर प्रदेशमा पनि कहाली लाग्दो छ । तथ्यांक विश्लेषण गर्दा अझै पनि यो प्रदेशमा सवारी दर्ता हुने क्रम बढ्दो छ भने सरकारले त्यसलाई व्यवस्थापना समेत गर्न सकिरहेको छैन् । सवारी साधन थपिंदै गर्दा यहाँ औषतमा दैनिक २ जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाउनु परेको छ ।
५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलबाट २०७४ श्रावण देखि पुस मसान्त सम्मको तथ्याङ्कका अनुसार, ३ हजार ४ सय सवारी दुर्घटनाबाट १ हजार ४ सय १९ जना व्यक्तिको ज्यान गएको छ । यस मध्ये ९५ बालक र ६५ बालिकाले आफ्नो बाल्यकालमा नै ज्यान गुमाएका छन् । त्यति मात्रै होइन, यस अवधीमा ६४ वस्तुचौपायाको समेत ज्यान गएको छ ।
महेन्द्र राजमार्गको दाउन्ने देखि कर्णाली चिसापानी सम्म ३ सय ६१ कि.मी खण्ड पर्ने यस प्रदेशमा सवारी सुरक्षामा पर्याप्त ध्यान नपु¥याउँदा जनधनको बढी क्षति पुगेको पाइन्छ ।
यस अवधीमा ३४ सय सवारी दुर्घटना भएका छन् जसमध्ये सबैभन्दा बढी रुपन्देहीमा ९ सय ४६ र सबै भन्दा कम रुकुममा ११ सवारी दुर्घटना भएका छन् । तर २०७६ श्रावण देखि पुस मसान्तको दुर्घटनाको अवस्था विश्लेषण गर्ने भने सबै भन्दा बढी रुपन्देही १ सय ५३, दाङ १ सय ४९ र बाँके १ सय ३३ सवारी दुर्घटनाबाट क्रमश ५५, ४४ र ३१ जनाले व्यक्तिले ज्यान गुमाउनुपरेको छ ।
सवारी दुर्घटनाको समयको विश्लेषण गर्दा सबैभन्दा बढी दुर्घटना साँझ ६ बजे देखि राति १२ बजेसम्मको समयमा झण्डै ३८ प्रतिशत रहेको छ ।
५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरिक्षक मधुसुधन लुईंटेलले सडक दुर्घटनाका निम्ति ट्राफिकले नियमित रुपमा सवारी जाँच, सडक, विद्यालय स्तरमा जनचेतना जगाउने क्रियाकलाप संचालन गरे पनि सबै सरोकारवाला निकाय उत्तिकै गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । ‘हामीले मात्रै सडक सुरक्षामा काम गरेर प्रभावकारी नतिजा आउन गाह्रो छ,’ प्रहरी उपरिक्षक लुईंटेलले दैनिक नेपालगन्जसँग भने, ‘सबै सरोकारवाला निकायले ऐक्यबद्ध भई सडक सुरक्षामा ध्यान दिए मात्रै यसको रोकथाम र न्यूनिकरण सम्भव छ ।’ उनको थप भनाइ छ, ‘कस्तो गाडीलाई रुटपरमिट दिने, स्थानीय तहले अंगीकार गर्ने सडक रणनीति, राजनीतिक दल, यात्रु सबैको यसमा भुमिका रहेको हुन्छ ।’ गएको आ.वमा मात्रै यस क्षेत्रमा डेढ लाख सवारी थपिएका छन् भने प्राविधीक अध्ययन बिना ‘डोजर इन्जिनियरिङ’ का आधारमा बनाइएका सडकहरुमा बढी दुर्घटना हुने गरेको प्रहरी उपरिक्षक लुईंटेलको भनाइ छ ।
गत मंसीर २२ गते कोहलपुरमा विद्यालय जाने क्रममा ट्रकको ठक्करबाट घाइते भई दुवै खुट्टा गुमाएकी कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दकी आमा सडक दुर्घटनाको मुख्य कारण सडक अनुशासनको पालना नहुनु भन्छिन् । सडक दुर्घटनाकै कारण आफ्नो छोरीको अझै पनि काठमाडौ स्थित बि.एण्ड.बि अस्पतालमा उपचार गराउँदै गरेकी उनको दैनिकी अहिले प्रकृतिको उपचारमा नै बिताउनु परेको छ ।
कोहलपुर नगरपालिका ११ की भगवती शाही छोरीको दुर्घटना पछि अझै पनि सामान्य अवस्थामा आउन नसकेको बताउँछिन् । ‘घटना घट्छ, तर चालकले गाडी ब्याक गरेरै मार्ने प्रयत्न गर्नु अपराध नै हो,’ भगवती भन्छिन्, ‘घाइते भएकालाई उपचार गराउने हो नि, त्यसैले पनि यस्ता घटना रोकथामका लागि कडा कानुनको व्यवस्था गरिनुपर्दछ, दोषीलाई कडा कारवाही हुनुपर्दछ ।’ शाहीले दैनिक नेपालगन्ज मार्फत सरोकारवाला निकाय समक्ष कडा कानुन माग गरिन् ।
त्रिभुवन नमुना मा.वि कोहलपुरकी प्रधानाध्यापक देवका थापा सबैले आफ्नो तरिकाबाट इमान्दारितापूर्वक काम गर्ने भने दुर्घटना न्यूनिकरण गर्न सकिने बताउँछिन् । ट्राफिक प्रहरी, प्रहरी प्रशासनले पनि आफ्नो जिम्मेवारी बहन गर्नुका साथै यात्रुले पनि ध्यान पु¥याउनुपर्नेमा उनको जोड थियो ।
देव्रे तिर सवारी चलाउने नियम रहेको नेपालमा पैदलयात्रुहरुले पनि देव्रेतिरबाट हिड्ने गर्दा पैदल यात्रीलाई बढी क्षति पुग्ने गरेको जानकारहरु बताउँछन् । सवारीको अवस्था अगाडीबाट देख्न सकिने भएकाले खासमा पैदल यात्रुहरु दाहिने तिर हिड्नुपर्ने भए पनि सोको जनचेतना पर्याप्त छैन् ।
