आज शनिबार बिदाको दिन । त्यसैले होला, नेपालगन्जमा आयोजित दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा लोकप्रिय राष्ट्रिय कलाकारहरुलाई प्रस्तुतिका निम्ति आयोजकले निम्त्याएका छन् ।
सडक विभाग परिसरमा आयोजित मेलामा व्यवसायिक २ सय ५० वटा स्टल रहेका छन् । जहाँ सुपथ मूल्यमा वस्तुहरु बिक्री भैरहेको महोत्सव आयोजक समितिका सहसंयोजक मिना सुवेदी ढकालले जानकारी दिइन् । ‘वस्तुहरु सुपथ मूल्यमा खरिद देखि मनोरञ्जनको भरपुर व्यवस्था महोत्सवमा छ’, उनले भनिन् ।
महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने गरेको छ । ‘शनिबार बद्री पंगेनी, शंकर बिसी, अञ्जली अधिकारी, विजय पुन र रुप घर्तीमगरको प्रस्तुति राखिएको छ’, महोत्सव सहसंयोजक ढकालले भनिन्, ‘त्यसबाहेक स्थानीय कलाकारहरुको प्रस्तुतिका साथै नृत्य प्रतियोगिता पनि भैरहेको छ ।’
महोत्सवमा बालबालिका तथा वयस्कका लागि रमाउन पिङ्गको व्यवस्था छ । विभिन्न उत्पादकका उत्पादित वस्तुहरु महोत्सवमा छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा भैरहेको महोत्सवमा विभिन्न वस्तुहरुको २ सय ५० बढी स्टल राखिएका छन् । महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलले सहकार्य गरेको छ । महोत्सव सम्पन्न गर्नको लागि ८० लाख खर्च हुने र करिव १ करोड आम्दानी गर्ने लक्ष्य रहेको छ । महोत्सवमा अवलोकनकर्ताको उपस्थिति सन्तोषजनक रहेको आयोजकले जानकारी दिएका छन् ।
महोत्सवका लागि मौसम केहीदिन प्रतिकुल भएपनि अवलोकनकर्ताहरु पुगिरहेको सहसंयोजक ढकालले बताएकी छन् । ‘हजारौं अवलोकनकर्ता दैनिक महोत्सवमा आइरहनु भएको छ’, उनले भनिन्, ‘महोत्सव मार्फत हामीले भ्रमण वर्ष २०२० को प्रवद्र्धन समेत गरिरहेका छौं ।’