बढी दुर्घटनाको कारण चालकको लापरवाही र तिव्र गति
४५ प्रतिशत सवारी दुर्घटनाको कारण चालकको लापरवाही र ४२ प्रतिशत तिव्र गतिका कारण सडक दुर्घटना हुने गरेको तथ्याङ्कले देखाएको छ । जसलाई नियन्त्रण गर्न सकिए पनि फितलो कानुनी संयन्त्र र प्रहरी प्रशासनको उदासिनताका कारणमा रोकथाम हुन नसकेको देखिन्छ ।
ट्राफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनाको मुख्य कारणमा चालकको लापरवाही र तिव्र गति पछि ओभरटेक, मादक पदार्थ सेवन गरी सवारी चलाउदा र मोवाइल फोनका प्रयोग, चौपाया, सडक अवस्था लगायत रहेको छ ।
छानविनमा समितिमात्र, सिफारिश कार्यान्वयनमा छैन चासो
हवाई दुर्घटनामा एक व्यक्ति हताहत हुँदा पनि दुर्घटनाको कारण छानविन गर्न समिति गठन गरे पनि सडक दुर्घटनामा परी ठूलो संख्यामा यात्रुहरुले ज्यान गुमाउँदा यदाकदा मात्रै समिति गठन हुने गरेको पाइन्छ । यसरी राज्यले ने आफ्नो नागरिक प्रति बेल्गाबेग्लै व्यवहार गरेको गुनासो सुनिंदै आएको छ
नेपालमा वर्षेनी औषतमा झण्डै १० हजार सवारी दुर्घटना हुने गरेको तथ्याङ्क छ । त्यसैगरी हरेक दुर्घटना पछि सरकारले घटनाको छानविन गर्नका लागि समिति गठन पनि गठन गर्ने गर्दछ तर उक्त छानविन समितिहरुले दिएका सिफारिशहरु प्रति भने चासो दिर्इंंदैन । फलस्वरुप सोही प्रकृतिका दुर्घटनाहरु दोहोरिरहने गरेको जानकारहरु बताउँछन् ।
गत मंसिर ११ गते अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए । उक्त दुर्घटनाको छानबिन गर्न समिति बन्यो र प्रतिवेदनमा तीव्र गतिका कारण बस पल्टिएको उल्लेख गरिएको थियो ।
बाँकेमा ३३ को मृत्यु
दुर्घटनाका कारण अकालमा ज्यान जानेहरुको संख्या बढ्दै गएको छ । चालु आ.व. २०७६/०७७ को पाँच महिनामा मात्रै बाँकेमा ३३ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । गत आ.व. २०७५÷०७६ मा ६० जनाको दुर्घटनामा निधन भएको थियो ।
चालु आ.व.को साउनमा ७, भदौमा ४, असोजमा ५, कार्तिकमा ६ र मंसिरमा सबैभन्दा बढी ११ जनाको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेमा पाँच महिनाको अवधीमा कुल ८६ वटा दुर्घटना भएका छन् । जसमा ७३ जना गम्भीर र ६१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्लामा सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको भएको प्रहरीको तथ्यांक रहेको छ । पाँच महिनाको अवधीमा ६६ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । उक्त अवधीमा १ सय ११ वटा सवारी साधन दुर्घटनामा परेका थिए । ६ वटा ट्रक, १ टिप, ११ जिप, २ ट्याक्टर, ४ वटा टेम्पो र ६ वटा साइकल दुर्घटनामा परेका थिए ।
बढी जसो दुर्घटनाका तिव्र गति र चालकको लापरवाहीले हुने गरेको तथ्यांक जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकले देखाएको छ । आ.व. ०७५/०७६ मा बाँकेमा ९९ सय वटा दुर्घटना भएको तथ्यांक ट्राफिक प्रहरीको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार, गत आ.व.मा दुर्घटना विश्लेषण गर्दा प्रमुख कारण तिव्र गति, चालकको लापवारही रहेको पाइएको थियो । आ.व. ०७५र०७६ मा तिव्र गतिका कारण ३९, चालकको लापरवाहीका कारण ३९ वटा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । गत आ.व.मा ओभरटेकका कारण ७, मापसेका कारण ५, यान्त्रिक कारणले २, सडकको कारणले ३ र चौपायाको कारणले ३ वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँकेमा गत आ.व.मा भएका दुर्घटनामा ६० जनाले ज्यान गुमाएका छन् । गत आ.व.मा दुर्घटनामा ७५ जना गम्भीर घाइते भए । जसमा ४२ पुरुष, १४ महिला र ४ बालक रहेका छन् । उक्त अवधीमा ४५ पुरुष, २३ महिला, ७ बालक र १ बालिका गम्भीर घाइते भएको तथ्यांक प्रहरीमा छ । ८६ जना साधारण घाइते भएका थिए । साधारण घाइते हुनेमा ५४ पुरुष, २९ महिला र ३ बालिका रहेका छन् ।